अस्ट्रेलियाविरुद्धको दोस्रो टी–२० मा पनि भारत विजयी

तीन ब्याटरको अर्धशतकको मद्दतले भारतले चार विकेटको क्षतिमा २३५ रन बनाएको थियो।

घरेलु टोली भारतले टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि अस्ट्रेलियालाई पराजित गरेको छ। तिरुवनन्तपुरममा आइतबार भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो।

तीन ब्याटरको अर्धशतकको मद्दतले भारतले चार विकेटको क्षतिमा २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाली टोलीका ओपनरले राम्रो शुरूआत गरे पनि पूरा टिम १९१ रनमा अलआउट भयो।

अस्ट्रेलियाका कुनै पनि ब्याटरले ५० रन जोड्न सकेनन्। भारतका लागि प्रसाद कृष्ण र रवि बिश्नोईले ३/३ विकेट लिए। 

खेल शुरू हुनुअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। भारतका लागि यशस्वी जैसवालले ५३ रन, इशान किशनले ५२ र ऋतुराज गायकवाडले ५८ रनको योगदान दिए। यस्तै रिंकु सिंहले ३१ र सूर्यकुमार यादवले १९ रन जोडे। अस्ट्रेलियाका नाथन एलिसले ३ र मार्कस स्टोइनिसले १ विकेट लिए।

भारतले अन्तिम दुई ओभरमा ४५ रन बनाएको थियो भने अन्तिम सात ओभरमा १११ रन बनाएको थियो। यो टी–२० खेलमा भारतको पाँचौं उच्च स्कोर हो। नोभेम्बर २४ मा भएको पहिलो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई दुई विकेटले पराजित गरेको थियो।