दुई विदेशी खेलाडीको गोलमा धनगढीको विजयी शुरूआत

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा धनगढीले नवप्रवेशी वीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

काठमाडौँ– दुई विदेशी खेलाडीको गोलमा साबिक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा विजयी शुरूआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा धनगढीले नवप्रवेशी वीरगन्ज युनाइटेड एफसीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

वीरगन्जका लागि फोडे फोफना र अहमद हिजाजीले गोल गरे। वीरगन्जका लागि हान्स कोफिइले पेनाल्टीमार्फत गरेको गोल सान्त्वना रह्यो।

खेलको दोस्रो मिनेटमै धनगढीले अग्रता लिएको थियो। अफिज ओलावलेको लेफ्ट फुट पासमा फोडे फोफनाले बललाई जाली चुमाए। १३औँ मिनेटमा वीरगन्जले खेलमा फर्किने मौका खेल फ्याँक्यो। डी एरियाभित्रबाट हान्स कोफिइले दिएको पासलाई बिसोन गुरुङले गरेको प्रहार माथिल्लो बारबाट बाहिरियो।

३१औँ मिनेटमा ओलावलेले धनगढीको अग्रता दोब्बर बनाउने मौका गुमाए। डिफेन्सबाट आएको बललाई उनले टच गरेका थिए। तर, गोलरक्षक दीपले डी एरिया बाहिरबाट बचाए।

पहिलो हाफको इन्ज्युरी समयमा वीरगन्ज खेलमा फर्कियो। विलियम ओपोकुको कर्नर बललाई धनगढीका कप्तान देवेन्द्र तामाङले हेडर गर्दै क्लियर गर्ने प्रयास गरेका थिए। तर, उक्त बललाई डिफेन्डर डिएग्ने फालउको हातमा लाग्न पुग्यो। त्यसपछि रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी दिएका थिए। उक्त बललाई हान्सले गोलमा परिणत गरे।

६२औँ मिनेटमा धनगढीले ३ खेलाडी परिवर्तन गर्‍यो। डिएग्नेको स्थानमा अहमद हिजाजी मैदान प्रवेश गरे। यस्तै, मनोज राईको स्थानमा रोहन कार्की र अविषेक गुरुङको स्थानमा रामचन्द्र वाजी मैदान प्रवेश गरे। ७४औँ मिनेटमा वीरगन्जका डिफेन्डर शामला मुस्ताभोले सेन्टरबाट गरेको प्रहार टाहाले मुस्किलले बचाए।

८३औँ मिनेटमा वीरगन्जका मिडफिल्डर तेज तामाङले डी एरियाबाट गरेको प्रहारलाई टाहाले पुनः मुस्किलले बचाए। उनले देब्रेन्दको नजिकबाट शक्तिशाली प्रहार गरेका थिए। ८६औँ मिनेटमा ओलावलेको स्थानमा रन्दीप पौडेल मैदान प्रवेश गरे। यता, वीरगन्जका बिसोनको स्थानमा कृपाक्रान्त महत्तो थारू मैदान प्रवेश गरे।

८९औँ मिनेटमा धनगढीले अग्रता लियो। कृतिशरत्न छुन्जुले दिएको पासलाई डी एरियानजिक अनमार्कमा रहेका हिजाजीले गोलरक्षक दीप कार्कीलाई बिट गर्दै गोलमा परिणत गरे। त्यसपछि कुनै टोलीले मूभ बनाउन सकेनन्। जितसँगै धनगढीले ३ अंक जोडेको छ। सोमबार झापा एफसीले इलामसँग खेल्ने छ। खेल बेलुका ५:३० बजे हुनेछ।