नामिबियामा हुने सिरिजका लागि नेपालको टोली घोषणा, देव र आदिल परेनन्

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको नामिबिया हुने त्रिदेशीय सिरिजका लागि नेपालले टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीमा तीव्र गतिका बलर गुलशन झाले पुनरागमन गरेका छन्।

यस्तै, हरिशंकर साहले पनि स्थान बनाएका छन्। यता, हाड हिटर आदिल अन्सारी र युवा ब्याटर देव खनाल भने टोलीमा परेका छैनन्।

नेपाल, नामिबिया र स्कटल्यान्डबीच डिसेम्बर २ देखि त्रिदेशीय सिरिज शुरू हुने छ। नेपाल हाल विश्वकप लिग–२ मा ८ मा जित र ११ मा हारसहित १७ अंकका साथ छैटौँ स्थानमा छ।

नेपालले अब विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ। जसमा ८ घरेलु मैदान त्रिविमा र ८ विदेशी भूमिमा छन्। विदेशी भूमिमा नामिबिया र पपुवा न्युगिनी हुनेछ।

नेपाल शीर्ष तीनमा परे सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छ। अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ।