रियल मड्रिडसँग नापोली पराजित, लेन्सको पोस्टमा आर्सनलको ६ गोल

बुधबार राति रियलको घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा भएको खेलमा नापोली ४–२ ले पराजित भएको छ।

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई पराजित गरेको छ। 

बुधबार राति रियलको घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा भएको खेलमा नापोली ४–२ ले पराजित भएको छ।

खेलमा अग्रता भने नवौँ मिनेटमा साइमनको गोलबाट नापोलीले लिएको थियो। 

त्यसको दुई मिनेटमा नै रियलका रोड्रिगोले गोल गर्दै खेल बराबरीमा ल्याए। २२औँ मिनेटमा जुड बेलिंघमको गोलबाट रियलले अग्रता लियो। ४७औँ मिनेटमा नापोलीका अन्गुइसाले गोल गर्दा खेल बराबरी भयो।

८४औँ मिनेटमा निकोले गोल गर्दै रियललाई अगाडि बढाए। जोसेलुले इन्जुरी समयमा गोल गरेपछि रियल ४–२ ले विजयी भयो। यससँगै शतप्रतिशत जितसहित रियल समूह ‘सी’को शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको नापोलीको सात अंक छ।

 

उता, बुधबार राति नै भएको अर्को खेलमा आर्सनलले लेन्सलाई ६–० ले हराएको छ। घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलले सहज जित दर्ता गरेको हो। 

आर्सनलको जितमा हाभार्टज्, गाब्रियल जिसस, बुकायो साका, गाब्रियल मार्ट‍िनेली, मार्टन ओडेगार्ड र जोर्गिन्होले गोल गरे। जितसँगै आर्सनल समूह ‘बी’को विजेताका रूपमा च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। पाँच अंक रहेको लेन्स तेस्रो स्थानमा छ।