एस्टन भिल्लासँग आर्सनल पराजित, लिभरपुल शीर्षस्थानमा उक्लियो

क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। एस्टन भिल्लासँग पराजित भएको आर्सनल दोस्रो स्थानमा झरेको छ।

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ। 

शनिबार राति भिल्ला पार्क बर्मिङहममा भएको खेलमा घरेलु टोली एस्टन भिल्लासँग आर्सनल १–० ले स्तब्ध बनेको हो। एस्टन भिल्लाको जितमा जोन म्याक्जिनले गरेको गोल नै निर्णायक बन्यो। 

उनले खेल शुरू भएको सातौँ मिनेटममा गोल गरेका थिए। यस हारसँगै आर्सनल तालिकाको दोस्रो स्थानमा झरेको छ। आर्सनलको १६ खेलबाट ३५ अंक छ। समान खेलबाट ३५ अंक जोडेको एस्टन भिल्ला तेस्रो स्थानमा छ। 

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल शीर्षस्थानमा उक्लिएको छ। लिभरपुलले क्रिस्टल प्यालेसविरुद्ध २–१ को पुनरागमन जित हासिल गरेको हो। 

प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्क स्टेडियममा खेलको ५७औँ मिनेटमा मटेटाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 

७६औँ मिनेटमा लिभरपुलमा मोहम्मद सालाहले गोल गर्दै खेल बराबरी गरे। इन्जुरी समयमा हार्भी एलियटले गोल गर्दै टोलीलाई जित दिलाए। 

जितपछि लिभरपुल १६ खेलमा ३७ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। क्रिस्टल प्यालेस समान खेलमा १६ अंक सहित १५औँ स्थानमा छ।