आमाले डाक्टर वा इन्जिनियर बनाउने सपना देखिरहँदा अर्जुनका बुवाले भने क्रिकेटको ब्याट किनिदिएका थिए। १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा राखेका डेभ वाट्मोर उनलाई ‘नेपालको भविष्य’ बताउँथे।
काठमाडौँ– “उनी उमेरले १५ वर्ष टेकेका छन्। तर उनको जुन ब्याटिङ शैली छ त्यसले यति भन्न सकिन्छ– उनी क्रिकेटका भविष्य हुन्,” करिब तीन वर्षअघि नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक डेभ वाट्मोरले भनेका थिए। वाट्मोरले ‘नेपाली क्रिकेटको भविष्य’ बताएका अर्जुन कुमाल अहिले यू१९ विश्वकप क्रिकेट खेल्न दक्षिण अफ्रिकामा छन्।
वाट्मोरले अर्जुनको ‘क्लासिक शट’को प्रशंसा गरेका थिए। उनी १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए। तर राष्ट्रिय टोली घोषणा हुँदा स्थान बनाउन भने सकेनन्। यद्यपि, बन्द प्रशिक्षणको त्यो पहिलो अनुभव उनले बिर्सिन सकेका छैनन्।
यू१९ विश्वकपका लागि दक्षिण अफ्रिका जानुअघि अर्जुनले उकालोसँग भनेका थिए, “त्यो बेला सानै थिएँ, सिक्नुपर्ने धेरै थियो। एकैपटक सिनियर टोलीमा पुग्ने कल्पना गरेको थिइनँ। तर यू१९ मा राम्रो गरे सिनियर टोलीमा पुग्छु भन्ने आशा चाहिँ थियो। यू१९ मा राम्रो गर्ने मौका छ।”

अहिले १८ वर्ष उमेर टेकेका कुमाल नेपाली यू१९ टोलीको ‘ओपनर’ ब्याटर हुन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यही हप्तादेखि शुरू हुने यू१९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टु वाच’मा राख्दा उनी पनि परेका छन्। आफ्नो लक्ष्य चाहिँ सिनियर टोलीबाट विश्वकप खेल्नु भएको उनी बताउँछन्।
सचिनको फ्यान, बुबा प्रशिक्षक
गुल्मी क्षत्रकोटका मेघबहादुर घरका पाँच छोरामध्ये माइला हुन्। घरको आर्थिक अवस्था राम्रो थिएन। राम्रो कमाइको आशामा उनी २०५२ सालतिर भारत हानिए। दिल्ली पुगेका उनले शुरूमा घरको सरसफाइ गर्न थाले। पछि चस्मा फ्याक्ट्रीमा काम पाए। त्यहाँ काम गर्ने भारतीयहरू टीभीमा क्रिकेट हेर्न र खेल्न मन पराउँथे। त्यो माहोलले मेघबहादुरलाई पनि तान्यो।
भारतको खेल हुँदा उनी टेलिभिजनमै आँखा टाँस्थे। बिस्तारै सचिन तेन्दुकरको फ्यान बने। “मलाई त्यतिखेर सचिन धेरै मन पर्थ्यो। उनको ब्याटिङबाट निकै प्रभावित थिएँ। त्यसैले भारतलाई खुबै समर्थन गर्थें। पछि अर्जुन पनि सचिनको समर्थक भएर निस्कियो,” बुवा मेघबहादुर भन्छन्।
अर्जुन ३ वर्षका हुँदा सचिन करिअरको अन्त्यमा पुगिसकेका थिए। त्यही पनि अर्जुन बुवा मेघबहादुर नजिक बसेर टीभीमा क्रिकेट हेरिबस्थे। क्रिकेटप्रति छोराको चासो देखेर मेघबहादुर आफैँले सिकाउन थाले। शुरूमा उनले ढोकाको काठ काटेर ब्याट बनाइदिए।
राम्ररी ब्याट समाउन नसक्ने अर्जुनले बल हान्ने प्रयास गर्थे। त्यो देखेर मेघबहादुर खुशी हुन्थे। यही खुशी कायम राख्न उनले छोरालाई क्रिकेट सिकाउँदै गए, पछि खेलाडी पो बन्छ कि भन्ने आश लाग्न थाल्यो। जब खाली हुन्थे घरको छतलाई छोराको अभ्यास मैदान बनाइहाल्थे। अलिअलि हान्न थालेपछि बिहान एकदुई घण्टा पार्कतिर लगेर सिकाउन थाले। “अर्जुन ४ देखि ६ वर्षसम्म हुँदा हाम्रो डेली रुटिन त्यही थियो। यसरी नै प्रशिक्षण गराएर एकेडेमी छिर्न योग्य बनाएँ,” मेघबहादुर भन्छन्।

करिब दुई वर्ष अभ्यास गराएपछि बल्ल ब्याट किन्दिए। अर्जुन ६ वर्षको भएपछि दिल्लीकै एक क्रिकेट एकेडमी भर्ना गराइदिए। तर आमा विष्णु छोरालाई डाक्टर या इन्जिनियर बनाउन चाहन्थिन्। डाक्टर वा इन्जिनियर भए परिवारको आर्थिक अवस्था सुध्रिने उनको आशा थियो। छोराको पढाइ राम्रो नहुँदा उनलाई पीडा हुन्थ्यो। खेल्दा चोट लागेको थाहा पाइन् भनेर खानाको थालै छाडेर रुन्थिन्। तर अर्जुनका बाबुछोराको ढिप्पीअगाडि विष्णुको केही चलेन।
एकेडेमीमा अर्जुनले देखाएको क्षमताका कारण भारतबाटै उमेर समूहको क्रिकेट खेल्न प्रस्ताव आउन थालेको थियो। अर्जुन भने छातीमा सूर्य र चन्द्र अंकित झन्डा बोकेर खेल्ने सपना देख्थे।
कलिलै उमेरमा अर्जुनको देशप्रेम देखेर दिल्लीको एकेडेमीका प्रशिक्षक राहुल शर्मा दंग थिए। अर्जुन १३ वर्षका भएपछि राहुलले अर्जुनलाई गण्डकी प्रदेशबाट यू१६ क्रिकेट लिग खेल्नका लागि ट्रयाल दिन सुझाए। राहुल आफैँ पनि कुनै बेला पश्चिमाअञ्चल (हाल गण्डकी प्रदेश)बाट खेल्थे। राष्ट्रिय टोलीसम्म आउन नसकेपछि भारत हानिएका थिए। राहुलको सल्लाहमा आएका अर्जुनले गण्डकीको टोलीमा स्थान बनाइहाले।
पहिलोपटक काठमाडौँको क्रिजमा उत्रिएका अर्जुनले पहिलो खेलमा नै बागमती (तत्कालीन प्रदेश ३) विरुद्ध ५३ बलमा ३८ रन बनाए। कर्णाली र लुम्बिनीविरुद्ध ६१ र २३ रन प्रहार गरे। तर गण्डकीले समूह चरण पार गर्न सकेन। उनी भने उदयमान खेलाडी घोषित हुँदै उमेर समूहको राष्ट्रिय टोलीसम्म पुगे।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म
अर्जुन कुमालले सन् २०१९ मा थाइल्यान्डमा भएको यू१६ इस्टर्न रिजन प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा सहजै स्थान बनाए। प्रतियोगितामा म्यानमार र मलेसियाविरुद्ध मात्र मौका पाएका उनले दुई खेलमा ६५ बल खेलेर कुल ४२ रन बनाए। त्यस बेला नेपालले उपाधि नै जितेको थियो।
दोस्रो पटक नेपाल आउँदा उनले मेयर्स कप खेले। पहिलो खेलमा ८ रन बनाए। चोट लागेपछि बाँकी खेल खेल्न सकेनन्। “पहिलो खेलमा ओपनिङमा गएको थिएँ। तर स्लो विकेट थियो र रोकेर खेलेको थिएँ। जुन बल लुज थियो म उडाउँथे। राम्रो गर्न भने सकिनँ,” उनी सम्झिन्छन्।

यद्यपि, प्रशिक्षकले उनलाई ब्याटिङमा कुनै समस्या नरहेको प्रतिकृया दिएका थिए। तर फिटनेस र फिल्डिङमा ध्यान दिन सुझाए। पछिल्लो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा पनि उनले गण्डकी प्रदेशको टोलीमा स्थान बनाए। सुदूरपश्चिमविरुद्ध ६३ र कर्णालीविरुद्ध ४९ रन प्रहार गरेका उनी दुई विभागीय टोली एपीएफ र आर्मीविरुद्ध भने ठूलो स्कोरमा जान सकेनन्।
उनी भन्छन्, “मैले (विभागीय टोलीविरुद्ध) सिंगल डबल खेल्नुपर्थ्यो। छिटो खेल्ने प्रयास गर्दा इनिङ्स बिल्डअप गर्न सकिनँ। प्रधानमन्त्री कप खेलेपछि भने घरमा मात्रै होइन भारतीय एकेडेमीका साथीहरूले पनि खुबै बधाइ दिए।”
प्रधानमन्त्री कपमा गरेको त्यो प्रदर्शनले तत्कालीन प्रशिक्षक डेभ वाट्मोर पनि प्रभावित भए। नेपाल २०२१ मार्च १९ देखि २८ सम्म ओमानमा हुने अमेरिकासमेत सम्मिलित आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृंखलाको तयारीमा थियो। त्यसका लागि प्रशिक्षक वाट्मोरले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा अर्जुन पनि परे। उनीबाहेक कर्णालीका अनुज चनारा, सुदूरपश्चिमका खड्क बोहरा र मधेशका विवेक यादव पनि बन्द प्रशिक्षणमा परेका थिए। उनीहरू सबै प्रधानमन्त्री कपबाटै उदाएका युवा खेलाडी थिए।
राष्ट्रिय टोली घोषणा हुँदा अर्जुन परेनन्। तर प्रशिक्षक वाट्मोरले दिएको ‘टिप्स’ अर्जुनलाई अहिले पनि सम्झना छ। “डेभ वाट्मोर सर एकदमै राम्रो प्रशिक्षक हुनुहुन्थ्यो। ब्याटिङमा सुधार गर्न सिकाउनुभयो। उहाँले फिटनेसमा ध्यान दिन अनि क्विक ब्याटिङ गर्न भन्नुभयो,” उनी भन्छन्।
यू१९ टोलीमा छाडेको छाप
अर्जुन यू१९ टोलीमा पुगेको करिब १० महिना भइसकेको छ। उनी सचिन छाडेर भारतकै विराट कोहली र न्यूजिल्यान्डका केन विलियम्सका फ्यान भइसकेका छन्। कोहलीबाट ‘अट्याकिङ’ र केनबाट ‘डिफेन्स’ सिक्ने गरेको उनको भनाइ छ।
अर्जुनले गत वर्ष फेब्रुअरीमा यूएईमा आयोजना भएको आईसीसी यू१९ विश्वकप एशिया क्षेत्र छनोटबाट यू१९ राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उक्त प्रतियोगितामा सिंगापुरविरुद्ध ३७ रन बनाएर राम्रो शुरूआत गरे। तर यूएईविरुद्धको फाइनलमा भने जमेर खेल्न सकेनन् र ३ रनमा पेभेलियन फर्किए। यद्यपि, नेपाल शतप्रतिशत जित हासिल गर्दै आठौँ पटक विश्वकपमा छनोट हुन सफल भयो। अर्जुनले पाँच इनिङ्समा १८५ रन बनाए। कुवेतविरुद्ध ११२ बलमा १२ चौकासहित १०८ रनको शतकीय इनिङ्स खेलेका थिए।
गत अक्टोबरमा मलेसियामा आयोजना भएको यू१९ एसीसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्त्वपूर्ण इनिङ्स खेलेका थिए। पहिलो खेलमा इरानविरुद्ध गोल्डेन डकआउट भएका उनले दोस्रो खेलबाट लयमा फर्किए। बहराइनविरुद्धको खेलमा अविजित रहँदै ३२ रन बनाए।
त्यसपछि साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार गरे। कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै इनिङ्समा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान उनकै नाममा रह्यो। त्यसअघि, कुशल मल्लले चीनमा आयोजना भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ५० बलमा १३७ रन प्रहार गर्दै सर्वाधिक रनको कीर्तिमान बनाएका थिए।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नचलेका अर्जुनले फाइनलमा यूएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स खेले। उनी यू१९ टोलीबाट दुई शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत हुन्। तर यू१९ एशिया कपमा भने नेपाली टोलीले त्यो लय समात्न सकेन। भारत, पाकिस्तान र अफगानिस्तानजस्ता टेस्ट मान्यता प्राप्त देशसँग भएको खेलमा नेपाल जितविहिन हुँदै बाहिरियो। यद्यपि, अर्जुनको प्रदर्शन अब्बल रह्यो।
भारतविरुद्ध ७ रनमा आउट भएका उनले पाकिस्तानविरुद्ध २१ रन बनाए। अफगानिस्तानविरुद्ध भने उनी शतक बनाउन चुके। ओपनिङमा उत्रिएका उनी ४१ ओभरको पहिलो बलसम्म क्रिजमा टिके। उनले १०८ बलमा १३ चौकासहित ९१ रनको इनिङ्स खेलेका थिए। तर अर्को किनारबाट कुनै पनि ब्याटरले साथ नदिँदा नेपालले ठूलो स्कोर बनाउन सकेन र हारको सामना गर्यो।

नेपाली यू१९ टोलीका मुख्य प्रशिक्षक जगत टमाटा यू१६ टोलीदेखि नै अर्जुनको प्रदर्शन लोभलाग्दो रहेको बताउँछन्। लगातार राम्रो प्रदर्शन गर्दै आएको कारण उनले केही वर्षमै राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने सम्भावना रहेको टमाटाको भनाइ छ। “सानोदेखि हेरिरहेको छु, जुन किसिमको उसले प्रदर्शन गरिरहेको छ त्यो एकदमै राम्रो छ। उसले हरेक पटक आफूलाई प्रमाणित गरिरहेको छ। यस्तै खेलिरह्यो भने तीन चार वर्षमा राष्ट्रिय टोलीमा डेब्यू गर्न सक्छ,” दक्षिण अफ्रिका जानुअघि उनले उकालोसँग भने।
पाँच वर्षदेखि अर्जुनको ब्याटिङ गर्ने शैली परिवर्तन भएको छैन। ‘क्लासिक’ ब्याटिङ गर्ने उनी क्रिजमा जतिसक्दो बढी समय बिताउने प्रयास गर्छन्। टमाटा पनि उनको यो पक्ष बलियो रहेको बताउँछन्। उनलाई ‘दिनभर रन ननिकाल, विकेटमा स्टे गर’ भन्यो भने त्यही रोलमा खेल्न सक्ने खुबी रहेको टमाटाको भनाइ छ।
आफूले यस्तो ब्याटर कमै देखेको कारण अर्जुनलाई नेपाली क्रिकेटको भविष्यका रूपमा लिएको टमाटा बताउँछन्। सट प्रहार गर्ने शैली पनि पूर्वकप्तान पारस खड्काको झल्को दिने खालको रहेको उनको भनाइ छ। “डोमेस्टिकमा अर्जुनजस्तो लिफ्ट गर्ने ब्याटर मैले देखेको छैन। पारससँग अहिले तुलना नगरौँ तर पछि अझ राम्रो गर्न सक्ने क्षमता छ। लाग्छ उनकै लागि नेपाल छिट्टै टेस्ट नेसन्स हुनुपर्छ,” टमाटा भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
