यू१९ एशिया कप : पाकिस्तानसँग नेपाल पराजित

एसीसी यू१९ एशिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। अब नेपालले दोस्रो खेल अफगानिस्तानसँग आइतबार खेल्ने छ।

काठमाडौँ– नेपाल एसीसी यू१९ एशिया कपको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। शुक्रबार सम्पन्न खेलमा नेपाल ७ विकेटले पराजित भएको हो।

नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। पाकिस्तानका अजान अवैसले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए।

उनले ६२ बलमा ८ चौका प्रहार गरे। यता, कप्तान साद बेग ५६ बलमा ५ चौकासहित ५० रन बनाएर आउट भए।

मोहम्मद जिशन ८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे। ओपनर शमिल हुसेनले खाता खोल्न सकेनन्।

नेपालका गुलशनकुमार झाले सर्वाधिक २ विकेट लिए। उनले ९ ओभरमा १ मेडनसहित ५४ रन खर्चिए। आकाश त्रिपाठीको नाममा १ विकेट रह्यो। उनले १.२ ओभरमा ८ रन खर्चिए।

त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनायो।

नेपालका लागि मध्यक्रमका उत्तम रंगु थापामगरले सर्वाधिक ५१ रन बनाए। उनले ७७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। उत्तमले दीपेश कँडेलसँग छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।

दीपेश ३४औँ ओभरको चौथो बलमा ५९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएर आउट भए।

ओपनर अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रन प्रहार गरेर आउट भए। नेपालले पहिलो पावर प्लेमै दुई विकेट गुमाएको थियो। ओपनर तिलकराज भण्डारी ७ रन बनाएर क्याच आउट भए। उनले ९ बलमा १ चौका प्रहार गरे।

तेस्रो नम्बरमा आएका आकाश त्रिपाठी पनि क्रिजमा टिक्न सकेनन्। उनले २२ बलमा १ चौकासहित ६ रन बनाए।

राष्ट्रिय टोलीबाट समेत खेलिसकेका कप्तान देव खनाल १३ बल खेल्दै आउट हुँदा गुशलनकुमार झाले १ रन मात्रै बनाउन सके।

झा आउट हुँदा नेपाल १७औँ ओभरमा ५–४६ को स्थितिमा थियो। यस्तो अवस्थामा उत्तम र दीपेशले अर्धशतकीय साझेदारी गर्दै स्कोर ३३.४ ओभरमा ६-११४ को स्थितिमा पुर्‍याए।

दीपेश आउट भएपछि क्रिजमा आएका विशालविक्रम केसी १, विपिन रावल शून्य र आकाश चन्द ५ रनमा आउट हुँदा सुवास भण्डारी ८ रनमा अविजित रहे।

पाकिस्तानका मोहम्मद जिशनले सर्वाधिक ६ विकेट लिए। उनले ९.१ ओभरमा १ मेडनसहित १९ रन खर्चिए।

अमिर हसनले २ विकेट लिँदा उबिद शाह र अलि असफन्दको नाममा १/१ विकेट रह्यो।

जितसहित पाकिस्तानले २ अंक जोडेको छ। 

अब नेपालले दोस्रो खेल अफगानिस्तानसँग आइतबार खेल्ने छ।