पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठीक लाग्यो। गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुने हुँदा बसाइँसराइ नगरेको बाबुराम बताउँछन्।
बागलुङ– वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गए। दिनप्रति दिन गाउँ सुनसान बन्दै छ। गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन्। घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन्। सेवासुविधाको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ सुनसान बन्न थालेको छ।
सुनसान बन्दै गएको गाउँमा स्थानीय बाबुराम पौडेल दम्पती भने व्यावसायिक मौरीपालनमा रमाइरहेका छन्। बसाइँसराइले उजाड बन्न थालेको गाउँमा व्यावसायिक बन्दै गएका पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठीक लाग्यो। अहिले उनीहरू धेरैका लागि प्रेरणाको स्रोत बने।
बाबुरामले तराईमा घडेरीसमेत जोडेका छन्। गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुने हुँदा बसाइँसराइ नगरेको बाबुराम बताउँछन्। उनको घरको बार्दली, कौसी, छानो र पिँढीभरि मौरीका घार छन्। आधुनिक प्रविधि अपनाएर मौरीपालनमा लागेका पौडेल दम्पतीले तरकारीसँगै सुन्तला खेती पनि गर्दै आएका छन्।
बाबुराम आफैँले आधुनिक मौरीको घार बनाउने हुँदा हरेक वर्ष हजारौँको खाली र मौरीसहितका घार बिक्री हुने गरेको छ। हातमा सीप र जाँगरले गर्दा सुनसान गाउँमा बाबुराम सफल उद्यमीका रूपमा चिनिन्छन्।
बाबुरामले बारीमा दुई वटा हाइटेक टनेल बनाएर मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन्। पाँच वर्षअगाडि लगाएका १०० बोट सुन्तलाले पनि अहिले उत्पादन दिन थालेका बाबुरामले बताए। मौरीपालनलाई मुख्य पेसा बनाएको भन्दै लोकल कुखुरा, दूध, घ्युका लागि भैँसीसमेत पालन गरेको उनको भनाइ छ।
गाउँमा थुप्रै छिमेकी धमाधम बसाइँसराइ गरे पनि यहाँ अवसर धेरै भएकाले गाउँ छोड्न नसकेको बाबुरामले बताए। दश वर्षअगाडि साथीभाइको लहलहैमा मलेसिया पुगेर २२ महिना दुःख गरेको सुनाउँदै संघर्ष गरे घरमै पनि प्रशस्त कमाइ गर्न सकिने उनको भनाइ छ।
घरमा बाउबाजेको पालादेखि दुई/चार घार मौरी पाल्दै आएको बताउँदै बाबुरामले अहिले आधुनिक तरिकाले व्यावसायिक रूपमा लागिएको जानकारी दिए।
“गाउँमा काठ जति पनि पाइन्छ, हातमा सीप भएकाले मौरीको घार आफैँ बनाउँछु । पहिले मुडे घारमा मौरी पाल्ने चलन थियो, अहिले सबै आधुनिक घारमा राखेका छौँ,” बाबुरामले भने, “विदेश २२ महिना बसेर आएपछि स्वदेशमै केही गरौँ भन्ने लागेर व्यावसायिक मौरीपालन शुरू गरेको हुँ। अहिले प्रशस्त आम्दानी भइरहेको छ।”
आफूले मौरीपालन शुरू गर्दा कुनै तालिम नलिएको बताउँदै बाबुरामले व्यवसाय शुरू गरेको धेरै वर्षपछि मौरी विकास केन्द्र गोदावरीबाट तालिम लिएको जानकारी दिए। झन्डै डेढ दशकदेखि मौरीपालन गर्दै आए पनि आठ वर्षअगाडि मात्रै फर्म दर्ता गरेर व्यवसायलाई व्यवस्थित गरेको उनको भनाइ छ।
पौडेलले हाल ४० घार मौरी पालेका छन्। गत वर्ष १०० घार मौरी रहेकामा केही बिक्री गरेको र २० घार बचेका उनको भनाइ छ। पोहोर साल धेरै घार मौरी अपरिचित रोगले मर्दा झन्डै पाँच लाख नोक्सानी बेहोर्नुपरेको बाबुराम बताउँछन्। पौडेल दम्पतीले मौरीपालनबाटै दुई छोरोछोरीलाई पोखरामा पढाउँदै छन्। छोरीले आइटी इन्जिनियर र छोराले कम्प्युटर विज्ञान पढिरहेका छन्।
पौडेलकी पत्नी मायादेवी बिहान सबेरै उठेदेखि साँझसम्म मौरीको हेरचार र बारीमा रहेका सुन्तला, टनेलमा गोडमेल र पानी लगाउने काम गर्छिन्। उनीहरूले आफ्नो जग्गा कतै पनि बाँझो राखेका छैनन्। बारीमा बाँझो जमिनमा लप्सी र फलफूलका बिरुवा लगाएका छन्। जमिनलाई उपयोग गर्ने मान्यताले सबै ठाउँमा विभिन्न प्रजातिका वनस्पतिका बिरुवा लगाइएको मायादेवीले बताइन्। गत वर्ष ४० घार मौरी बेचेकामा यस वर्ष भने कम भएको उनको भनाइ छ।
दुई सिजनमा मौरीको घारबाट मह निकाल्ने हुँदा आम्दानी पनि राम्रो हुने मायादेवीले बताइन्। उनीहरूले हरेक वर्ष दुई क्विन्टल मह बच्ने गरेका छन्। एक किलोलाई एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री हुँदा मिहिनेतको मूल्य पर्ने गरेको उनले सुनाए।
महको माग धेरै हुने भएकाले बजारको अभाव नभएको मायादेवीको अनुभव छ। यस वर्षदेखि सुन्तला उत्पादन हुन थालेपछि पहिलो पटकमा ७० हजार रुपैयाँ बढीको बिक्री भएको उनले जानकारी दिइन्। तरकारीबाट पनि बिस्तारै आम्दानी हुन थालेको भन्दै गाउँको माया र माटोप्रतिको सम्मानले गर्दा अन्त बसाइँ सर्न मनले नमान्ने उनले बताइन्।
गाउँमा सामान्य कृषि गर्नेले राज्यबाट पाउने अनुदान सहजै प्राप्त गरिरहेका भन्दै आफूहरूले निरन्तर यही काम गर्दै आए पनि सहयोग पाउन नसकेको बाबुरामले दुखेसो पोखे। टाढाबाठाले मात्रै अनुदान पाउने तर वास्तविक किसानले नपाउने उनको भनाइ छ।
“मलाई यहाँ भएको कुनै पनि बारी बाँझो राख्न मन लाग्दैन, गाउँमा हरेक दिन खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन्। मकै, गहुँ खेती गर्दैनौँ,” मायादेवीले भनिन्, “फलफूल र तरकारीखेती तथा मौरीपालनलाई निरन्तरता दिएका छौँ। मौरीले बारीबाट रस लिन्छन्। मौरी, बोटबिरुवा र माटोसँग खेल्न निकै आनन्द लाग्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
