नेपाल सुपर लिग : अमथको गोलमा इलामको पहिलो जित

नेपाल सुपर लिगअन्तर्गत दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा इलामले झापा एफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ।

झापाका छिरिङ लामासँग बल खोस्दै भरत खवास, सँगै अमथ।

काठमाडौँ– सेनेगली मिडफिल्डर अमथ एन्डाउको गोलमा स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीले दोस्रो संस्करण नेपाल सुपर लिग (एनएसएल)मा जित हात पारेको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नवप्रवेशी इलामले अर्को नवप्रवेशी झापा एफसीलाई १–० गोल अन्तरले पराजित गरेको हो। इलामका लागि अमथ एन्डाउले गरेको गोल निर्णायक बन्यो। इलामको यो पहिलो जित हो।

इलाम पहिलो खेलमा साबिक विजेता काठमाडौँ रेजर्ससँग १–० गोल अन्तरले पराजित भएको थियो। झापाको भने यो पहिलो खेल हो।

दोस्रो हाफको शुरूमा झापाले अग्रता लिएको थियो। अञ्जन विष्टले गोल गरेका थिए। तर, रेफ्री उमेश बिडारीले अफसाइड दिँदै गोलको मान्यता दिएनन्।

खेलको ७८औँ मिनेटमा इलामले अग्रता लिने मौका खेर फाल्यो। आशिष गुरुङले दिएको बललाई अब्दुलगे बाले डी एरियाबाट गरेको प्रहार झापाका गोलरक्षक स्टेफन कुपिकले ड्राइभ गरेर रोके। 

रिबाउन्डमा आएको बललाई फोडे कामराले प्रहार गरेका थिए। उक्त बल पनि स्टेफनले बचाए। रिबाउन्डमा आएको बललाई फोडेले दिपेश घलेलाई दिएका थिए। उनले प्रहार गरेको बल स्टेफनले पञ्च गर्दै बाहिर पठाइदिए।

७०औँ मिनेटमा झापाले गोलको अवसर गुमायो। सामनडार ओचिलोभले दिएको बललाई जर्ज सान्चेजले प्रहार गरेका थिए। तर, उक्त बललाई नियन्त्रणमा लिन इलामका गोलरक्षक विकेश कुथुले सजिलै बचाए।

८२औँ मिनेटमा इलामले पेनाल्टी पायो। योगेश गुरुङले इलामका फरवार्ड भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिए। तर, अमथ एन्डाउले गरेको प्रहार माथिल्लो बारबाट बाहिरियो। ८७औँ मिनेटमा इलामले अग्रता लियो। फोडेले डी एरियाबाट भरतलाई बल दिएका थिए। उक्त बल अमथले जाली चुमाए। उनले प्रहार गरेको प्रहार स्टेफनले रोक्न सकेनन्।

थप गरिएको पाँचौँ मिनेटमा झापाले बराबरी गर्ने अवसर गुमायो। लक्ष्मण रूचालले दिएको एअर बललाई प्रदीप लामाले डी एरियाबाट हेडिङ गरेका थिए। तर, विकेशले पञ्च गरेर बचाए।