यू१९ एशिया कप: जितविहीन हुँदै बाहिरियो नेपाल

समूह 'ए'को अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएसँगै नेपाल जितविहीन हुन पुगेको हो।

काठमाडाैँ– नेपाल जितविहीन हुँदै एसीसी यू१९ एशिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार सम्पन्न समूह 'ए'को अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएसँगै नेपाल जितविहीन हुन पुगेको हो। नेपालले दिएको ५७ रनको लक्ष्य पछ्याएको भारतले ७‍.१ ओभरमा ५६ रन बनायो।

भारतका ओपनर अर्शिन कुलकर्णी एक्लैले ४३ रन बनाए। उनले ३० बलमा १ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर आदर्श सिंहले १३ बलमा २ चौकासहित १३ रन बनाए। नेपालले १ रन अतिरिक्त दिएको थियो। 

नेपालका गुल्शनकुमार झाले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए। हेमन्त धामीले २ ओभरमा १२ र आकाश चन्दले १.१ ओभरमा १२ रन दिए।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको हो। नेपालका कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।

ओपनरद्वय दीपक बोहोरा १ र अर्जुन कुमाल ७ रनमा आउट भए। उत्तम रंगु थापामगर शून्य, कप्तान देव खनाल २, गुल्शनकुमार झा ४, दीपक डुम्रे शून्य, दिपक बोहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २ र हेमन्त धामी ८ रनमा आउट भए। आकाश चन्द भने ४ रनमा अविजित रहे।

नेपालले १३ रन अतिरिक्त पाएको थियो। भारतमा राज लिम्बानीले सर्वाधिक ७ विकेट लिए। आराध्य सुक्लाले २ विकेट लिँदा अर्शिन कुलकर्णीको नाममा १ विकेट रह्यो। 

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो।