आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालमा चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति रहेको तर उपकरण अभावका कारण सेवा सञ्चालनमा समस्या भइरहेको जानकारी दिए।
तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ। आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति भएको तर उपकरण अभावका कारण सेवा सञ्चालनमा समस्या भइरहेको जानकारी दिए।
“अस्पतालसँग तत्काल शल्यक्रिया सेवा सञ्चालन गर्न जनशक्ति तयारी अवस्थामा छन्,” उनले भने, “उपकरण अभावले सेवा सञ्चालन गर्न सकिरहेका छैनौँ।”
चुमानका अनुसार अस्पतालमा एपेन्डिक्स, हाइड्रोसिल, हर्निया र प्रसूतिको शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। चार वटा शल्यक्रिया सेवा सञ्चालनका लागि एक करोड बराबरको उपकरण आवश्यक पर्ने उनको भनाइ थियो।
“शल्यक्रिया थिएटर र आवश्यक उपकरण व्यवस्थापन हुन सकिरहेको छैन । यसका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ,” चुमानले भने।
गाउँपालिकाले विसं २०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको थियो। एक वर्ष पुगेको अवसरमा अस्पतालको गत यही मंसिर १ गते उद्घाटन गरिएको थियो।
“गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन। भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो,” चुमानले भने, “वडा कार्यालय तथा गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएका हौँ। पहिलाको स्वास्थ्य चौकीलाई ओपीडी बनाएर सञ्चालन गरेका छौँ। इलाका वनको भवनलाई ल्याब बनाएका छौँ। त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौँ।” अस्पतालमा निकट भविष्यमा डायलिसिस सेवासमेत शुरू गर्ने तयारी रहेको उनले जानकारी दिए।
डायलिसिस सेवाका लागि तीन वटा उपकरण आइसकेको अध्यक्ष चुमानले जानकारी दिए। “पाँच वटा उपकरण भए मात्रै एउटा युनिट मान्ने र सरकारले व्यवस्थापन गर्ने निःशुल्क उपचार शुरू गर्न सकिने रहेछ। तीन वटा डायलिसिस उपकरण व्यवस्थापन भएको छ। बाँकी व्यवस्थापन गर्दै छौँ”, उनले भने।
अस्पताल सञ्चालनका लागि गाउँपालिका अप्ठ्यारो घडीमा रहेको बताउँदै अस्पताललाई दिगो बनाउने सपना रहेको चुमानको भनाइ छ।
गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको भन्दै चुमानले अस्पतालबाट दिइने सेवालाई दिगो र गुणस्तरीय बनाउने लक्ष्य रहेको बताए। उनका अनुसार आँबुखैरेनी–१ स्थित सार्वजनिक र मित्रता माध्यमिक विद्यालयको समेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने छ।
“तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० कीमी दूरीमा एउटा पनि सरकारी अस्पताल छैनन्। कुनै दुर्घटना भयो भने ज्यान बचाउन चितवन वा काठमाडौँ दौडिनुपर्छ। छिमेकी पालिकासँग अनुरोध गरेका छौँ, एउटा ट्रमा सेन्टर बनाऔँ। राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सके धेरै जनाको ज्यान बचाउन सकिन्छ,” चुमानले भने।
अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, शहीद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ। अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ। अस्पतालमा एक एमडिजीपी, तीन मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन्।
अस्पतालमा एक्स-रे सेवासमेत सञ्चालनको तयारी गरिएको छ। जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौँडाबाट पाँच सय एमए एक्स-रे मेसिन मर्मत गरी जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डीबी क्षेत्रीले जानकारी दिए।
अस्पतालमा एक्स-रे मेसिन नहुँदा यस क्षेत्रका नागरिक सेवा लिनका लागि चितवनको भरतपुर वा अन्यत्रै जानुपर्ने बाध्यता थियो। अस्पतालमै सेवा शुरू हुने भएपछि आँबुखैरेनीका अतिरिक्त छिमेकी जिल्ला गोरखाका केही पालिकाका सर्वसाधारणले सहज रूपमा सेवा पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
