पोखराले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

पोखराले अन्तिम समयमा दुई गोल बेहोरेपछि शीर्ष स्थानमा पुग्ने अवसर गुमायो। पोखराले पाँच खेलबाट समान दुई जित र बराबरीका साथै एक हार सामना गरेको छ।

काठमाडौँ– पोखरा थन्डर्सले सोमबार डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्ससँग अग्रता जोगाउन नसक्दा २–१ को पराजय बेहोर्दै जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

दशरथ रंगशालामा अन्तिम १० मिनेटमा काठमाडौँले दुई गोल फर्काउँदै पोखरा थन्डर्सको शीर्ष स्थानमा पुग्ने लक्ष्यलाई पूरा हुन दिएन। यो जितसँगै काठमाडौँ पाँच खेलबाट आठ अंक बटुल्दै चौथो स्थानमा उक्लिएको छ। काठमाडौँले दुई जित र दुई बराबरीका साथै एक हार सामना गरेको छ। 

जिततर्फ उन्मुख पोखराले अन्तिम समयमा दुई गोल बेहोरेपछि शीर्ष स्थानमा पुग्ने अवसर गुमायो। पोखराले पाँच खेलबाट समान दुई जित र बराबरीका साथै एक हार सामना गरेको छ। पोखराको समान आठ अंक भए पनि गोल अन्तरमा काठमाडौँसँग पछि पर्दै चौथो स्थानमा खुम्चियो।

खेलको पहिलो गोल अवसर १४औँ मिनेटमा सिर्जना भयो। पोखराका मोसेस ग्याबा तुमको सट काठमाडौँका कप्तान तथा डिफेन्डर अञ्जनको राईको खुट्टा डिफ्लेक्ट भएर दोस्रो बार नजिकैबाट बाहिरिन पुग्यो। चार मिनेटपछि नै मोसेसको लामो प्रहार सफल हुन सकेन।

काठमाडौँले पहिलो अवसर सिर्जना गर्न २९औँ मिनेटसम्म कुर्नु पर्‍यो। सोखरुखले करिब २५ यार्डबाट गरेको फ्रिकिक पोखराका गोलकिपर एभेस प्रिसोले उत्कृष्ट बचाउ गरे। पोखराका मोसेसले ३४औँ मिनेटमा गोलकिपर एन्जल श्रेष्ठलाई पार गराएको बल काठमाडौँका डिफेन्डर आन्द्रेस नियाले क्लियर गरिदिए।

लगत्तै कर्नर प्रहारमा मोसेसले हेड गोल गरे पनि राजीव लोप्चनले गोल लाइनबाट क्लियर गरे। ३७औँ मिनेटमा मोसेसको अर्को हेडर पनि माथिल्लो बारमा लागेर बाहिरिँदा पोखरा पुनः अभागी साबित भयो। काठमाडौँले ४५औँ मिनेटमा सहज अवसर खेर फाले। केङ्ग्यु ओलिभर १० यार्डबाट फ्रिहेडर गोल गर्न असफल रहे। त्यससँगै पहिलो हाफको खेल गोलरहित बराबरीमा रह्यो।

पोखराले खेलको ५८औँ मिनेटमा आयुष घलानको गोलबाट अग्रता लियो। स्टफेन पापाको ‘लङ रेन्ज सट’ काठमाडौँका गोलकिपर एन्जल श्रेष्ठले राम्रो नियन्त्रणमा लिन नसक्दा आयुषले नजिकैबाट गोल गरेका हुन्।

काठमाडौँका लागि एनकेङ्ग्यु जुनियरको हेडर दोस्रो बार ठोकिँदै बाहिरिन पुग्यो। ७२ औँ मिनेटमा पोखराका मोसेसले गोल गर्ने सहज अवसर खेर फाले। काउन्टर अट्याकमा आयुषले दिएको पेनाल्टी क्षेत्रमा अनमार्क रहेका मोसेसलाई पास दिए पनि उनले सदुपयोग गर्न सकेनन्। मोसेसले ७७औँ मिनेटमा पनि गोल गर्ने अवसर खेर फाले।

८२औँ मिनेटमा मोसेसको अर्को प्रहार गोल लाइनबाट पोखराका डिफेन्डर आन्द्रेसले क्लियर गर्दै टोलीको थप संकट टारे। तर, त्यसको एक मिनेटपछि नै पोखराले गोल फर्कायो। पोखरा थन्डर्सका डिफेन्डर सतर्क नरहँदा काठमाडौँका एनकेङग्युले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

करिब १८ यार्डमा पोखराका चार डिफेन्डर रहे पनि उनको सहज रूपमा लेफ्ट फुटेट प्रहार गोलमा परिणत भयो। इन्जुरी समयको पहिलो मिनेटमा पेम्बा लामाको पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोखराका गोलकिपर प्रिसोका लागि खासै चुनौती बनेन।

९३औँ मिनेटमा काठमाडौँले काउन्टर अट्याकमा अर्को गोल फर्कायो। तोजिडिनोभ कोमिवनको लामो पास नियन्त्रणमा लिँदै सोखरुख एमले पोखराको गोलकिपर प्रिसो अगाडि बढेको अवस्थामा खाली पोस्टमा गोल गरे। यससँगै अन्तिम १० मिनेटमा खेलले नाटकीय मोड लिँदा दबाबमा रहेको काठमाडौँले पोखरामाथि रोमाञ्चक जित निकाल्यो।