आयरल्यान्ड पुगेर युरोमा आम्दानी गर्ने सपना देखेर १४ लाख रुपैयाँ बुझाएका सुरेश र विकास अहिले निराश छन्। ठगिएको रकम फिर्ता लिने प्रयासमा उनीहरूले काठमाडौँ प्रहरी परिसरमा सञ्जीवविरुद्ध निवेदन दिएका छन्।
काठमाडौँ– पोखराका सुरेश नेपाली त्यहीँको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्थे। तलब राम्रै थियो। तर आफ्नै व्यवसाय शुरू गर्ने सोचले जागिर छाडेर चिप्लेढुंगामा कस्मेटिक पसल खोले। आर्थिक मन्दीको प्रभावले व्यवसायमा घाटा हुन थाल्यो। त्यसपछि पसल बेचेर युरोपको आयरल्यान्ड जाने सोच बनाएका उनले त्यसबारे सोधखोज गर्न थाले।
गत असोज १० गते सुरेशले फेसबुकमा एउटा विज्ञापन देखे जुन ‘ब्राइट फ्युचरटेक’ नामक फेसबुक पेजबाट आएको थियो। त्यसमा दुई महिनामै 'भिसा अप्रुभल'को ग्यारेन्टी हुने र प्रतिमहिना ११ सय युरो तलब हुने बताइएको थियो। त्यो देखेर जोसिएका सुरेशले तुरुन्तै त्यसमा लेखिएको नम्बरमा फोन गरे। फोनमा बोल्ने व्यक्तिले उनलाई काठमाडौँ आइहाल्नू भने।
उनी भोलिपल्टै काठमाडौँ आइपुगे। सञ्जीव गुरुङ नामका व्यक्तिले उनलाई रानीबारीमा बोलाएर भेटे। आफू कम्पनीको मालिक भएको बताउँदै उनले आयरल्यान्ड जाने प्रक्रिया शुरू गर्ने भन्दै दुई लाख रुपैयाँ तुरुन्तै मागे। दुई-तीन दिन समय मागेर भोलिपल्ट पोखरा फर्किएका सुरेशले पैसाको जोहो गर्न थाले।
उनले आफू मात्र नभई आफ्ना साढुभाइ विकास गुरुङलाई पनि आयरल्याण्ड जाने राम्रो अवसर आएको खबर सुनाएर सँगै जान प्रस्ताव गरे। दुई पटक विदेश गएर आएका विकास खाली नै थिए। राम्रै तलबमा विदेश जाने अवसर आएको ठानेर उनी पनि पैसा जुटाउन थाले। “पैसा नतिरी प्रक्रिया शुरू नहुने भनेपछि हामी दुई जनाले चार लाख रुपैयाँ खातामा हालिदियौँ,” सुरेश भन्छन्, “एनआईसी एशिया बैंकमा रहेको शान्ता गुरुङको खातामा पैसा हाल्यौँ। त्यसपछि तपाईं ढुक्क हुनुस् तपाईंको काम हुन्छ भनेको थियो।”
दुवै जनाले एउटै देश र एकै कम्पनीमा काम गर्न जाने भनी पैसा बुझाएका थिए। तर त्यसको तीन महिना बितिसक्दा पनि उनीहरू आयरल्यान्ड जान पाएका छैनन्। बरु थप १० लाख र उनीहरू दुवै जनाको पासपोर्ट कब्जामा लिएर सञ्जीव सम्पर्कविहीन छन्।
सपनाले निम्त्याएको संकट
फार्म हाउसमा काम गरेर मासिक ११ सय युरो अर्थात् करिब डेढ लाख नेपाली रुपैयाँ कमाउने सुरेश र विकासको सपना थियो। त्यसमाथि सञ्जीवले दुई–तीन महिनामै तलब बढेर दुई हजार युरो पुग्ने प्रलोभन देखाएका थिए जसलाई उनीहरूले पत्याए पनि।
असोजको १२ गते दुवै जनाबाट दुई–दुई लाखका दरले चार लाख बुझेपछि सञ्जीवले चाँडै 'अफर लेटर' र 'वर्क पर्मिट' आउने र वर्क पर्मिट लिन चाहिँ दिल्ली जानुपर्ने बताएका थिए।
“हामीलाई सारा काम दिल्लीबाटै हुने बताइएको थियो। हाम्रो पासपोर्टदेखि लिएर चाहिने जति सारा कागजात उसले लिइसकेको थियो। त्यतिखेर दशैँपछि उड्ने कुरा भएको थियो। तर दुई महिनासम्म केही भएन। बरु बीच–बीचमा थप पैसा चाहिँ मागिरहन्थ्यो,” सुरेश भन्छन्, “हामी आत्तिइसकेका थियौँ। यत्रो दिन भइसक्यो, हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन भन्नुस् भन्यौँ। तर उसले हुन्छ हुन्छ भन्यो र दुई–तीन दिनपछि फोन गरेर अबको २१ दिनमा सबै काम सकिन्छ, तपाईंहरू पाँच-पाँच लाख रुपैयाँ तयार गरेर राख्नुस् भन्यो।”
मंसिर १५ गते अफर लेटर आयो। त्यसमा 'फार्म रिलिफ सर्भिस (एफआरएस)' नामक कम्पनीमा ‘मिल्क प्याकिङ हेल्पर’ को जिम्मेवारी तोकिएको थियो। लेटरमा आयरल्यान्डको एक फार्मको नाम लेखिएको छ। तर त्यसको ‘क्युआर कोड स्क्यान’ गर्दा केही पनि देखाएन।
सञ्जीवले सुरेश र विकासको अफर लेटर आएपछि बाँकी काम दिल्लीमा हुने बताएका थिए। तर उनीहरूले दिल्ली जान इन्कार गरे पनि पछि तयार भएका थिए। मंसिर २७ गते सञ्जीवले उनीहरूलाई फोन गरी पुस १ गते पाँच लाख रुपैयाँ लिएर काठमाडौँ आउन भने।
“मंगलबार दिल्ली जानुपर्छ, सारा कागजात तयार गर्नुपर्ने भएकोले तपाईंहरू पैसा लिएर आइतबार (१ गते) आउनुहोला भन्यो। हामी वर्क पर्मिट र भिसा लिन दिल्ली जान्छौँ, हाम्रो त्यहाँ सेटिङ छ भनेर उसले हामीलाई पहिल्यैदेखि भनेको थियो,” सुरेश भन्छन्, “तपाईंहरूलाई त्यहाँ लगेर पैसा तिर्छौं अनि वर्क पर्मिट र भिसा लिएर आएपछि यहीँबाट आयरल्यान्ड उड्न पाउनुहुन्छ भन्थ्यो।”
दुवै जना पाँच/पाँच लाख रुपैयाँ लिएर काठमाडौँ आए। रानीबारीस्थित सञ्जीवको अफिसमा पुगे। पैसा बुझाउनुअघि जान पाइने भरपर्दो प्रमाण देखाउन आग्रह गरे। नत्र पहिले तिरेको पैसा र पासपोर्ट पनि फिर्ता लिएर फर्किने निर्णय उनीहरूले पहिल्यै गरिसकेका थिए। तर सञ्जीवले रकम लिएपछि केही तलमाथि नहुने आश्वासन दिए। बरु नगदको साटो त्यति नै रकमको चेक दिएर उनीहरूलाई आश्वस्त तुल्याए।
“सञ्जीवले त्यति भनेपछि नजिकैको नबिल बैंकबाट हामीले नौ लाख नगद झिकेर ल्यायौँ। बदलामा उसले नेपाल इन्भेस्टमेन्ट बैंकको १० लाखको चेक बनाइदियो। त्यति गरेपछि हामीले विश्वास नगर्ने कुरै भएन,” विकास भन्छन्, “त्यतिखेर हामीसँग नौ लाख मात्र थियो। बाँकी एक लाख पछि दिन्छु भन्दा उसले हुन्छ भन्यो।”
सञ्जीवले आफू पुसको ३ गते प्लेनमा दिल्ली जाने र उनीहरूलाई बसको टिकट काटिदिने बताएका थिए। सोहीअनुसारको योजना बनाएर पुस १ गते सुरेश र विकास सुन्धाराकै एक होटलमा बसे। बसको टिकट २ गते दिउँसो ३ बजेसम्म मिलाइदिने सञ्जीवले बताएका थिए। भोलिपल्ट दिउँसो दुई बजेतिर सुरेशले सञ्जीवलाई फोन गरे। त्यतिबेला उनीहरूकै कागजात मिलाइरहेको जवाफ सञ्जीवले दिए। तर दिल्ली जाने टिकट काट्नुअघि बाँकी रहेको एक लाख पठाइदिन भने।
सुरेश र विकासले पनि आफूसँग १० लाखको चेक हुँदाहुँदै किन अविश्वास गरिराख्नु भन्दै मोबाइल बैंकिङबाट पैसा पठाइदिए। पैसा गएको एक मिनेट नबित्दै सञ्जीवले सुरेशलाई ह्वाट्सएपमा भोइस मेसेज पठाए, “म अलिक व्यस्त भएँ, टिकट तपाईंहरू आफै काट्नु न।”
उनको त्यो मेसेज सुन्दा छाँगाबाट खसेजस्तै महसुस भएको सुरेश बताउँछन्। पैसा पाएपछि कुरा फेरेको भन्दै आफू पनि सञ्जीवसँग रिसाएको उनी बताउँछन्। “एकाएक उसले बोली फेर्न थाल्यो। घरि बुवा बिरामी भएको भन्थ्यो, घरि अरू बहाना बनाउँथ्यो। फोनमै हाम्रो झगडा शुरू भयो। हामीले तत्काल पैसा चाहियो भन्न थाल्यौँ,” सुरेश भन्छन्, “उसले पनि पैसा फिर्ता दिन्छौँ भन्यो। हामी उसको अफिस गयौँ। उसले हामीलाई चेक फिर्ता गर्नुस्, तपाईंलाई पैसा फिर्ता दिन्छौँ भनेको थियो। तर त्यो दिन ऊ अफिस नै आएन।”
सुरेशका अनुसार त्यो दिन अफिसमा अन्य मान्छे पनि आएका थिए। उनीहरूले पनि सञ्जीवलाई पैसा बुझाएका रहेछन्। सबै जना उनैलाई कुरिरहेका थिए। सबैले सञ्जीवलाई फोन गरिरहेका थिए। तर कसैको फोन पनि उठाएका थिएनन्। दिनभर त्यसरी नै बित्यो। सञ्जीवले भोलिपल्ट फोन गरेर आफू व्यस्त रहेको भन्दै अफिसमा गएर पवन भण्डारी नामका व्यक्तिलाई भेट्न भने। आफू सोही दिन २ बजे दिल्ली जाने भन्दै सुरेश र विकासलाई भोलिपल्टको बसमा आउनू भने।
त्यो दिन उनले राम्ररी नै कुरा गरेको सुरेश बताउँछन्। “हामी अफिस गयौँ। पवन भन्ने मान्छेले पनि राम्रै कुरा गरेर दिल्लीको टिकट काटिदिन्छु भन्यो। हामी पनि मान्यौँ,” सुरेश भन्छन्, “हाम्रै अगाडि पुस ४ गते बिहानको टिकट काट्यो। हामी जान तयार थियौँ। तर रातिसम्म हामीलाई सञ्जीवले सम्पर्क नै गरेन। उसको मोबाइलमा फोन गइरहेको थियो। दिल्ली गएको मान्छेको फोन कसरी लाग्यो?”
त्यही अन्योलका कारण उनीहरू भोलिपल्ट दिल्ली गएनन्। दिल्लीमा कहाँ जाने, कोसँग भेट्ने भनेर कुनै जानकारी नपाउँदा आफूहरु नगएको सुरेश बताउँछन्। त्यो दिनदेखि सञ्जीव गायब छन्। उनको फोन पनि 'अफ' छ। उनले दिएको १० लाखको चेक साट्न जाँदा खातामा पैसा नै थिएन।
अबको प्रयत्न: पैसा फिर्ता
शान्ता गुरुङको खातामा पैसा हालेकै बेला आफूहरू सञ्जीवको चंगुलमा फसेको आभास अहिले भइरहेको विकास बताउँछन्। “त्यसपछि पनि उसका मिठा र चिप्ला कुरामा हामी अलमलियौँ। कतै न कतै आयरल्यान्ड पुग्ने विश्वास हामीलाई थियो,” उनी भन्छन्।
आयरल्यान्ड पुगेर युरोमा आम्दानी गर्ने सपना देखेका सुरेश र विकास अहिले निराश छन्। उनीहरू जसरी पनि आफूहरूको पैसा फिर्ता गर्न चाहन्छन्। त्यसका लागि काठमाडौँ प्रहरी परिसरमा सञ्जीवको नाममा जाहेरी दरखास्त पनि दिइसकेका छन्।
“अब पैसा आए पनि, नआए पनि हामी विदेशको बाटो रोज्दैनौँ। हामीबाट पनि गल्ती नभएको होइन,” उनीहरू भन्छन्, “अब आयरल्यान्ड जाने होइन, जसरी हुन्छ डुबेको रकम फिर्ता लिने प्रयासमा केन्द्रित छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
