स्पेनिस ला लिगा: जिरोनासँग बार्सिलोना पराजित

जितपछि जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो।

स्पेनिस ला लिगा अन्तर्गत जिरोनाले बार्सिलोनामाथि जित हासिल गरेको छ। आइतबार राति सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

जिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक/एक गोल गरेका थिए। बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक/एक गोल गरेका थिए।

१२औँ मिनेटमा आर्टेमले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए। तर १९औँ मिनेटमा लेवानडोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो। ४०औँ मिनेटमा जिरोनाले फेरि अग्रता बनायो। उसका गुटरेजले गोल गरेका थिए। ८०औँ मिनेटमा भलेरी फेर्नानडेजले गोल गरेपछि जिरोना ३–१ ले अघि बढेको थियो।

दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा गुनडोगानले गोल गरेपछि बार्सिलोनाले अन्तर ३–२ मा ल्याएको थियो। अतिरिक्त ५औँ मिनेटमा स्टुआनीले गोल गरेपछि जिरोना ४–२ को बलियो जित निकाल्न सफल भयो।

जितपछि जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो। १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ।