यू१९ एशिया कप: नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

नेपालले एसीसी यू१९ एशिया कपमा पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। उत्तम रंगु थापामगर र दीपेश कँडेलले अर्धशतकीय साझेदारी गरेका छन्।

काठमाडौँ– उत्तम रंगु थापामगर र दीपेश कँडेलले अर्धशतकीय साझेदारी गरेसँगै नेपालले एसीसी यू१९ एशिया कपमा पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको हो।

नेपालका लागि मध्यक्रमका उत्तमले सर्वाधिक ५१ रन बनाए। उनले ७७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। उत्तमले दीपेश कँडेलसँग छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।

दीपेश ३४औँ ओभरको चौथो बलमा ५९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएर आउट भए। ओपनर अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रन प्रहार गरेर आउट भए।

नेपालको फितलो शुरूआत
नेपालले पहिलो पावर प्लेमै दुई विकेट गुमाएको थियो। ओपनर तिलकराज भण्डारी ७ रन बनाएर क्याच आउट भए। उनले ९ बलमा १ चौका प्रहार गरे।

तेस्रो नम्बरमा आएका आकाश त्रिपाठी पनि क्रिजमा टिक्न सकेनन्। उनले २२ बलमा १ चौकासहित ६ रन बनाए।

राष्ट्रिय टोलीबाट समेत खेलिसकेका कप्तान देव खनाल १३ बल खेल्दै आउट हुँदा गुशलनकुमार झाले १ रन मात्रै बनाउन सके।

झा आउट हुँदा नेपाल १७औँ ओभरमा ५–४६ को स्थितिमा थियो। यस्तो अवस्थामा उत्तम र दीपेशले अर्धशतकीय साझेदारी गर्दै स्कोर ३३.४ ओभरमा ६–११४ को स्थितिमा पुर्‍याए।

दीपेश आउट भएपछि क्रिजमा आएका विशालविक्रम केसी १, विपिन रावल शून्य र आकाश चन्द ५ रनमा आउट हुँदा सुवास भण्डारी ८ रनमा अविजित रहे।

पाकिस्तानका मोहम्मद जिशनले सर्वाधिक ६ विकेट लिए। उनले ९.१ ओभरमा १ मेडनसहित १९ रन खर्चिए।

अमिर हसनले २ विकेट लिँदा उबिद शाह र अलि असफन्दको नाममा १/१ विकेट रह्यो।