अग्रता जोगाउन नसक्दा धनगढीसँग बराबरीमा रोकियो इलाम

बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ। पाँच खेलबाट एक जित र एक बराबरी खेलेको इलाम चार अंकसहित छैटौँ स्थानमा छ।

काठमाडौँ– स्पोर्टिङ इलाम एफसीले दुई गोलको अग्रता जोगाउन नसक्दा नेपाल सुपर लिग(एनएसएल)मा दोस्रो जित निकाल्ने अवसर गुमाएको छ। दशरथ रंगशालामा स्पोर्टिङ शनिबार इलामले आफ्नो पाँचौँ खेलमा शनिबार दुई गोलको अग्रता जोगाउन नसक्दा धनगढी एफसीसँग २–२ को बराबरी नतिजा सामना गरेको हो।

अन्तिम २१ मिनेटमा दुई गोल फर्काउँदै धनगढीले हारको संकट टार्‍यो। यो बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ। समान खेलमा पोखरा थन्डर्सको पनि समान आठ अंक भए पनि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुग्यो। यता, स्पोर्टिङ इलाम भने पाँच खेलबाट एक जित र एक बराबरीसहित चार अंकसहित छैटौँ स्थानमा छ।

त्यसअघि धनगढीका रन्दीप पौडेलले १९औँ मिनेटमा २० यार्ड टाढाबाट गरेको प्रहार अकासियो। २३औँ मिनेटमा रोहन कार्कीले पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहार समित श्रेष्ठ उत्कृष्ट बचाउ गरे। 

इलामका लागि २९औँ मिनेटमा इब्राहिम जितेको उत्कृष्ट फ्रिकिक धनगढीका मोहमद ताहाले पन्च गर्दै बाहिर पठाइदिए। इलामका अमाथ एन्डअले ३७औँ मिनेटमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। ४४औँ मिनेटमा स्पोर्टिङ इलामले गोल गर्दै अग्रता लियो। अमाथ एन्डअले दिएको पासमा फोडे क्यामराले खाली पोस्टमा गोल गरे।

पहिलो हाफको थप गरिएको समयमा इलामले अर्को गोल फर्कायो। नवीन लामाको कर्नर बललाई धनगढीका गोलकिपर ताहाले फुत्काएपछि ओमार मुस्ताफा थियमले वान टच गोल गरे। त्यससँगै पहिलो हाफमा स्पोर्टिङ इलामले २–० को अग्रता लियो। भरत खवासले ४९औँ मिनेटमा गरेको सट धनगढीका डिफेन्डरका खुट्टामा ठोकिए पनि गोलकिपर ताहाले सहजै रोके। इलामका ओमारले ५५औँ मिनेटमा धनगढीका गोलकिपर ताहा लडेको अवस्थामा गोल गर्न चुके।

फोडे क्यामराको पासमा १० यार्ड टाढाबाट उनी गोल गर्न असफल रहे। चार मिनेटपछि कमल श्रेष्ठको फ्रिकिक माथिल्लो बारबाट आकासिँदै बाहिरिन पुग्यो। फोडे फोफनाले ६५औँ मिनेटमा गोल गर्ने अवसर गुमाए। नजिकैबाट उनको हेडर पोस्टको दिशा लिन सकेन। 

धनगढीले ६९औं मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो। इलामका डिफेन्डर जितेले फोडे फोफानलाई लडाएपछि धनगढीले पेनाल्टी पायो। सो अवसरमा धनगढीका रिचर्ड अग्येमेङले गोल गर्दै २–१ को अवस्थामा ल्याए। एक मिनेटपछि नै धनगढीका रोहनले बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेनन्।

अहमद हिजाजीको पासमा उनी नजिकैबाट गोल गर्न चुके। उनको फितलो सट इलामका गोलकिपर समित श्रेष्ठले सहजै रोके। ७४औं मिनेटमा नवीन लामाले इलामको अग्रता बढाउने अवसर पाए। तर, उनको सट धनगढीका गोलकिपर ताहाले सफल हुन दिएनन्। 

८२औँ मिनेटमा इलामले फ्रिकिक अवसर पायो। एक मिनेटपछि नै ओलावाले आफिजको हेडरमार्फत धनगढी २–२ को बराबरीमा फर्कियो। फोफानाले राइट कर्नरबाट दिएको बललाई आफिजले उत्कृष्ट हेडर गर्दै गोल गरे। 

इन्जुरी समयमा आफिजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार इलामका गोलकिपर समित श्रेष्ठले रोक्दै संकट टारे। अन्तिम समयमा अभिसेक गुरुङले दिएको पासमा रामचन्द्र वाजीको सट माथिल्लो बारमा लागेर फर्किंदा धनगढीले जित निकाल्ने अवसर गुमायो।