नेपाल सुपर लिग : वीरगन्जलाई दोस्रो अंक

बराबरीसँगै वीरगन्ज ४ खेलबाट २ अंकसहित नवौँ स्थानमा यथावत् छ। समान खेलबाट ३ अंक जोडेको झापा अंक तालिकामा सातौँ स्थानमा छ।

काठमा‍डौँ– वीरगन्ज युनाइटेड एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा दोस्रो अंक जोडेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न चौथो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेल्दै वीरगन्जले जारी प्रतियोगितामा दोस्रो अंक जोडेको हो।

वीरगन्जको यो दोस्रो बराबरी हो। वीरगन्ज पहिलो खेलमा साबिक विजेता धनगढी एफसीसँग २–१ गोलले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा एफसी चितवनसँग वीरगन्ज २–१ गोलले नै पराजित भएको थियो।

तेस्रो खेलमा भने ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेल्दै पहिलो अंक जोडेको थियो। बराबरीसँगै वीरगन्ज ४ खेलबाट २ अंकसहित नवौँ स्थानमा यथावत् छ। यता, झापाको भने समान खेलबाट ३ अंक रहेको छ। झापा अंक तालिकामा सातौँ स्थानमा रहेको छ।

खेलको ११औँ मिनेटमा झापाका लक्ष्मण रुचालको कर्नरमा समान्डर ओचिलोचले करिब १० यार्डबाट प्रहार गरेको बललाई वीरगन्जका गोलरक्षक तथा कप्तान दीप कार्कीले मुस्किलले बचाए। त्यसको एक मिनेटपछि पुन: ओचिलोचले गरेको शक्तिशाली प्रहार बायाँ क्रसबारमा लाग्दै दीपको खुट्टामा लाग्न पुग्यो।

२५औँ मिनेटमा डीबक्सभन्दा केही बाहिरबाट झापाका जर्ज सान्चेजले गरेको प्रहारलाई दीपले असफल बनाए। ३९औँ मिनेटमा वीरगन्जले पहिलो आक्रमण बुन्यो। उसका मिडफिल्डर तेज तामाङले दिएको बललाई सुवास गुरुङले हेडमार्फत गोल गर्ने प्रयास गरेका थिए। तर, उनी चुक्न पुगे।

४२औँ मिनेटमा झापाका सान्चेजले गरेको शक्तिशाली प्रहारलाई दीपले उत्कृष्ट बचाउ गरे। सोसँगै पहिलो हाफ गोलरहित बराबरी सकियो।

४७औँ मिनेटमा वीरगन्जका कृपाकान्त थारुले गरेको प्रहार दोस्रो बारमा लागेर फर्कियो। रिबाउन्डमा आएको बललाई ओबेद ओसुउले गरेको प्रहार झापाका गोलरक्षक सुपिचले उत्कृष्ट बचाउ गरे। त्यसको तीन मिनेटपछि अनमार्कमा रहेका झापा आवास लामिछानेले डीएरियाभित्रबाट गोल गर्ने चुके।

७२औँ मिनेटमा झापा १० खेलाडीमा समेटियो। झापाका अन्तिम डिफेन्स योगेश गुरुङले वीरगन्जका ओपोकुलाई पछाडिबाट तान्दै लडाए। लगत्तै रेफ्री राम दशनले योगेशलाई रोतो कार्ड दिए। त्यसको दुई मिनेटपछि वीरगन्जका दीपेन्क ठकुरीले करिब ३० यार्डबाट प्रहार गरेको बललाई गोलरक्षक सुपिचले उत्कृष्ट पन्च गर्दै बचाए।

८९औँ मिनेटमा तेजले प्रहार गरेको फ्रिकिक माथिल्लो बारमा लागेर बाहिरिँदा वीरगन्ज पहिलो जितबाट वञ्चित रह्यो। दोस्रो हाफको इन्जुरी समयमा झापाका उज्ज्वल राईले लेफ्ट साइडबाट गरेको प्रहार दोस्रो बारको कर्नमा लागेर फर्किँदा खेल गोलरहित बराबरीमा सकियो।