पेरिस सम्झौता कार्यान्वयनमा ढिला गर्नु हुँदैन: प्रधानमन्त्री

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताए। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयनमा ढिला गर्न नहुने बताएका छन्।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) का अवसरमा शनिबार आयोजित उच्चस्तरीय कार्यक्रममा उनले हिमालमा संकट आइसकेको उल्लेख गरे। 

“पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो,” उनले भने, “यसले पनि हिमालमा ठूलो असर परिरहेको छ। संकट आइसकेको छ।”

यस सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानि नोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए। 

“यो हाम्रो न्यायको विषय हो र अधिकारको विषय पनि हो। सबै मिलेर मात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिन्छ,” उनले भने। 

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताए। जिम्मेवार मुलुक र निकायले छिटोभन्दा छिटो उसको सम्बोधन गर्न लाग्नुपर्ने उनको जोड थियो। उनले भने, “म आफैँले हिमालमा जलवायु परिवर्तनमा असर हेरेर आएको छु। अब यसमा ढिला भइसक्यो। सम्बोधन गर्न सबै लाग्नुपर्छ।”

प्रधानमन्त्री दाहालले आयोजना गरेको कार्यक्रममा महासचिव गुटेरेस, एन्डोराका प्रधानमन्त्री, किर्गिस्तानका मन्त्री, भुटानका प्रतिनिधिमण्डलका प्रमुख, विभिन्न निकायका उच्च अधिकारी, वैज्ञानिकलगायतले पेरिस सम्झौता कार्यान्वयनमा जोड दिएका थिए। 

मंसिर १४ गते शुरू भएको कोप–२८ सम्मेलन मंसिर २६ गतेसम्म चल्नेछ।