भारतमाथि अस्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको कीर्तिमानी शतक

जितका लागि पाएको २२३ रनको लक्ष्य अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। 

काठमाडौँ– तेस्रो टी२० आई सिरिजमा अस्ट्रेलियाले भारतमाथि ५ विकेटको रोमाञ्चक जित हात पारेको छ। ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अस्ट्रेलियाले अन्तिम बलमा लक्ष्य पूरा गरेको हो। 

गुवाहाटीमा जितका लागि पाएको २२३ रनको लक्ष्य अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। अस्ट्रेलिया मध्यक्रमका ब्याटर ग्लेन म्याक्सवेल १०४ रनमा अविजित रहे। उनले ४८ बलमा ८ चौका र ८ छक्का प्रहार गरे। यो म्याक्सवेलको टी२० आई करिअरको चौथो शतक हो। यससँगै उनले टी२० आईमा भारतका रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन्। 

अन्तिम १२ बलमा अस्ट्रेलियालाई जितका लागि ४३ रन आवश्यक थियो। १९औँ ओभरमा अक्षर पटेलले २२ रन खर्चिए। अन्तिम ६ बलमा २१ रन चाहिएको थियो। पहिलो बलमा म्याथ्यु वेडले चौका हिर्काएर दोस्रो बलमा एक रन दिए। तेस्रो बल म्याक्सवेलले छक्का हाने। त्यसपछि लगातार तीन चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। 

भारतका रवि विश्रोईले २ विकेट लिए। आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहका नाममा समान १–१ विकेट रह्यो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२२ रन बनाएको थियो। भारतका ऋतुराज गायकवाड १२३ रनमा अविजित रहे। उनले ५७ बलमा १३ चौका र ७ छक्का प्रहार गरे। 

यससँगै अस्ट्रेलिया सिरिजमा २–१ ले पछि छ। भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो।