पसिनाको कमाइ यस्तो बजारिया र कमसल खाजामा खर्च नगर्नुहोस्, यति मूल्यमा घरमै बनाउन सकिने मकैभटमास, चिउरा, चना, बदाम र सातु अथवा फलफूल किनेर खानुहोस् भनौँजस्तो लाग्छ, तर पसले रिसाउलान् भनेर चुप लाग्छु।
प्रारम्भमा प्रस्ट पारौँ– म जनस्वास्थ्यको जानकार होइन, तर समाजशास्त्र, संस्कृति र जनस्वास्थ्यबारे नियमितजसो पढिरहने पाठक हुँ।
त्यो मान्छे मरेतुल्य हुन्छ, जब ऊ सत्यका लागि लड्दैन, न्यायका लागि उभिँदैन, गलत कुरा देख्दादेख्दै पटक्कै बोल्दैन, त्यसविरुद्ध आवाज उठाउँदैन– डा. मार्टिन लुथर किंग जुनियर (भावानुवाद)
केही वर्ष पहिले ललितपुरको माल्टा गाउँतिर एकल पैदल यात्रामा निस्केको थिएँ। मजस्तो बोलक्कडका लागि बाटामा भेटिने जोसुकैसँग छोटो समयका लागि हुने निःशर्त मित्रता र पूर्वाग्रहरहित कुराकानी विशेष रहन्छ।
बाटामा भेटिने गाउँ निकै बिकट देखिन्थे। अहिले पनि ललितपुरका केही गाउँ राजधानीनजिक भएर पनि दुर्गमझैँ लाग्छन्, टुकीमुनिको अँध्यारोझैँ।
अहिले सडक पुगे पनि केही समय अघिसम्म हिँडेरै माल्टा पुग्नुपर्थ्यो। विकासमा पछाडि परेका ती गाउँमा कतै पनि पिस्ने–कुट्ने आधुनिक मिल नभएका कारण गहुँ, जौ अझै पनि घट्टमै पिसेर, धान ढिकीमै कुटेर खानुपर्ने अवस्था थियो।
सडक सञ्जाल नभएकोले नजिकको बजार पुग्नसमेत तीन चार घण्टा पैदल हिँड्नुपर्ने हुन्थ्यो। गन्तव्य पुग्न निकै समय लाग्ने भएकोले यात्रा बिहान सबेरै थालेको थिएँ। हिँड्दै जाँदा बाटामा फाट्टफुट्ट घरहरू भेट्टिन्थे भने खुद्रा पसल बिरलै। थकान र भोकले ग्रस्त भएकोले मध्याह्नतिर बाटामा भेटिएका गाउँलेसँग कुनै प्रकारको खाजा मिल्ने पसल छ कि भनेर सोधेँ। नजिकै भेट्टाइएन। निकैबेर हिँडेपछि एउटा सानो चिया पसल भेटियो र भित्र पसेँ।
पसलभित्र वृद्धा थिइन्। उनलाई मैले के–के पाइन्छ भनेर सोधेँ। उनले भनिन्, "बाबुले के खान खोज्नु भएको हो? यहाँ दुनोट, बिस्कुट, दालमोठ, चाउचाउ, चिप्स, कोक, फ्यान्टा, डिउ, जुस सबै थोक पाइन्छ।"
उनले भनेका सबै खानेकुरा प्याकेजिङ गरिएका तर पोषण कम भएका थिए। तिनमा कम पोषण तत्त्व र बढी तेल, नुन या चिनी हुने भएकाले कतिले तिनलाई पत्रु खानासमेत नाम दिएका छन्।
दिनभरको बाटो हुँदै ती सामानमा शहरबाट त्यहाँ पठाउँदा तिनको लागत बढी परेको थियो। अझ क्यानवाला जुस त सायद विदेशबाटै पानीजहाज चढेर त्यस पाखासम्म पुगेको थियो।
यी सबैका बाबजुद यी चिजको गाउँमा राम्रो खपत हुँदो रहेछ। बालबच्चादेखि युवा, वृद्धवृद्धाले यस्तै चिजबिजलाई दिउँसोको खाजाका रूपमा प्रयोग गर्दा रहेछन्। तर मैलेचाहिँ चिउरा र तरकारी या रोटी तरकारी, पाएसम्म दही चिउरा खान खोजेको थिएँ। ती कुरा पसलमा थिएनन्। पसल हो, जे चल्छ, त्यही राखिन्छ।
जेसुकै खाएर भए पनि भोक त मेटाउनै पर्यो। अनि सोधेँ– “दूधचिया त बन्ला नि?” वृद्धाले जवाफमा भनिन्– “बन्छ।” उनले पाउडर दूध हालेर चिया बनाइन्। पाउडर दूध पनि सायद विदेशमै तयार भएर आएको थियो। चियालाई साथी बिस्कुट मागेँ। त्यतिले नपुगेझैँ लागेर विवश भई एक पाकेट चाउचाउ पानीमा उमाल्न लगाएर खाएँ र अघि बढेँ।
एक डेढ घण्टा हिँडेपछि बाटो खनिरहेका एक हुल मान्छे देखेँ। उनीहरू भर्खरका युवा थिए। तीमध्ये दुईचार जनाचाहिँ शीतलमा बसेर चाउचाउ र चिप्ससँगै कोल्ड ड्रिंक्स पिउँदै थिए। उनीहरूले गर्ने काम बलको थियो। पसिनाले भिजेका उनीहरूलाई नियाल्दा लाग्थ्यो, पिक–कोदालोले सडक खन्ने काम सजिलो थिएन। तर उनीहरूले खाइरहेको भोजनको पोषण भने टिठलाग्दो थियो, श्रमअनुसारको थिएन।
लाग्यो, 'यी युवामा थोरै मात्र शिक्षा र चेतना हुँदो हो त, यत्रो कठिन शारीरिक परिश्रमका बेला अलि पोसिलो खाँदा हुन्। स्वादभन्दा ठूलो स्वास्थ्य हो भन्ने जान्दा हुन्। तर ज्ञान हुन पनि कसैले भनिदिनु पर्यो। हाम्रै शिक्षा प्रणालीले नै खाना कस्तो खाने र के खाने भन्नेबारे कतै उल्लेख गरेको मेरो समझमा छैन, एकाध मिडियामा आउने यस्तै लेखबाहेक। त्यसमाथि यस्ता पत्रु खानाको प्याकेटमा भ्रमपूर्ण सन्देश हुन्छन्। 'फलानो भिटामिन'ले युक्त उल्लेख हुन्छ। भिटामिन लेखिदिएपछि हामीलाई पुगिहाल्यो।
तराईको मलाई जानकारी छैन, पहाडी गाउँमा धेरैजसो खाजाका रूपमा पाइने भनेको मकैभटमास, रोटी र दहीमोही हो। तर गाउँले स्वयंको टक त्यसमा अचेल छैन। किनकि मकैभटमास भुट्न र रोटी पकाउन थोरै जोरजाम र समय चाहिन्छ। महीदही अब बाटाघाटाका पसलमा सहजै कहाँ पाइन्छ?
अनि शहरका त भई गए, शहरीकृत गाउँमा बिस्कुट, चिजबल्स र चाउचाउजस्ता खाजाले रजगज गरेको छ। कतिपय गाउँ–ठाउँमा त मकै,भटमास आदि पनि दुर्लभ हुन थालिसके। गाउँघरका युवा जमात विदेश जान थालेपछि खेतबारीमा काम गर्ने मान्छे कम हुनुको पनि परिणाम हो यो। गाईवस्तु पाल्ने क्रम घटेको छ। त्यसो भएपछि विदेशदेखि पानीजहाज चढेर भित्रिएका पत्रु खानामा नेपालीको आदत बस्नु स्वाभाविक हो।
एक छिनपछि देखेँ, पहाडको थुम्कोमा अवस्थित एउटा विद्यालयबाट एक हुल विद्यार्थी छुट्टी भएलगत्तै रमाउँदै तलतिर झर्दै थिए, घर फिर्दै थिए। प्रत्येकको पिठ्युँमा गह्रुँगो स्कुले ब्याग थियो। प्रत्येकको हातमा केही न उही पत्रु खाजा थियो: चिजबल्स, आलुचिप्स, चाउचाउ, भुजिया, बिस्कुट। कोही दुनोट टोक्दै थिए र कोही ठोससँगै कोल्ड ड्रिंक्स पिउँदै थिए। बाबुआमालाई पनि सजिलो, बच्चालाई साह्रै मीठो लाग्ने। यो झिलिमिली बजारको युगमा कसले खाने मकैभटमास र रोटी?
गाउँघरतिर आफन्त र इष्टमित्र भेट्न जाँदा चाउचाउ, भुजिया र केक बिस्कुटको चलन बढिरहेको देखिन्छ। पाहुनालाई मकै भटमास र रोटी खुवाउनुलाई कतिपयले 'विपन्नता'का रूपमा बुझेझैँ लाग्छ। शहरमा मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूले समेत महँगो हर्लिक्स्, भीभा, ग्लुकोज लगायतका प्याकेटलाई 'तागत दिने खानेकुरा' भन्दै किनेर घर लगेको देखिन्छ। चाउचाउ, चिप्स र चिजबल्स कति बिक्छन् भन्ने कुरा त बाटाघाटातिर तिनका खोल नियाल्दै पत्ता लाग्छ। त्यसले पर्यावरणमा पारेको विकराल प्लास्टिक प्रदूषणको छुट्टै पाटो छ।
विपन्न वर्गले पसिना बगाएर कमाएको पैसा महँगा पत्रु खानामा खर्चिएको देख्दा उकुसमुकुस हुन्छ। पसिनाको कमाइले यस्तो बजारिया र कमसल खाना/खाजा खर्च नगर्नुहोस्, यति मूल्यमा घरमै बनाउन सकिने मकैभटमास, चिउरा, चना, बदाम र सातु अथवा फलफूल किनेर खानुहोस् न भन्दै उहाँहरूलाई सुझाऊँजस्तो लाग्छ, तर पसले रिसाउलान् भनेर चुप लाग्छु।
बुटी बाँधेर रोग निको हुन्छ भनी ठानिने समाजमा रेडबुललगायत इनर्जी ड्रिंक्सले खुबै तागत दिन्छ भन्ठान्नेको जमात ठूलै छ। धनीमानीले पत्रुसँगै अन्य पोषणयुक्त भोजन र फलफूल र 'नट्स' पनि खान पाउलान् र उनीहरूलाई तुलनात्मक रूपमा पत्रु खानाको कम असर पर्ला, तर खासगरी किसान र कामदार वर्गको स्वास्थ्य त पत्रु खानाले पक्कै बिगार्छ। जसका कारण उनीहरू कुपोषित र पर्याप्त पोषण नपाउँदा जुनसुकै रोगले आक्रमण गर्ने सम्भावना बढ्छ।
यसरी हेर्दा मूल रूपमा जंकफुडको मुख्य खपतकर्ता पनि विपन्न समुदाय र तिनका बालबालिका देखिन्छन्। शिक्षा र चेतना हुँदाहुँदै पनि हतारमा पकाएर खानुपर्ने, बालबालिकालाई खाजा बनाएर स्कुल पठाउन नसक्ने अवस्थामा पत्रु खाना सहजै र तुलनात्मक रूपमा दोकानमा 'सस्तै' उपलब्ध हुन्छ। फार्मेसीबाट भिटामिनका बोतलबिना चिकित्सकको पर्चा/प्रेस्क्रिप्सन् किनेर खानेमा पनि सम्भवतः निम्न वर्गीय नै हुन्।
सराह चेनले 'द स्पार्टन सिल्ड'मा 'द अमेरिकन डायट फ्युयल्ड बाइ क्यापिटलिजम'मा लेखेकी छन्, "उपभोक्तालाई मन पर्ने प्रशोधित खाद्य पदार्थहरू सस्तो मूल्यमा सजिलै उपलब्ध मात्र हुँदैनन्, त्यसमा अक्सर लत निम्त्याउने सामग्री पनि हुन्छन्।" सोही लेखमा 'नेसनल सेन्टर फर वेट एन्ड वेलनेस र जोन्स हप्किन्स फ्याकल्टीका'का निर्देशक, स्कट कहान भन्छन्, "अमेरिकामा सबैभन्दा स्वादिलो, सबैभन्दा सस्तो र सबैभन्दा धेरै परिमाणका, सबैभन्दा धेरै ठाउँमा उपलब्ध र सबैभन्दा मजेदार खानेकुरा नै सबैभन्दा अस्वस्थ्यकर हुन्।"
हाम्रो हकमा पनि करिब त्यस्तै हो। धेरै मान्छेले सहजताका लागि प्रयोग गर्ने चाउचाउ नेपालभर सर्वप्रिय बनेको छ। चाउचाउ बेचेरै नेपालका साहुजीहरू विश्वका अरबपतिको सूचीमा चढेका छन्। यसरी हेर्दा नेपालका निम्न वर्गीय मान्छेले नै पुँजीपतिहरूलाई विश्वका चलेका अरबपतिका दरिन योगदान गरेका छन्।
यसो हुनुमा अनेकन् सञ्चारमाध्यमबाट प्रसारित भ्रमपूर्ण विज्ञापनसँगै चेतावनीबिनाका तिनका आकर्षक प्याकेजसमेत जिम्मेवार छन्। हाम्रो गरिबी, अज्ञान र विवशता त कारक छँदैछ। तिनै विपन्नहरू बिरामी भएपछि कुपोषण र रोगका सिकार भएपछि जाने त अन्ततः अस्पताल र फार्मेसी नै हुन्।
चाहे व्यवसायीद्वारा उत्पादित पत्रु खाना खाउन्, या उनीहरूद्वारा सञ्चालित अस्पताल धाउन्, या उनीहरूद्वारा उत्पादित या सञ्चालित फार्मेसीका औषधि किनेर खाउन्, जसरी भए पनि नेपालका धनाढ्य पुँजीपतिलाई धनी बनाइदिने आखिर मूल रूपमा ठूलो संख्याका विपन्न वर्ग नै रहेछन्। आखिर यस देशमा मुठ्ठीभर न छन् पुँजीपति।
रेस्टुरेन्टमा सहजै उपलब्ध फास्टफुड होस् या प्याकेज्ड जंकफुड, यसको प्रयोग र फैलावट अझै व्यापक हुँदैछ। मान्छेहरू पल्किउन् भनेर व्यापारीहरूले त्यस्ता भोजनमा अनेकौँ 'एडिक्टिभ्स'समेत प्रयोग गर्ने हुनाले एक पटक चाखेपछि सहजै मान्छेहरू त्यसको लतबाट मुक्त हुन कठिन छ। यसो भनेर बिस्कुट, चाउचाउ, प्याेकज्ड जुस, चिजबल्स, चकलेट, चिप्स आदिका उद्योग र व्यवसाय बन्द गर्न सम्भव पनि छैन, तर फास्टफुडलाई 'एडिक्टिभ'मुक्त गर्ने, तिनका खतराबारे प्याकेजमा सूचना राख्ने र तिनका सीमितताबारे जिम्मेवार सरकारले जनसाधारणलाई पूर्वसूचना उपलब्ध गराउनुपर्ने हो।
पुँजीपतिहरूकै दान दातव्यमा पार्टी चलाउनेहरूले नेतृत्व गरेको सरकारले त्यसो गर्न धेरै कठिन छ। त्यसो हुँदा सबै चेतनशील नागरिक समाजको सरोकारको विषय हुनुपर्छ– जंकफुडले वरवाद पारिरहेको नागरिक स्वास्थ्य। दीर्घकालसम्म स्वास्थ्यलाई पर्ने असर या कुपोषणबाट हुन सक्ने दूरगामी असरबारे चेतना बिस्तार गर्नु सबै सचेत वर्गको नैतिक जिम्मेवारी हो। यस्ता खानेकुरामा उच्च मात्रामा चिल्लो, चिनी र नुनको मात्रा हुने भएकाले यसबारे व्यापक रूपमा सर्वसाधारणलाई जानकारी दिइनुपर्छ।
'जंकफुड क्यापिटलिजम्'ले संसारभर जनस्वास्थ्य बिग्रेको छ र थप बिग्रँदै छ। त्यसबारे वैज्ञानिक, लेखक र राजनीतिज्ञहरूले पनि जिम्मेवार भई काम गर्नुपर्ने देखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
