लाजै लजाउने नाटकको मञ्चन नेपाली नेताहरूले पहिला पनि गरेकै हुन्, फरक यति मात्र हो कि प्रत्येक पटक त्यसको 'डिग्री' माथि जाँदैछ।
अढाई–तीन दशक अघिसम्म कलेज/क्याम्पसमा विशेषगरी भारतमा, एउटा कुप्रथाको अभ्यास थियो– ‘र्यागिंङ’। अहिले त त्यो ठ्याक्कै बन्द भयो, राम्रो भयो। ऊबेलाको एउटा घटनाचाहिँ अझै सम्झनामा छ। नयाँ सत्र शुरू भएको थियो, सिनियरहरूले ‘फ्रेसर’हरूको हुर्मत लिई नै रहेका थिए, विभिन्न स्वरूपमा, विभिन्न नाम दिएर। एउटा थियो 'द नेकेड रन'। एक जना सिनियरले अखबारको बीचको जोडिएको पातो दिँदै एउटा ‘असाइनमेन्ट’ दिए– सबै कपडा खोलेर क्याम्पसको चौरको एक चक्कर लाउनुपर्ने। बडो फसादको काम थियो। शुरूमा डराएजस्तो देखिएका ती फ्रेसरको अनुहारमा भने ‘ए, सारै सजिलो रहेछ’ भन्नेजस्तो आत्मविश्वास पो देखियो। 'स्टार्ट' भन्न साथै कुदी त हाले। हातमा भएको अखबारको पातोले अनुहार छोपेर नांगै एक चक्कर लगाई त हाले।
एउटा पाठचाहिँ सबैलाई भयो– लाज जोगाउनु छ भन्ने छोप्नुपर्नेचाहिँ के हो?
नेपाली राजनीतिका वर्तमान खेलाडीहरूलाई त्यही ‘फ्रेसर’लाई झैँ ‘असाइनमेन्ट’ दिए भने के गर्दा हुन्? शायद अखबारको पानालाई नै एकातिर हुर्याएर दौडिँदा हुन्, किनकि जोगाउन पर्ने लाज नै बाँकी राखेका छैनन् तिनले। आखिर तलदेखि माथिसम्म लुगा लाएरै पनि, टाई–सुटमै सजिए पनि, चिल्ला गाडीमा घुमे पनि लाज त उनको न छोपिएको छ, न उनीहरू स्वयंले लज्जाबोध गरेका छन्।
पछिल्ला केही दिन जुन किसिमको नाटक मञ्चन नेपाली राजनीतिकर्मीहरूले– विशेषतः शीर्ष भनाउँदाहरूले गरे, त्यो नयाँ त थिएन, तर जनतालाई एक पटक फेरि सम्झाइदिएकी उनीहरूसँग लाज भन्ने कुनै कुरा बाँकी छैन। यस्तो लाजै लजाउने नाटकको मञ्चन नेपाली नेताहरूले पहिला पनि गरेकै हुन्, फरक यति मात्र हो कि प्रत्येक पटक त्यसको 'डिग्री' माथि जाँदै छ।
राजनीतिमा सबै जायज हुन्छ भन्ने नै हो भने पनि न्यूनतम मान्यतालाई समेत तिलाञ्जलि दिएर अत्यन्त भद्दा नाटकको प्रदर्शन नेपाली नेताहरूबाट अब अपवाद होइन, सामान्य नै भइसकेझैँ लाग्छ।
कुरा गठबन्धन परिवर्तनको होइन, गठबन्धन त राजनीतिमा सामान्य विषय हो, विशेषगरी नेपालले अवलम्बन गरेको चुनाव–प्रणालीमा गठबन्धनबिना सरकारको परिकल्पना नै गर्न सकिन्न। संविधानले नै गठबन्धन सरकार बन्ने प्रक्रिया नै प्रस्टसँग भनी नै दिएको छ। तर गठबन्धनका पनि न्यूनतम मान्यता र नैतिकता त हुन्छन् नै।
अनि गठबन्धनभन्दा पनि माथि केही न केही राजनीतिक मूल्य र मान्यता पनि होलान्। राजनीतिका न्यूनतम संस्कार पनि हुन्छन्।
आफूलाई क्रान्तिकारी र 'डाइनमिक' भन्न रुचाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को 'डाइनामिज्म' यस्तो छ कि उनी सत्ता प्राप्तिका लागि आज लिएको अडान भोलि नै त्याग्न एक रत्ती पनि हिचकिचाउँदैनन्। त्यही कुरा उनले हालसालै फेरि पनि प्रमाणित गरे। एमालेलाई उपयोग गरेर १५ महिनाअघि सत्ता चढेका दाहाल पोहोर साल त्यही एमालेलाई लात हानेर नेपाली कांग्रेससँग अब गठबन्धन नतोड्ने वाचासहित हिँडेका थिए। अहिले कांग्रेसलाई लात हानेर फेरि त्यही एमालेसँग कुम जोड्न पुगेका छन्। यो सबै गर्नुमा न त कुनै नैतिक धरातल छ न त राजनीतिक नै।
कांग्रेससँगको माओवादी गठबन्धन देशकै लागि घातक भनेर नथाक्ने एमाले भने प्रचण्डसँग सरकारमा जान पाएको छैन, देशको मुहार यही गठबन्धनले फेर्छ भन्नेजस्ता बकम्फुसे कुरा गर्दै छ। एमाले अध्यक्ष केपी ओली कुनै बेला माधवकुमार नेपालको नाम लिएपछि मुख कुल्ला गर्नुपर्छ भन्थे, अस्ति तिनै नेपालको आवासमा गएर उनलाई फकाउँदै थिए। सत्ता गठबन्धन फेरिएपछि विचलित भएको कांग्रेस भने आफू सत्ता सारथि हुँदासम्म देशमा राम राज्य थियो, पाँच-सात दिनमै देश बरबाद भयो भन्ने रोइलो गर्दै छ।
भन्नुको अर्थ के हो भने एक अर्कालाई सत्तोसराप गर्नमा कुनै कसर बाँकी नराखेका नेताहरूको हात मिलाई र एकअर्काप्रतिको अनुराग प्रदर्शन अत्यन्त विद्रूप, घिनलाग्दो र भद्दा त छदै छ, 'धोका खाइयो' भनेर रोइलो गरिरहेकाहरूले पनि लाज ढाक्ने कुनै यत्न गरेका छैनन्।
आजका दिनमा सबै नेपाली दललाई आफू सत्तामा रहँदा सबै ठिक र आफू नरहँदा सबै बेठिक लाग्छ। उनीहरूलाई लाग्छ, जनताले मत हालेर दिएको पूर्णकालीन काम नै राजनीतिक जोड-घटाउका लागि हो।
राजनीतिज्ञहरू समाजका मानक, रोल मोडेल हुन् या होइनन् भन्ने कुरामा बहस हुन सक्छ, कुनै कालखण्डका एकाध नेताहरूले केही मानक स्थापित पनि गरे होलान्। तर सबै नेताहरू नै– वरिष्ठ, युवा, कनिष्ठ, नयाँ–पुराना, जो भन्नूस्– लज्जाविहीन र संस्कारहीन राजनीतिको पथमा लाग्छन् भने उनले कस्तो समाजको परिकल्पना गरेका होलान्। नेताहरू अक्सर भन्छन्, ‘राजनीति जोगी बन्नलाई गरिँदैन’ र त्यो भन्नुमा कुनै गलत पनि नहोला। तर सत्ता नै उनीहरूलाई जब सर्वोपरि हुन्छ र सत्ताका लागि लाज र शरम नै त्याग्न तयार हुन्छन् भने त्यो समाजको लागि कुनै राम्रो द्योतक भने होइन।
लाज त शारीरिक रूपमा नांगिनुले मात्र हुने होइन। कसैका अगाडि नांगै छु र नांगो भएको चिनिएको छु भन्ने मनोविज्ञानले हो लाज लाग्ने। त्यसैले त ती ‘फ्रेसर’ले नांगै भए पनि अनुहार छोपे, ताकि उनी अरूका अघि नचिनिऊन्। तर वास्तवमा उनलाई सबैले चिने पनि लाज लाग्नुपर्नेचाहिँ तिनलाई थियो, जसले उनलाई त्यो 'नेकेड रन' गर्न बाध्य पारे, किनकि त्यो अनुचित र अनैतिक काम थियो। आखिर लाजको मनोविज्ञान के पनि हो भने यो तब लाग्छ, जब अनुचित र अनैतिक काम गरिन्छ। त्यो महसुस पनि गरिन्छ। तर नेपाली राजनीतिकर्मीलाई किन लाज लाग्दैन भने उनीहरूलाई आफ्ना स्वार्थपूर्तिका लागि गर्ने कुनै पनि काम अनुचित र अनैतिक लाग्दैनन्।
नेपाली राजनीतिमा बडो सहजताका साथ प्रयोग हुने एउटा शब्द हो– 'बटम लाइन'। वर्षौंदेखि नेपाली दल र यिनका नेताहरू बटमलाइन ‘सेट’ गरेको गर्यै छन्, कहिले के विषयमा, कैले कुन मुद्दामा। बटम लाइनको यो निर्लज्ज रटाइमा उनीहरू 'बटम' भन्दा पनि यति तल खसिसकेका छन् कि यस्तो लाग्छ त्योभन्दा मुनि खस्ने अब ठाउँ नै छैन। जति नै तर्क वितर्क गरेर आफ्ना कुरा, क्रिया र राजनीतिक चाल स्थापित गर्न खोजे पनि, नेताहरूको लज्जाजनक स्खलन भएको कुरा केबाट प्रस्ट हुन्छ भने उनीहरूको न्यारेटिभमा जनता र जनसरोकारका मुद्दा नै छैनन्। जनता र जनसरोकारका मुद्दा वर्तमान नेपाली राजनीतिकर्मीले सम्बोधन होस् भन्ने हिसाबले उठान नै गर्दैनन्। ती त तिनका लागि सत्ता आरोहणका लागि भर्याङ मात्र भएका छन्।
त्यही भएर त टाई, सुट, दौरा, सुरुवाल, टोपीमा ठाँटिएर, चिल्ला गाडीमा चढेर नेताहरू 'नेकेड रन' गरी नै रहेका छन्– यस्तो लाग्छ छोप्नलाई उनीहरूसँग अब कुनै लाज बाँकी नै छैन।
लेखक द काठमान्डू पोस्टका पूर्वसम्पादक हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
