पर्वतमा स्याउ उत्पादनका लागि अनुकूल वातावरण भए पनि अहिलेसम्म कसैले चासो नदेखाएको कृषक शेरपुजाको भनाइ छ।
पर्वत– पर्वतमा पहिलोपटक व्यावसायिक रूपमा स्याउखेती शुरू गरिएको छ। जिल्लाको मोदी गाउँपालिका वडा नं ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ले गत वर्षदेखि व्यावसायिक रूपमा स्याउखेती शुरू गरेका हुन्।
स्थानीय फलाटे र एकगैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा १०० वटा बिरुवा लगाएर स्याउखेती शुरू गरेका हुन्। २८ वर्ष भारतीय सेनामा बिताएका शेरपुजाले अवकाशपछि गाउँमा खाली रहेको जग्गा सदुपयोग गर्ने उद्देश्यले स्याउखेती शुरू गरेको बताए।
शेरपुजाले युट्युब च्यानलबाट स्याउखेतीसम्बन्धी विभिन्न जानकारी लिएर एग्रो मनाङ प्रालि काठमाडौँसँगको समन्वयमा इटलीबाट चार फरक–फरक जातका १०० बिरुवा खरिद गरेर खेती शुरू गरेका हुन्। गत वर्षदेखि शुरू भएको स्याउखेतीमा अहिले ३०० वटा बिरुवा पुगिसकेका छन्। बिरुवा रोपेको पहिलो वर्ष नै झन्डै ५० किलोग्राम स्याउ उत्पादन भएको कृषक शेरपुजाले जानकारी दिए।
उनले समुद्री सतहबाट दुई हजारदेखि २२ सय मिटरको उचाइमा स्याउखेती गरेका हुन्। शुरूमा गाला, गोल्डेन, फुजी र रेडचिप गरी चार वटा जातका बिरुवा रोपेका थिए। मलखाद नमिलेका कारण २०/२५ वटा बिरुवा मरेको र पुन: भारतबाट एम सात र एमएन १११ जातका नयाँ बिरुवा ल्याएर रोपेको शेरपुजाले बताए।
पर्वतमा धेरै वर्ष पहिला कृषि अनुसन्धान केन्द्र लुम्लेबाट बिरुवा ल्याएर परीक्षण गर्दा फल्ने तर बिरुवा लामो समय नटिक्ने समस्या रहेको थियो। आफूले सामाजिक सञ्जाल र युट्युबमा थप अध्ययन गर्दै जाँदा यहाँको हावापानी र उचाइमा उपयुक्त हुने स्याउ इटलीमा पाइने बुझेपछि एग्रो मनाङ प्रालिमार्फत मगाएर बिरुवा रोपेको बताए।
शुरूमा परीक्षणका लागि लगाएको बिरुवाबाट पहिलो वर्षमै राम्रो उत्पादन भएपछि आफैँले बिरुवा कलमी गर्ने, बीउबाट नर्सरी बनाउने काममा लागेको बताए। यस वर्ष थप २०० बिरुवा रोप्ने योजना बनाएका शेरपुजाले आगामी वर्ष एक हजार ५०० बोट विस्तार गर्ने लक्ष्य राखेका छन्। एउटा बोटबाट कम्तीमा पाँच केजीसम्म उत्पादन लिन सकिन्छ। शेरपुजाले भविष्यमा तीन हजारसम्म बोट लगाउने योजना बनाएका छन्।
कोदो, मकै, आलु खेती हुने बारीमा पहिलोपटक आफूले स्याउका बिरुवा ल्याएर रोपेपछि गाउँलेले उनलाई जिस्क्याएको भए पनि पहिलो वर्षमै राम्रो फल लागेपछि अहिले छिमेकीसमेत स्याउखेतीतर्फ सकारात्मक बनेका छन्।
“पहिला गाउँलेले विश्वास नै मानेका थिएनन् जब बोट सारेको पहिलो वर्षमै स्याउ फल्न थाल्यो, त्यसपछि भने छिमेकीले पनि स्याऊ खेती गर्न उत्साहित बनेका छन्,” शेरपुजाले भने। शेरपुजाले आफ्नै नर्सरीमा तयार गरेका बिरुवा अन्य किसानलाई बिक्री गर्ने जानकारी दिए।
अहिले परीक्षणकै रूपमा रहेकाले अब फार्म नै खोलेर स्याउखेती विस्तार गर्ने तयारी शेरपुजाको रहेको छ। “कोदो मकै लगाउँदा खासै आम्दानी हुने थिएन, स्याउखेती लगाएपछि प्रशस्त आम्दानी हुने अपेक्षा गरेको छु,” उनले भने। शेरपुजाले अवकाश पछिको जीवन व्यावसायिक स्याउ उत्पादन र विस्तारमा बिताउने योजना रहेको समेत बताए।
स्याउ उत्पादनका लागि अनुकूल वातावरण भए पनि अहिलेसम्म कसैले चासो नदेखाएको उनको भनाइ छ। शेरपुजा र उनकी श्रीमतीले फार्ममा काम गर्दै आएका छन्। उनका एक छोरा अध्ययनका लागि अमेरिका र अर्का छोरा नेपालमै कम्प्युटर इन्जिनियर, छोरी भने अस्ट्रेलियामा छन्। शहरमा बस्न बागलुङ बजारमा सुविधासम्पन्न घर बनाएको भए पनि आफू भने गाउँमै बसेर व्यावसायिक स्याउखेती गर्ने योजना बनाएको उनले बताए।
गाउँमा रहेका बेरोजगार तथा जग्गा बाँझो राखेर बस्नेलाई समेत प्रेरणा मिलोस् र खाली जग्गा सदुपयोग गरी प्रशस्त आम्दानीसमेत गर्न सकून् भन्ने उद्देश्यले एक्लै भए पनि स्याउखेती शुरूआत गरेको उनको भनाइ छ। अर्को वर्षदेखि थप जग्गा भाडामा लिएर अझै स्याउखेती विस्तार गर्ने उनको योजना रहेको छ।
स्याउखेतीका लागि भनेर आफूले कुनै तालिम र सीप नसिकेको बताउँदै युट्यबबाटै आवश्यक जानकारी लिएर खेती गरेको उनले सुनाए। जिल्लामै पहिलोपटक खेती शुरू गरे पनि कुनै निकायबाट सहयोग नपाएको शेरपुजाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
