कुनै समय पूर्वाञ्चल विकासक्षेत्रले लगातार चार वर्ष राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेर इतिहास बनाएको थियो। पूर्वाञ्चलकै भूभाग समेटिएको कोशी प्रदेश यो वर्ष पीएम कपमा जितविहीन हुनबाट मात्र जोगिएको छ।
काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेलेका नौमध्ये कोशी प्रदेशले सबै खेल खेलिसक्दा अन्तिम एउटामा जित हासिल गरेको छ। अंकतालिकाको नवौँ स्थानमा रहेको लुम्बिनी प्रदेशलाई मंगलबार १६ रनले पराजित गर्दै कोशीले राष्ट्रिय प्रतियोगितामा पहिलोपटक जितविहीन हुने खराब कीर्तिमानबाट जोगिएको छ। यद्यपि यो जितले उसलाई १० टिम सम्मिलित प्रतियोगितामा पुछारबाट माथि उकाल्न सकेन।
आफ्नो टोलीको प्रदर्शनबाट कप्तान अंकित सुवेदी खुशी छैनन्। “हाम्रो लेभल यो हुँदै होइन। पहिलाको प्रधानमन्त्री कप राम्रै भएको थियो। ४ खेलमा एक मात्रै जित हासिल गरे पनि पफर्मेन्स दिएर गएका थियौँ,” कोशी प्रदेश क्रिकेट टोलीका कप्तान अंकितले उकालोसँग भने।
उनले भनेझैँ कोशी प्रदेशको स्तर अहिलेको जस्तो फितलो कहिल्यै थिएन। करिब दुई वर्षअगाडि भएको प्रधानमन्त्री कपमा कोशी (तत्कालीन प्रदेश १)ले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वमा रहेको र इशान पाण्डे, पृथु बास्कोटा, सूर्य तामाङ, रामनरेश गिरी जस्ता खेलाडी रहेको बागमतीविरुद्ध ३०४ रन बनाएको थियो। जसमा अंकित सुवेदीले शतक र सिद्धान्त लोहनीले अर्धशतक प्रहार गरेका थिए। यो खेलमा कोशी ६९ रनले विजयी भएको थियो।
त्यति बेला बलियो मानिएको लुम्बिनी प्रदेशविरुद्ध पनि २५१ रन बनाएर आफ्नो क्षमता प्रस्तुत गरेको थियो। तर २९१ रनको लक्ष्य भेटाउन सकेन। राष्ट्रिय खेलाडीले भरिपूर्ण टोलीलाई जुनसुकै बेला ‘डोमिनेट’ गर्न सक्ने छवि बनाएको कोशी प्रदेशले यसपटक भने बिर्सनलायक प्रदर्शन गरेको छ।
यसपटक ब्याटिङ, बलिङ र फिल्डिङ तीन पक्षमा नै स्थिर प्रदर्शन गर्न नसकेको कप्तान अंकित बताउँछन्। “फिल्डिङमा हामी कमजोर देखिएका छौँ। एकै म्याचमा ६/७ वटा क्याच छाडिरहेका छौँ। बलिङमा पनि एकदुई ओभर मात्र राम्रो गर्छौं। ब्याटिङमा ३०/४० रन हुन्छ, त्यसपछि कमजोर हुँदै जान्छौँ,” उनी भन्छन्।
बिनातयारी सिधै प्रतिस्पर्धा
राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा विभागीय टोलीहरू बलियो मानिन्छन्। ती टोलीमा राष्ट्रिय खेलाडी त छन् नै बेन्च र ‘ब्याक अप टिम’मा पनि राष्ट्रिय टोली वा उमेर समूहमा खेलिसकेका खेलाडी छन्। यस्ता टोलीविरुद्ध प्रतिस्पर्धा गर्न कोशी क्रिकेट टोली तयारीबिना नै आएको थियो।
कोशी प्रादेशिक क्रिकेट संघले सुनसरीको भोक्राहास्थित डा. खालिद आजाद खेल मैदानमा पुस १९ गतेदेखि २५ गतेसम्म एक साता अन्तर जिल्ला क्रिकेट प्रतियोगिता गराएर खेलाडी छनोट गरेको थियो। प्रतियोगिता सकिएको दिन पुस २५ गते नै अंकितको कप्तानीमा चार वैकल्पिकसहित १८ सदस्सीय टोली घोषणा गरिएको थियो। उक्त टोली बन्द प्रशिक्षणबिना नै सिधै प्रधानमन्त्री कप खेल्न काठमाडौँ आएको थियो।
खेलाडी छनोट समितिले बन्द कोठामा निर्णय गरेर ‘राम्रालाई भन्दा हाम्रालाई’ टोलीमा राखेको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भएको थियो। यद्यपि छनोट समिति सदस्य तथा टिम म्यानेजर सुरेश गुरागाईं आफूहरूले पक्षपात नगरी उत्कृष्ट खेलाडी छनोट गरेर ल्याएको तर खेलाडीले क्षमताअनुसार प्रदर्शन गर्न नसकेको बताउँछन्।
“हामीले (खेलाडीको) स्कोर हेरेर बेस्ट टिम नै ल्याएको हो। केटाहरूले यहाँ राम्रो प्रदर्शन गर्न सकेन। हाम्रो लागि ब्याड डेज (खराब दिनहरू) नै भयो भनै न!” गुरागाईं भन्छन्।
कोशी प्रदेश पहिलो खेलमा मधेशसँग ७, दोस्रोमा विभागीय टोली एपीएफसँग ६, तेस्रोमा पुलिससँग ७, चौँथोमा आर्मीसँग ९ विकेट र पाचौँ खेलमा बागमतीसँग ६४ रनले पराजित भयो। छैटौँ खेलमा त सन् २०१९ मा एपीएफले यसै प्रतियोगितामा बनाएको खराब कीर्तिमान (पुलिसविरुद्ध ४१ रनमा अलआउट) लाई पनि उछिन्यो। गण्डकीले दिएको १६८ रनको लक्ष्य पछ्याएको कोशी १५.२ ओभर खेल्दै २५ रनमा अलआउट भयो। त्यसपछि कर्णालीसँग ६ विकेट र सुदूरपश्चिमसँग ८ विकेटले पराजित भयो। अन्तिम खेलमा विजय हासिल गरेपछि अंकतालिकामा २ अंक चढाउन सफल भएको छ।
प्रादेशिक क्रिकेटमा कर्णालीलाई कमजोर मानिन्थ्यो। सन् २०१८ देखि पीएम कपमा भाग लिएको कर्णाली शुरूका दुई संस्करणमा जितविहीन भएको थियो। तर यसपटक आठ खेल खेल्दा तीन वटामा जित हासिल गर्दै ६ अंक जोडेको छ।
कोशीका खेलाडीको व्यक्तिगत प्रदर्शन पनि एकाधको बाहेक राम्रो छैन। झापाका मध्यक्रमका ब्याटर सुजन थपलियाले नौ इनिङ्समा एक शतक र दुई अर्धशतकसहित २६२ रन बनाएका छन्। झापाकै कप्तान अंकितले नौ इनिङ्स नै खेल्दै एक अर्धशतकसहित २४० रन बनाएका छन्। उनीबाहेक १३७ रन बनाएका फिर्दाेस खान, ११ विकेट लिएका अभ्यास तिमिल्सिना र ९ विकेट लिएका कमल खत्रीको प्रदर्शन मात्र ठीकठाक रह्यो।
कोशीका मुख्य प्रशिक्षक पुष्प थापा शारीरिक र मानसिक रूपमा खेलाडी बलियो नदेखिएको कारण राम्रो नतिजा नआएको बताउँछन्। “टोली त सबैभन्दा बेस्ट नै आएको छ। कम्बिनेसन चाहिएको थियो तर क्याम्प नै भएन। अलिकति उनीहरू फिजिकली र मेन्टली टफ हुन जरुरी देखिन्छ,” उनी भन्छन्।
त्यो पूर्वाञ्चल, यो कोशी
सन् २००० को दशकतिर फर्केर हेर्ने हो भने तत्कालीन पूर्वाञ्चल विकासक्षेत्रले, उमेर समूहको होस् या सिनियर राष्ट्रिय टोली, वर्चस्व जमाएको थियो। मेहबुब आलम, दीपेन्द्र चौधरी, पारस लुनिया, राजकुमार प्रधान, लाक्पा लामा, युनिल श्रेष्ठ, मञ्जित श्रेष्ठ, मोनिक श्रेष्ठ, मनोज कटवाल, सन्दीप श्रेष्ठ, यशवन्त सुवेदी जस्ता खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। यीमध्ये मेहबुब, पारस, दीपेन्द्र र सन्दीप सप्तरी (हाल मधेश प्रदेश)का थिए।
पूर्वाञ्चलले राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको ह्याट्रिकसहित लगातार चार पटक जितेको थियो। २०५८ देखि २०६१ सालसम्म भएका प्रतियोगितामा पूर्वाञ्चल लगातार विजयी भएको थियो। त्यतिबेला युनिल, दीपेन्द्र, यशवन्त, लाक्पा, राजकुमार, पारस, मञ्जित, मनोज, सन्नी पुनलगायत खेलाडी पूर्वाञ्चलबाट खेल्थे। तर अहिले कोशीका खेलाडीले त्यो स्तरको प्रदर्शन गर्न नसकेको तत्कालीन पूर्वाञ्चल र राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा राष्ट्रिय टोली छनोट समिति संयोजक दीपेन्द्र चौधरी बताउँछन्।
अहिले पुलिस क्लबबाट खेलिरहेका ललितनारायण राजवंशीले प्रदेशको टिम छाडिसकेका छन्। उता सुर्खेत घर भएर विराटनगरबाट खेलिरहेका दीपेश कँडेल यू१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा छन्। राष्ट्रिय टोलीबाट खेलिसकेका सिद्धान्त लोहनीले भने चोटका कारण छनोट प्रतियोगिता खेल्न नसकेपछि कोशीको टोलीमा नै परेनन्। पूर्वखेलाडी दीपेन्द्र भन्छन्, “त्यस बेला हामी भारतमा पनि क्रिकेट खेल्न जान्थ्यौँ। पूर्णिया, कटिहार, जोगबनीतिर गएर खेल्थ्यौँ। अहिले त्यस्तो क्रिकेट कल्चर देखिएको छैन।”
उति बेला ५-६ वटा क्लबहरू लगातार क्रिकेट खेल्ने गर्दा खेलाडी पनि व्यस्त हुने दीपेन्द्रको भनाइ छ। धरान, विराटनगर, झापा, सिरहातिर प्रतियोगिता हुन्थ्यो। प्रतियोगिताहरू नहुँदा नै खेलाडीले आफूलाई विकास गर्न नसकेको उनले बताए। “कुनै पनि राम्रो टिम एउटा समयमा पुगेपछि सकिन्छ नै, तर यस्तो नतिजा ल्याएर (कोशी) सकिन्छ भन्ने सोचेको थिइनँ,” दीपेन्द्र भन्छन्।
कोशीका प्रशिक्षक पुष्प आफैँले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा धेरै पटक स्थान बनाएका थिए। तर पछिल्लो समय ललित, सिद्धान्त र दीपेशबाहेक कोशीले राष्ट्रिय टोलीमा पुग्न सक्ने खेलाडी जन्माउन सकेकै छैन। पछिल्लो समय सिद्धान्त राष्ट्रिय टोलीमा छैनन् भने दीपेश उमेर समूहमा मात्र छन्।

पछिल्लो दशक कोशीको क्रिकेट स्तर खस्किनुमा बढीभन्दा बढी प्रतियोगिता आयोजना गर्न नसक्नु नै प्रमुख कारण रहेको पुष्प बताउँछन्। “त्यतिखेर हाम्रो वर्चश्व नै थियो। क्लब म्याचहरू धेरै हुन्थे। इन्डियाको रेल्वे टोलीहरू खेल्न आउँथे, पश्चिमको जनकपुर र बारा जिल्लाहरू आउँथे। प्रतियोगिता धेरै हुन्थे खेलाडी व्यस्त हुन्थे। तर प्रतियोगिता कम हुँदा कमजोर नतिजा आएको हुनसक्छ,” उनी भन्छन्।
कोशीले गत संस्करण (दुई वर्षअघि)को पीएम कप सिद्धान्त लोहनीको कप्तानीमा खेलेको थियो। समूह विभाजन गरेर खेलाइएको उक्त प्रतियोगिताको पहिलो खेलमा कोशी विभागीय टोली नेपाल पुलिस क्लबसँग ७ विकेटले पराजित भएको थियो। तर दोस्रो खेलमा राष्ट्रिय टोलीका खेलाडी रहेको बागमती प्रदेशलाई ६९ रनले पराजित गरेको थियो। यद्यपि मधेश र लुम्बिनीसँगको हारले कोशी सेमिफाइनल पुग्न सकेन।
यसपटक प्रधानमन्त्री कपको 'फर्म्याट' फेरियो। कप्तान फेरिए। सिद्धान्त चोटका कारण खेल्न सकेनन्। ‘म्याच विनर’ दीपेश उमेर समूहको टोलीसँग विश्वकप खेल्न दक्षिण अफ्रिका गए। जसले गर्दा कोशीमा ठूला प्रतियोगिताको अनुभव भएका खेलाडी कोही भएनन्।
तर राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि कोशीबाटै खेलिरहेका खेलाडी भने टिममा छन्। सन् २०१७ मा पीएम कमको पहिलो संस्करणमा सहभागिता जनाउँदा अंकितसँगै मिनास थापा, फिर्दोस अन्सारीलगायत खेलाडी थिए। ती खेलाडी अझै कोशी प्रदेशको टिममा छन्। तर अंकितबाहेक अन्य खेलाडीले प्रदर्शन तारिफयोग्य भएन।
स्थानीय क्रिकेट म्याटमा, छैन टर्फको अनुभव
छनोट प्रतियोगिता भएको सुनसरीको भोक्राहास्थित डा. खालिद आजाद खेल मैदानमा टर्फ पिच थियो। कोशीमा सुनसरीबाहेक विराटनगर र झापाको भद्रपुरमा मात्रै टर्फ पिच छ। टर्फ पिचमा खेलेको पर्याप्त अनुभव नहुँदा काठमाडौँ र भैरहवामा खेल्न खेलाडीलाई मुस्किल परेको कोशी प्रादेशिक क्रिकेट संघका सचिव टीकाराम पुरी बताउँछन्। प्रदेशसँग बजेट नहुँदा टर्फ पिच बनाउन नसकेको उनको भनाइ छ।
प्रतियोगितामा कोशी कमजोर देखिनुमा पर्याप्त लगानी नहुनु प्रमुख कारण भएको पुरी बताउँछन्। सुनसरीमा भएको छनोट प्रतियोगितामा चलेका ब्याट्सम्यान र बलर नै काठमाडौँ पठाए पनि टर्फ पिचमा खेल्न नसकेको उनको भनाइ छ। “त्यहाँ अन्तर्राष्ट्रिय लेभलको पिच छ। हामीले टर्फ पिचमा खेलाउने प्रयास पनि गर्यौँ। त्यसैले टर्फ पिचमा खेल्ने बानी नभएका खेलाडीले प्रदर्शन गर्न सकेनन्,” उनी भन्छन्।

अहिले कोशी प्रादेशिक क्रिकेट संघको मुख्य लक्ष्य मैदान बनाउनु नै रहेको उनी बताउँछन्। त्यसैले इलाम, मोरङ, सुनसरी र झापामा एकएक वटा मैदान बनाउनको लागि २१/२२ करोडको योजना बनाएर प्रदेश सरकारलाई पठाएको उनको भनाइ छ। “खेलाडी उत्पादन मात्रै गरेर के काम? मैदान छैन भने उनीहरूलाई कहाँ खेलाउने? त्यसैले हामीले मैदानलाई जोड दिएका छौँ। मैदान भयो भने माथिल्लो लेभलमा गएर पनि कोशीले चुनौती दिन सक्छ,” उनी भन्छन्।
यसका साथै टोलीमा परिवर्तन गर्नुपर्ने खाँचो रहेको पनि उनले बताए। पीएम कप एक दिवसीय क्रिकेट प्रतियोगिता र टी २० प्रतियोगिता खेलिरहेको टोलीमा एकै खेलाडी हुँदा प्रदर्शन प्रभावित भएको उनी बताउँछन्। त्यसैले लामो फर्म्याटमा खेलिरहेका बाहेक अन्य खेलाडीमा टिकेर खेल्नुपर्छ भन्ने सोच आफूले नदेखेको उनको भनाइ छ।
“प्रधानमन्त्री कपअगाडि टी२० फर्म्याटको केपी ओली कप भएको थियो। त्यस प्रतियोगितामा हामीले जिल्लाबाट बोलाएर पठाएका खेलाडीले राम्रै गर्यो,” उनी भन्छन्, “सबै जिल्लाले सेलेक्सन खेलाएर पठाएको टोली नै हो। तर पनि लामो फर्म्याटमा खेलाडीहरूको प्रदर्शन देखिएन। आएर डाङडुङ हान्ने जाने भइरहेको छ। त्यसैले दुई टोली बनाएर जानुपर्छ कि भन्ने लागेको छ।”
यो प्रतियोगिताको समापनसँगै सबै जिल्लाका अध्यक्षहरूलाई बोलाएर समीक्षा गर्ने र योजना बनाएर अगाडि बढ्ने उनले बताए।
टोली ‘रिफर्म’ गर्नुपर्छ : पूर्वप्रशिक्षक लामा
कोशीका पूर्वप्रशिक्षक लाक्पा लामा लगातार टोलीमा परिरहेका खेलाडीले लक्ष्य राष्ट्रिय टोलीमा पर्ने लक्ष्य नबनाउँदा समस्या भएको बताउँछन्। “नेपाली टोलीमा पर्छु भन्ने लक्ष्य बोकेर आयो भने राम्रो प्रदर्शन हुन्छ। मधेशकै उदाहरण हेर्दा पनि त्यो थाहा हुन्छ। उनीहरू पैसाको लागि होइन नेपाली टोलीमा पर्छु भन्ने लक्ष्य बोकेर हिँडेका छन्। त्यसैले विभाग छाडेका अनिल साह र पवन सर्राफको प्रदर्शन राम्रो छ,” उनी भन्छन्।
७/८ वर्षदेखि लगातार खेलिरहँदा पनि राष्ट्रिय टोलीमा पर्ने लक्ष्य नदेखिए त्यस्ता खेलाडीलाई विश्राम दिने ‘बोल्ड डिसिजन’ गर्नुपर्ने लामा बताउँछन्। फिटनेस कमजोर हुने र मैदानमा प्रदर्शन गर्न नसक्ने खेलाडीलाई आराम दिएर टिम ‘रिफर्म’ गर्नुपर्ने उनको भनाइ छ। “सिनियरलाई लगातार खेलाउनुभन्दा यू१६ का खेलाडीलाई मौका दिए यू१९ टोलीको लागि मोटिभेसन हुन्छ। प्रदर्शनमा पनि सुधार हुन्छ। टोलीमा स्थान मात्रै ओगटेर बस्ने हो भने नतिजा निराशाजनक नै आउँछ,” उनी भन्छन्।
उमेर समूहमा कोशी प्रदेशले राम्रो प्रदर्शन गरिरहेको छ। अहिले झापाले पनि जिल्लाको ‘ग्रास रुट’ क्रिकेट सुधार गर्न विभिन्न प्रतियोगिताहरू गरिरहेको छ। ती प्रतियोगिताले कोशी प्रदेशदेखि राष्ट्रिय टोलीसम्म पुग्ने प्रतिभा जन्माउनेमा आफू ढुक्क भएको झापा जिल्लाका सचिवसमेत रहेका लामा बताउँछन्। टोली छनोटमा प्रशिक्षकलाई अधिकार दिनुपर्ने पनि उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
