स्थगित यू१६ लिगलाई निरन्तरता दिन एन्फा र क्लब सहमत

एन्फा पदाधिकारी र क्लबका प्रतिनिधिहरूबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार बसेको बैठकमा लिगलाई निरन्तरता दिने सहमति भएको हो। 

काठमाडाैँ– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लब स्थगित यू१६ युथ लिगलाई निरन्तरता दिन सहमत भएका छन्।

एन्फा पदाधिकारी र क्लबका प्रतिनिधिहरूबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार बसेको बैठकमा लिगलाई निरन्तरता दिने सहमति भएको प्रवक्ता सुरेश शाहले बताए। 

“सहभागी क्लबहरूले आन्तरिक गृहकार्य गर्न केही समय माग गर्नु भएको छ। आउँदो पुस १ गते फेरि बस्ने बैठकमा लिग शुरू गर्न नयाँ मिति तय गर्ने सहमति भएको छ,” उनले भने। ६ महिना लिग सञ्चालन हुने भनिए पनि ५ खेल भएपश्चात लिग रोकिएको थियो। 

लिगमा १० टोली सहभागी भए पनि नेपाल पुलिस, एपीएफ, खुमलटार एफसी र चर्च ब्वाइजले मात्रै समान पाँच खेल खेलेका छन्। मच्छिन्द्र, संकटा, आर्मी, फ्रेन्ड्स र मनाङ मर्स्याङ्दी क्लबले ४/४ खेल खेलेका छन्। न्यूरोड टिम (एनआरटी)ले भने खेलाडीको उमेर विवादका कारण दुई खेल बहिस्कार गरेको थियो।

शाहका अनुसार बैठकमा एनआरटी भने सहभागी थिएन। “उहाँहरूलाई बोलाएका थियौँ। खोइ किन हो सहभागी हुनुभएन,” उनले भने। उनका अनुसार एन्फाले लिगको तयारीवापत दिनुपर्ने थप एक लाख रुपैयाँ पनि कार्यसमिति बैठकबाट दिने सहमति भएको छ।

एन्फाले लिगको तयारीवापत क्लबहरूलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। तर, क्लबहरूले भने २ लाख मात्रै पाएका छन्।

“कार्यसमिति बैठक बस्ने तयारीमा छौँ। छिट्टै हामी बैठक बस्छौँ,” उनले भने। बैठकमा एन्फा महासचिव किरण राई, सहायक महासचिव अरुणमान जोशी, केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ, प्रवक्ता सुरेश शाहलगायत सहभागी क्बलहरूका प्रतिनिधिको उपस्थिति थियो।