नेपाल सुपर लिग : चितवनलाई पराजित गर्दै ललितपुर शीर्ष स्थानमा

जारी प्रतियोगितामा अपराजित रहेको ललितपुरको यो दोस्रो जित हो। तीन खेलपछि जित हात पारेको ललितपुरको ९ अंक छ।

काठमाडौँ– एफसी चितवनलाई पराजित गर्दै ललितपुर सिटी एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा ललितपुरले चितवनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। जारी प्रतियोगितामा अपराजित रहेको ललितपुरको यो दोस्रो जित हो। 

ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि पोखरा थन्डर्स, धनगढी एफसी र वीरगन्ज युनाइटेड एफसीसँग बराबरी खेल्दै अंक बाँडेको थियो। तीन खेलपछि जित हात पारेको ललितपुरको ९ अंक छ।

ललितपुरको जितमा पापा र विवेक गोल
ललितपुरलाई दोस्रो जित दिलाउन पापा केबले दुई गोल गरे। यस्तै, विवेक पौडेलको नाममा एक गोल रह्यो। पराजित चितवनका लागि राफिक अमिनुको सान्त्वना गोल रह्यो।

खेलको १३औँ मिनेटमा ललितपुरले शुरूआती अग्रता लिने अवसर गुमायो। शनि श्रेष्ठले मैदानको मध्यभागबाट दिएको बललाई दिनेश हेम्जनले पेनाल्टी बक्सबाट गरेको प्रहारलाई चितवनका गोलक्षक तथा कप्तान विशाल श्रेष्ठले बचाए।

१७औँ मिनेटमा पापा केबे वान भर्सेस वानको स्थितिमा गोल गर्न चुने। निखिल कदमले चितवनका अन्तिम डिफेन्सलाई बिट गर्दै उपलब्ध गराएको बलमा उनले विशाललाई बिट गर्न सकेनन्।

लगातार आक्रमण बुनेको ललितपुरले १९औँ मिनेटमा अग्रता लियो। दिनेशको फ्लिक पासमार्फत् उपलब्ध गराएको बललाई पापा केबेले वान टचमा गोल गरे।

२९औँ मिनेटमा चितवनले पहिलो अवसर सिर्जना गर्‍यो। विमल घर्तीमगरले करिब १२ यार्डबाट गरेको प्रहार ललितपुरका गोलरक्षक जेफ्री विली मार्सलले सहजै बचाए। त्यसको दुई मिनेटमा ललितपुरका चार खेलाडीलाई बिट गर्दै चितवनका रफिक अमिनुले गरेको शक्तिशाली प्रहारमा मार्सल बाधक बने। योसँगै खेलको पहिलो हाफमा ललितपुरले १–० गोल अन्तरको अग्रता कायम राख्यो।

दोस्रो हाफमा तीन गोल
पहिलो हाफमा एक गोल भएपनि दोस्रो हाफमा भने थप तीन गोल भए। ५७औँ मिनेटमा विवेकले गोल गर्दै ललितपुरको अग्रता दोब्बर बनाए। चितवनका डिफेन्स एबमुबरिक बयूसिफले हेडमार्फत् क्लियर गरेको बल नियन्त्रणमा लिँदै विवेकले जाली चुमाए।

६४औँ मिनेटमा एफ्री एक्वाले करिब ३५ यार्डबाट गरेको फ्रिकिक माथिल्लो बारमा लागेर बाहिरिएपछि चितवन खेलमा फर्किने अवसर खेर फ्याँक्यो। ७१औँ मिनेटमा चितवनका नवयुग श्रेष्ठले करिब २० यार्डबाट गरेको प्रहार ललितपुरका गोलरक्षक जेफ्रीले बिफल पारे।

८९औँ मिनेटमा चितवनका लागि रफिकले गोल गर्दै खेल २–१ गोलमा ल्याए। त्यसको एक मिनेट बित्न नपाउँदै ललितपुरले पेनाल्टीको मौका पायो। डीबक्समा गोलरक्षक विशालले फउल गरेपछि रेफ्री राम दशानले पेनाल्टी दिए। जसमा पापा केबेले कुनै गल्ती गरेनन्।

पराजित भएसँगै चितवन ५ अंकसहित छैटौँ स्थानमा रहेको छ। यसअघि चितवन आफ्नो पहिलो खेलमा पोखरासँग १–० गोल अन्तरले पराजित भएको थियो।

दोस्रो खेलमा चितवन काठमाडौँ रेजर्ससँग १–१ गोलको बराबरी रोकिँदा तेस्रो खेलमा वीरगन्ज युनाइटेडलाई २–१ गोल अन्तरले हराउँदै पहिलो जित हासिल गरेको थियो। चोथौँ खेलमा बुटवल लुम्बिनीसँग १–१ गोलको बराबरी खेल्दै चितवनले १ अंकमा चित्त बुझाएको थियो।

काठमाडौँ रेजर्स र पोखरा थन्डर्सबीच सोमबार साँझ ५:३० बजे खेल हुने छ।