गर्मीमा सियाँलमा रमाउनु र जाडोमा पहारिलो घाममा उँग्न पाउनु। अनि जीवनमा फुर्सदिलो समय पाउनु, कस्तो अहोभाग्य!
'फोसा' एकताका सरसका लागि अति प्रिय वस्तु थियो। सानो छँदा बुबाले उसलाई सामान किन्न पठाउनुहुन्थ्यो। बानेश्वर (मैतीदेवी चोकको थोरै पूर्व हालको सेतो पुलनजिक) साइँला पसलेकहाँ दाल चामललगायत खत्र्याकखुत्रुक पाइन्थ्यो। थुम्कोबाट सानो ओरालो खुत्रुक्क झरेर सडक काट्नासाथ सो पसल पुगिन्थ्यो। तौली, मार्सी, थापा चिनियाँ आदि चामलको मूल्य केही तलमाथि भइरहन्थ्यो, तर सबैको मोल सरदर मोहर मानाझैँ पर्थ्यो। भान्साका अत्यावश्यक दाल, तेल, नुन, खुर्सानीलगायत सामग्री प्राय: त्यहीँ किन्ने गरिन्थ्यो।
केही सामान किन्दा पसले साहुले दुई दाना साना 'पिपलमेन्ट' (क्यान्डी) फोसा दिने गर्थे। त्यही फोसाको लोभले पनि बुबाले आफूलाई नै सामान किन्न लगाउनु भए हुन्थ्योजस्तो सरसलाई लागिरहन्थ्यो। फोसालाई आजका भारतीय या अंग्रेजी भाषामा के भनिँदो रहेछ भनेर इन्टरनेटको सहायता लिँदा खासै बलियो नतिजा दिन सकेनन्। यसरी हेर्दा फोसा नितान्त हाम्रै (खसभाषी या उपत्यका आसपासका नेपालीको) मौलिक अभ्यास र चलन पनि हुनसक्छ।
संयुक्त राष्ट्रसंघले ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक मान्छ। यद्यपि, नेसनल लाइब्रेरी अफ मेडिसिन (अमेरिका)को वेब पेजमा रहेको एक अध्ययन प्रतिवेदनले ६५–७४ उमेरलाई युवा ज्येष्ठ नागरिक, ७५–८४ लाई मध्यम ज्येष्ठ नागरिक तथा ८५ देखिएका लागि वरिष्ठ ज्येष्ठ नागरिक भनेर परिभाषा गरेको छ। कसैलाई आफू वृद्ध हुँदै गएको स्विकार्न मन नलाग्नु तथा विश्वमै मानिसको सरदर आयु बढ्दै जाँदा सरस अहिले युवा ज्येष्ठ नागरिकको कोटीमा पर्छ र पुराना ती दिनको स्मरण गर्छ।
आधा शताब्दीअघि सरसले पढेकै हो– जब पुग्यो साठी हातमा लाठी। साठी नाघ्नु वृद्ध हुनु या सहारा चाहिनु भन्ने ठहर त्यस उखानको हो, तर आजकाल रहनसहन, खानपिन वा स्वास्थ्य उपचारको समेत कारणले साठीमा लाठी बोक्ने थोरै छन्। यति हुँदाहुँदै पनि राष्ट्रसंघको परिभाषालाई मान्दै सरसले अहिले जिइरहेको जीवन अवधिलाई फोसै मान्दा हुन्छ।
जति नै फोसा भनिए पनि फोसाको किम्मत हुन्छ। सित्तैँमा प्राप्त गरेको भनिए पनि त्यसमा कतै न कतैबाट मूल्य जोडिएको हुन्छ। यस संसारमा कुनै पनि वस्तु नि:शुल्क हुनै सक्दैन। कसैले कसैलाई प्रभावमा राख्न केही चिज फोसा देलान् त, कसैले आत्मसन्तुष्टिका लागि। तरै पनि त्यसको मूल्य कहीँ कतै त तिरिएकै हुन्छ।
प्रकृतिले हामी सबैलाई र सरसलाई पनि समयको गणनाअनुसार बालक, युवा, ज्येष्ठ नागरिक बनायो। अरू थप विशेषण पनि थपिँदै जाला, आफ्नो प्रभावमा राखिराख्न चाहला, तर कुनै पनि जीवन फोसा त पक्कै होइनन्। जीवन जति नै दिनको होस्, यो त प्रकृतिको अनुपम उपहार हो। यहाँ फोसा केही छैन।
'बाह्रै मज्जा, बाह्रै मज्जा!' यो शब्द सुन्नासाथ सानोमा सरसको मुखमा पानी आइहाल्थ्यो। आजकालको चटपटे र बाह्रै मज्जाबीच खासै भिन्नता थिएन। खबर कागजको सानो टुक्रालाई घुमाएर सोली बनाई धेरै गोलफुकी (भुजिया/भुजा) मा चना बदाम, तारिएका पातला आलुका चक्का र मसलसहितको त्यो चुरुङ मुरुङ खाजा बेजोडको हुन्थ्यो। सायद त्यसमा बाह्र प्रकारका चिजबिज हुन्थे कि? त्यही कारण त्यसको नाम बाह्रै मज्जा थियो कि?
सरसका छोराछोरी हुर्केका छन्, बिहाबारी भएको छ। नातिनातिना पनि लगभग हुर्केका छन्। बुबा छोटो उमेरमै परलोक हुनुभए तापनि आमा ९० काटेर केही अघि बिदा हुनुभयो। सानैदेखि भाइबहिनी र परिवारको जिम्मेवारी लिएको सरसको अब खासै कुनै गह्रुँगो जिम्मेवारी छैन। सरस अब फुकाफाल छ। कुनै पनि गम्भीर जिम्मेवारी लिनु नपर्ने अवस्था नै मज्जाको अनन्तता होइन र!
पाँच दशकभन्दा बढी समय ९ देखि ५ नोकरीको हिसाबमा तथा पढाइ र राष्ट्रिय सेवा दल तालिमको लगायत अवधिमा दौडधुप गरेको सरसको जीवन अहिले वास्तवमै सरस छ। फुर्सदिलो हुनु पनि फोसा हुनु होइन र? फोसामै रहेकाले केही कोरकार, कतै हिँडडुल र साथीभाइसँगको उठबस र आफन्तहरूकहाँ निर्बाध गफिने मौका जुरेको छ। गर्मीमा सियाँलमा रमाउनु र जाडोमा पहारिलो घाममा उँग्न पाउनु। अनि जीवनमा फुर्सदिलो समय पाउनु, कस्तो अहोभाग्य!
उसो त सिंगो जीवन नै खुशीको खोजी हो। गाँस, बास र कपासको समस्या नहुँदा, फुर्सद र जिम्मेवारीविहीन भएपछि मान्छे नितान्त खुशीको खोज गर्दो रहेछ। सरस त्यसैको अभ्यासमा छ। उसलाई बोध भएको छ कि– खुशी र आनन्द अरूबाट प्राप्त गर्नेभन्दा पनि आफैँले खोज्ने हो। अन्य कुरा सामान्य रहँदा, व्यक्तिले जहाँसुकै आनन्द प्राप्त गर्न सम्भव छ। प्राकृतिक रूपमा हामीलाई प्राप्त अनेकन् सम्पदा देख्दा मात्रै पनि आनन्द मिल्छ।
भात खान बस्दा किसानले धानको बिउ सँगालेर राखेदेखि, ब्याडमा छरेको, आलीकान्ला बान्की पारेर खेत खनेर बाउसे गरी रोपेको, गोडेको, धान काटेको, चुटेको, सुकाएको र ढिकी वा मिलमा लगेर धानलाई चामलमा रूपान्तरण गरेको, किसानबाट व्यापारी हुँदै पसलबाट चामल किनेको, घरमा धोई पखाली चौलानी फाली कसौँडीमा सानो आँतमा भात पकाएको आदि सम्झँदै सरस जब मुखमा भात हाल्छ, ऊ पृथ्वीको माटोको सुगन्ध लिँदै मन्त्रमुग्ध हुन्छ। सरसलाई लाग्छ– खाना खाँदा खानामै रमाउनु, पढ्दा लेख्दा किताब कापीमै लट्ठिनु अर्थात् कुनै पनि काम गर्दा त्यसैमा दत्तचित्त हुनु आनन्द हो।
मान्छेहरू भन्छन्– प्राणीमा सर्वश्रेष्ठ मानिस नै हो। शायद अरू प्राणीले सर्वश्रेष्ठ को भन्ने फैसला गर्न सक्थे भने पक्कै तिनले आफ्नै प्राणीलाई सो ठहर गर्दा हुन्। खयर प्रकृतिले मानिसलाई जन्म दिएपछि हामीलाई केही जिम्मेवारी दिएको छ। समुदाय र जगत्प्रति हाम्रा केही भूमिका छन्। वृक्षारोपणजस्ता साना योगदान प्रकृतिलाई आवश्यक छन्। खाद्य, लत्ताकपडा वा अन्य सरसामग्रीको अनावश्यक दोहनबारे सचेतना आवश्यक छ। आफ्ना मौलिक कला, संस्कृति, संस्कार, रीतिरिवाज, चाडपर्वको जगेर्ना र कतिपय कुरीतिको खारेजी पनि हाम्रो जिम्मेवारी हो। सरस अचेल यसमा चिन्तन गर्दै छ।
फोसाको जीवन भन्दैमा त्यसै खेर फाल्नु पनि हुन्न। प्रकृतिले शरीर दिएको छ, आराम गर्न रात र कर्मठ बन्न समय पनि दिएकै छ। उमेरको उत्तरार्ध जति ढल्किन्छ, त्यति नै शरीर चलायमान गराइरहनुपर्छ भन्ने गुह्यज्ञान सरसले भेटेको छ। बिहान उठ्ने, नित्यकर्मपश्चात् एक घण्टा जति शरीर तात्ने गरी प्रकृतिमा हिँड्ने। भरिसक्य वादविवादमा नउल्झने। जति सकिन्छ, लेख पढ अध्ययनमा संलग्न रहने। बकमफुसे गफमा सरिक नै नहुने। सरसलाई परत्र छ छैन, थाहा छैन र चिन्ता पनि छैन।
खानाबारे 'थोडा खाना बनारस जाना' कथन सरसलाई सही लाग्छ। अहिले त इन्टरनेटबाटै फलानो खानामा के के पोषण तत्त्व पाइन्छन् भन्ने पत्ता लाग्छ। अतः आफ्नो शरीरको रोग र प्रकृति हेरी सन्तुलित खाना खान सहज छ। तर आम रूपमा चलेको दाल, भात तरकारी र अचार आफैँमा सन्तुलित भोजन हो। त्यसमा केही काँचो कचिलो सलाद नियमित होस्। तर भरिसक्य नुनिलो, गुलियो, पिरो र अमिलो अलि कम सेवन गर्ने। नियमित मनतातो पानी पिउने। पोसिलो र सन्तुलित भोजन खाने। आवश्यकता नपरी बजारको प्रचारमा परेर कुनै भिटामिन र सप्लिमेन्ट आवश्यक नपर्ला।
सरसको ठम्याइ छ कि मानिस मतलबी हुन्छ। त्यति हुँदाहुँदै पनि सीमान्तकृत अवस्थामा परेका व्यक्ति समुदायलाई जे सकेको सहयोग गर्ने, यसो गर्न सक्दा पनि धेरै हदसम्म 'मतलबीपना'बाट उन्मुक्ति मिल्न सक्छ। कम्तीमा उमेर ढल्कँदै जाँदा र जिम्मेवारी नभएको अवस्थामा बिस्तारै 'म र मेरा'बाट मुक्त हुँदै जाने। यो चिन्तनको कुरा रह्यो। अभ्यास एकदमै चुनौतीपूर्ण छ, तर त्यसका लागि नियमित चिन्तन त आवश्यक पर्छ नै।
कुनै जमानामा एक 'महापुरुष'ले आफ्ना सोह्रौँ पुस्तासम्मलाई पुग्ने जायजेथा जोडिदिएछन् रे! तैपनि सत्रौँ पुस्ताले के खाला भन्ने उनको चिन्ता थियो रे। धन सम्पत्ति थुपार्ने होडबाजी सर्वत्र छ। अतः यो अतिबाट मुक्त हुने प्रयास छ सरसको।
जीवनका मूलभूत आवश्यकता पूरा हुँदाका बखत जीवन जिउन सहज छ। नाच्ने, गाउने, व्यंग्य गर्ने, कसैको नक्कल गर्ने, जनावर चराचुरुंगीका आवाज निकाल्ने, चित्र वा मूर्ति बनाउने कुराले जीवनलाई यादगार बनाउँछ। समय सहजै बित्छ। आफूमा कुनै विशेष कला हुँदा अरू आफूतर्फ आकर्षित हुन्छन्।
सरसले एक दिन दुई वर्षकी सानी नानीले तिनको हजुरआमालाई कुदाएको देख्यो। सानीको कुदाइ देख्दा यस्तो लाग्यो कि ती ६ दशक नाघेकी तिनले सानी भेट्न जोड दिनु परेको थियो। नियमित शारीरिक अभ्यासको कमीले हामीलाई शिथिल बनाउँछ। हिँडडुल र क्रियाशीलताले पक्कै शरीरका अंगलाई मजबुत राख्छ। तर 'म यति वर्षको भएँ, बुढो भएँ' आदि भावना लाचारीपन हो। यस्तो भावनाले त उमेर नपुगी नै मान्छे बिरामी हुन्छ। निर्बल र निर्जीव हुन्छ।
विज्ञानले अनेक तत्त्वको कुरा गर्छ, तर हामीहरू पञ्चतत्त्वले हाम्रो शरीर बनेको मान्छौँ। अनेकन् जटिलताले युक्त शरीरमा रोग नलाग्ने भन्ने हुँदैन। अतः सरस भन्छ– पञ्चतत्त्वले बनेको यो शरीरमा जवानीमै समेत कैयौँ कठिनाइ आउँछन् भने उमेर ढल्केपछि त्यसमा बढोत्तरी हुनु स्वाभाविक हो। तर रोग लाग्दै विचलित हुनुहुँदैन। सिंगो जीवन संघर्ष हो भने शरीरमा रोग र पीडा थप संघर्षको समय हो।
कुन महासंयोगले मानवका रूपमा धर्तीमा जन्म लिइयो। घर परिवार र समुदायबाट सानैदेखि अनेक जटिलतासँग लड्न सिकियो (यद्यपि, हरेकका जटिलता फरक हुन्छन्)।
कठिनाइसँग भिडियो। परिवार, समाज र देशका लागि जाने बुझेको केही पक्कै गरियो। अब फोसाको जीवन बाँकी छ। त्यसलाई सबल, सक्षम, फलदायी र सशक्त बनाउने हो। सरसको निचोड छ, हरकोही अनेक रोगव्याधी र दुर्घटना छल्दै ठूलो संयोगले आजसम्म बाँचेको हो। अतः हामी सबैले त्यही ठान्दै जीवनलाई आनन्दपूर्ण जिउन प्रयास गर्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
