विकसित देशहरू दुनियाँभर उत्पादन र सेवा बेच्छन्। हाम्रो जस्ता गरिब देशले भने मान्छे बेच्छन्, तिनै बेचिएका नागरिकको कमाइमा बाँच्छन् ती देश।
निश्चित हिसाबकिताब निकालेर परदेसिएको थिएँ म, तर यो सालको समेत हिसाबकिताब बिग्रियो। मनको डायरीमा लेखेको अन्तिम 'डेडलाइन'मा वर्षहरू फेरिए। यस पटक फेरि सम्झौताको एक वर्ष थपियो। हरेक वर्ष घर फिर्ने डेडलाइनमा यसरी केरमेट भइराखेको छ।
रेगिस्तानको जिन्दगी। एउटा कोठामा कच्याककुचुक मिलाएका खाटमाथिका खाट–ड्रोमिटरी। गाउँको गोठका पालीमा निस्फिक्री सुत्ने मलाई यस्तो बसाइँले उकुसमुकुस नबनाएको पक्कै होइन। शुरूआती दिनको निसासिँदो जेलजस्तो जिन्दगी अचेल भने सहज लाग्दै छ। आदत बन्दैछ। मजस्तै धेरै युवाको जीवन घरदेश र गाउँ-देहात सम्झँदै विदेशका ड्रोमिटरीमा बितिरहेका छन्। सञ्चारबिनाको अँध्यारो युगमा पहिले मान्छेहरू लाहोर र ल्हासा पुग्थे। अहिले सञ्चारको सहजताबीच युवाहरू आधुनिक दास बन्दै छन्।
सबैलाई थाहा छ, पैसाको अभाव र सकसले नै धेरैजसो नेपाली युवकयुवती बिदेसिएका हुन्। परिवारको मुख उजिल्याउन अनेकौँ दलाल र म्यानपावर धाएर विदेश पुगेका हुन्। उखानमा हामी ‘पैसाको मुख कालो हुन्छ’ भनेर सुन्थ्यौँ। संघर्षका दिनमा पैसाको त्यस्तो अँध्यारो मुखले तर्साउँथ्यो। विचलित बनाउँथ्यो। पैसाको उज्यालो मुख हेर्न नै हामी बिदेसिएका हौँ।
"जिन्दगी बडो गजपको हुँदोरहेछ है कान्छा? हरेक मान्छेले सोचे र बोलेझैँ जिन्दगी त खै कसको छ त? म त देख्दिनँ त?" सँगै काम गर्ने पश्चिमतिरका दाइ खस लवजमा कुरा अघि बढाउँदै भन्छन्। जिन्दगीको भरभराउँदो जवानी मरुभूमिको राप र पारिवारिक तापमा गुमाइसकेका ती दाइको पनि घर फिर्ने हिसाबकिताब तीन दशक नाघ्दा पनि मिलेको छैन। हिसाबकिताब नमिलेर परदेशमै जवानी सक्नेहरू अनगिन्ती भेटिन्छन्। कोही साथीभाइसँग गढेको आफ्ना दुःखका पोकापन्तुरा सोमरससँगै फुकाउँछन् र हलुका महसुस गर्छन्, त कोही ‘आफ्नो बह कसैलाई नकह’ भन्ने पुरानै उखान मनन गरी गुम्सेर बस्छन्।
छनलाई त स्वदेशमा रहेका बेरोजगार युवाजन झनै बेखुस छन्, तर परदेशमा केही पैसा कमाउने पनि मान्छे बेखुस नै छन्। लालाबाला, जहान र बाआमा नभएको परदेशमा 'सोचेझैँ जिन्दगी' कसरी सम्भव छ र?
वास्तवमा जिन्दगी बुझ्न कठिन विषय रहेछ। आवश्यकता यति छिटै फेरिन्छन्, चाहना यति छिटै बदलिन्छन्। आजको प्रिय कुरो भोलि अप्रिय लाग्छ, पहिले सामान्य लागेको कुरा पछि विशेष बन्न जान्छ। यी सबैबीच जीवन कुदाउनु वास्तवमै चुनौतीपूर्ण रहेछ। जसले जीवनलाई यसैबीच गुजार्न सक्यो, उसैले साँचो अर्थमा जीवन जिएको ठहर्ने रहेछ।
स्वदेश गएका बेला आफन्त र साथीभाइ भन्छन्, "कति विदेश बस्छस्? कति पैसाको पछि लाग्छस्?" यी र यस्तै तमाम प्रश्नको सामना नगर्ने कमै होलान्। हामी प्रवासीसँग उत्तर हुन्थ्यो या हामी उत्तर दिने हैसियतमा हुन्थ्यौँ भने विमानस्थलमा बिदाइका हाल हल्लाउँदै रोइरहेका श्रीमती, आमा र आफन्तको संख्या कम हुन्थ्यो होला। तिनका आँसु विमानस्थलमा बिरलै चुहिन्थे।
प्रश्नको सहजै मुकाबिला गर्न नसकेर फेरि पनि रेगिस्तान फर्कनुको विकल्प पनि आजसम्म निस्केको छैन। अब त विदेश फर्कन्न भन्ने मेरा कोशिश कैयौँचोटि ‘फेल’ भइसकेका छन्। अब त पक्कै फर्किन्नँ होला भन्दाभन्दा वर्षौं बिते।
केही सीमित मान्छेले नेपालमै समृद्धि र प्रगतिका कथा रचेका छन्। त्यसो हुँदा औँलामा गन्न सकिनेबाहेक आममान्छेको सपना देशमा बस्ने छँदै छैन। किन छैन? किनकि पुस्तौँदेखि अभाव र उत्पीडनमा हुर्किएकासँग राम्रो शिक्षाको अवसर र सहजै लगानीको स्रोत हुँदैन। पुँजी जुटाए पनि सानो बजार छ र उत्पादन/सेवा बजार पुर्याउन सिधै बहुराष्ट्रिय कम्पनी या स्थापित ठूला व्यापारीसँग भिड्नुपर्छ। त्यस्तो अवस्थामा साना लगानीकर्ता उल्टै असफल हुने सम्भावना छ, अप्ठ्यारामा आडभरोसा दिने निकाय पनि त छैन।
अर्को कुरा श्रमलाई सम्मान गर्ने समाज छैन हाम्रो। देशमै सानातिना काम गर्दा हामीलाई लाज हुन्छ, जबकि परदेशमा जस्तोसुकै काम गर्न हामीलाई अप्ठ्यारो लाग्दैन। मजदुरी गरेर नजिककै अग्लो टावर या बिल्डिङको तस्वीर हाल्न पाउँदा भने हामीलाई गर्वानुभूति हुन्छ।
अर्को कुरा, आफ्नै बलबुतामा देशमै केही गर्नुपर्छ भनेर हामीलाई कसैले सिकाएको पनि त छैन। न स्कुलले न कुनै कलेजले। परीक्षामा नम्बर मात्रै हासिल गर्न सिकाउने विद्यालय र कलेजहरूले जीवन बाँच्ने कला सिकाएनन्। उत्पादन र स्वरोजगारका तरिका सिकाएनन्। यस्तो अवस्थामा नम्बरवाला सर्टिफिकेट नेपालको दराजमा छाडेर हामी नबिदेसिएर के गर्ने? फेरि, विदेश जाने कुरालाई नै धेरैले राम्रो मानेका छन्, सहजै ऋण पत्याएका छन्।
अहिले विद्यालय शिक्षा सकिनेबितिकै शैक्षिक कन्सल्टेन्सीका नाममा खुलेका म्यानपावर कम्पनीले केही पैसा भएका मध्यम वर्गीय परिवारका सन्तानलाई युरोप-अमेरिका-अस्ट्रेलियातिर 'बेचिरहेका' छन् भने न्यून र न्यून-मध्यम वर्गका र सरकारी स्कुलमा पढेका युवालाई राज्यसंरक्षित दलालहरूले खाडीमा बेचिरहेका छन्। आखिर संसार एउटा ठूलो बजार न हो, विकसित देशहरू दुनियाँभर उत्पादन र सेवा बेच्छन्। हाम्रोजस्ता गरिब देश भने मान्छे बेच्छ, तिनै बेचिएका नागरिकको कमाइमा बाँच्छ। नेतृत्व त्यसकै चास्नीमा डुबिरहेको छ।
विदेशमा खास सेड्युलमा काम हुन्छ। त्यसबाहेक न परिवार र न आफन्त। कोठैमै थुनिएर बस्यो, मोबाइल स्क्रोल गर्यो। त्यसो हुँदा मिडिया र सामाजिक सञ्जालबाट आउने धेरैजसो नकारात्मक समाचारका भोक्ता प्राय: प्रवासी नेपाली हुन्छन्। चिड्चिडाउँदा समाचारले मन बेचैन बनाइदिन्छ। यस्तो लाग्छ, देश साँच्चिकै खान मिल्ने कुनै चिज हुन्थ्यो भने टुक्राटुक्रा बनाएर राजनीतिक नेतृत्वले चबाइसक्थे होला। कहिलेकाहीँ लाग्छ, प्राण गएको कुनै जीव हो देश। भूगोल त छ, तर जीवन छैन। नकारात्मक समाचारबीच, देशमै अवसरको अभावबीच यसरी फेरि अर्को वर्षको ‘सेल्फ अग्रिमेन्ट’ थप्न विवश छौँ हामी प्रवासी।
आफ्ना दुःख सबैलाई ठूलो लाग्लान्, तर परिवार छाडेर विदेश जानेका दुःख खास छन्। खोल्दै जाँदा महाभारतै बन्ने खालका। लेख्दै गर्दा लागेको छ– भैगो अब भने स्वदेश गएपछि विदेश फर्कन्नँ। परिवारको न्यानो छाडेर कति दिन परदेश बस्ने? अनि पैसाले कहिले नै पुग्ने रहेछ र? एकपछि अर्को गर्दै आउने आर्थिक प्वालहरू टार्दाटार्दै जिन्दगीले लामै यात्रा गरिसक्यो। तर निश्चित दुरीको यात्राका यात्रु हामी अर्काकै सेवा गर्दागर्दै आफ्नो बाटो छोटाइरहेका छौँ। हामीलाई जीवनको यति गुह्य कुराको हेक्का छैन।
हेक्का छ त महिनाको अन्तिम दिन बुझ्ने तलब र त्यसले टार्नुपर्ने समस्याबारे मात्र। घडीको सुईजस्तै पट्याइलाग्दो जीवन। यस्तो जीवनले केचाहिँ सिकाएको छ भने 'सुखम् दुखम्' परिवारसँगै बस्ने कुरा जीवनको अर्को आनन्द हो। खाना खान सकियोस्, खाएको सजिलोसँग रुचोस् र सहजै तीन प्रहर (आठ घण्टा) निन्द्रा परोस्। यो निजी अनुभवको निचोड हो।
राम्ररी निदाउन नपाएको तोडमा यो लेख लेख्दै गर्दा आफ्नो राज्य भने फेरि अर्को युरोपियन देशसँगै युवा बेच्ने सम्झौतामा हस्ताक्षर गर्दै रमाइरहेको छ। भरभराउँदा युवा लखेट्दा देश किन गर्व गर्छ कुन्नि? जतिसुकै सम्पन्नशाली देशलाई युवा 'बेचे' पनि आखिर दोस्रो दर्जाकै हैसियतमा बेचिने हुन्। देश बनाउने ऐतिहासिक सम्झौतामा हाम्रा तहतहका सरकारले कहिले सम्झौता गर्लान्?
प्रत्येकजसो दिन ड्रोमिटरीमा बस्दै यस्तै सोचिरहन्छु: अब त पक्कै नेपाल फर्कन्छु। यो महिनाको तलब बुझेर फर्कन्छु। यति जम्मा गरेर फर्कन्छु, स्वदेशमै पाखुरा बजार्छु। उदाहरण बनेर अरूलाई समेत प्रेरित गर्छु। यस्तै तर्कना घर र प्यारो परिवार सम्झन्छु र खाना खाएर बेलुका सुत्छु, भोलि जब उज्यालो हुन्छ, फेरि काममै जानु छँदैछ। त्यसै बखत साथीले म्यासेन्जरमा टेक्स्ट पठाउँछ– अनि नेपाल कहिले फर्किने त यार? म अलमलपूर्ण उत्तर दिन्छु– अब छिटै। तर मलाई थाहा छैन, त्यो छिटै कहिले आइपुग्ने हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
