आमाको शरीरमा भएको थाइराइड हर्मोन बच्चा पेटमा हुँदा वा जन्मिने बेला बच्चामा जाने हुँदा करिब ९५ प्रतिशत शिशुलाई जन्मिनेबित्तिकै खासै लक्षण पनि देखिँदैन। उमेर बढ्दै गएपछि समस्या देखा पर्न थाल्छन्।
मानव शरीरमा हुने थाइराइड ग्रन्थिले थाइराइड हर्मोन निकाल्छ। नवजात शिशुमा यो हर्मोनको कमी हुँदा मस्तिष्कको विकासमा ठूलो असर पार्छ। यसकारण रोकथाम गर्न सकिने भइकन पनि संसारका धेरै देशमा स्थायी बौद्धिक अक्षमता गराउने पहिलो कारणमा जन्मजात हाइपोथायराइडिज्म पर्छ।
जन्मजात हाइपोथायराइडिज्म हुनुमा थाइराइड ग्रन्थिको अल्पविकास हुनु, ग्रन्थि अन्य ठाउँमा हुनु या ग्रन्थि नै नहुनु प्रमुख कारणमा पर्छन्। अन्य कारणमा थाइराइड ग्रन्थिले निकाल्ने हर्मोन उत्पादनमा कमी हुनु हो। हाम्रो देशमा आयोडिनयुक्त नुनको प्रयोग बढेसँगै आयोडिनको कमीले हुने समस्यामा भने कमी आएको देखिन्छ।
आमामा थाइराइडको समस्या देखिए बच्चामा पनि सो समस्या देखिन्छ। आमाको शरीरमा भएको थाइराइड हर्मोन बच्चा पेटमा हुँदा वा जन्मिने बेला बच्चामा जाने हुँदा करिब ९५ प्रतिशत शिशुलाई जन्मिनेबित्तिकै खासै लक्षण पनि देखिने गर्दैन। उमेर बढ्दै गएपछि समस्या देखा पर्न थाल्छन्। त्यसैले शुरूआती अवस्थामै पत्ता लगाउने एउटै उपाय शिशुको रगतमा थाइराइडको मात्रा जाँच्ने हो।
लक्षणहरू
टाउकोको आकार केही बढी हुने,
अगाडि र पछाडिपट्टिको तालु ठूलो अनि खुला हुने,
लामो समयसम्म जन्डिस देखिने,
बिस्तारै र थोरै रुने,
धेरैबेर सुत्ने,
खान मन नगर्ने,
सुस्त देखिने,
दूध खुवाउन गाह्रो हुने,
दूध सर्काउने,
जिब्रो ठूलो हुने भएर श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने अनि कहिलेकाहीँ श्वास नै बन्द हुने,
पेट ठूलो हुने, नाइटोमा हर्निया हुने, कब्जियत हुने, हातगोडा चिसो भइराख्ने, सुनिने,
जननेन्द्रिय सुनिने,
रगतमा हेमोग्लोबिनको मात्रा कम हुने,
मुटु र दिमागमा समस्या देखिने।
थाइराइडको समयमै पहिचान गरी उपचार शुरू नभएमा बच्चाको भौतिक तथा मानसिक विकासमा स्थायी रूपले कमी आउँछ।पछाडिको तालु पुरिँदैन, नाकको डाँडी थेप्चिनु, आँखी भौँ सुनिनु, मुख खुला भइराख्नु, ठूलो मोटो जिब्रो बाहिर निकाली राख्नु, दाँत ढिलो आउनु, घाटी छोटो हुनु, हात मोटो तथा औँलाहरू छोटो हुनु, अनुहार फुस्रो देखिनु,कपाल थोरै हुनु अनि सजिलै टुक्रा पर्नु, ढिलो हिँड्ने र बोल्ने हुनु, विकास क्रम ढिलो हुनु, उचाइ नबढ्नु, खाना राम्ररी नखाँदासमेत तौल अत्यधिक बढ्नु, सुस्त स्वभावको हुनुजस्ता समस्या देखिने गर्छन्।
विकसित देशहरूमा सबै नवजात शिशुलाई जन्मेको ४८ देखि ७२ घण्टामा रगतको स्क्रिनिङ गर्नुपर्ने अनिवार्यजस्तै नियम छ भने नेपालका प्राय: स्वास्थ्य संस्थामा त्यो व्यवस्था अहिलेलाई छैन। यस्तो अवस्थामा अवस्था हेरेर थाइराइड स्क्यान, भिडियो एक्स-रे तथा अन्य जाँच चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ।
अभिभावकले ध्यान दिनुपर्ने कुराहरू
थाइराइडले स्थायी रूपमा बौद्धिक अक्षमता गराउने तर समयमै पहिचान गर्न सके यस्तो समस्या हुनबाट जोगिन सकिन्छ।आमालाई थाइराइड भएको, औषधि सेवन गरिराखेको, रेडियसन थेरापी लिएको भए गर्भावस्थाका बेलादेखि नै निरन्तर चिकित्सकीय सल्लाहमा बसिराख्नुपर्छ। माथि उल्लेखित समस्या आए तुरुन्तै चिकित्सककहाँ गएर परीक्षण गराउनुपर्छ।
अन्तमा याद राखौँ,
समयमै थाइराइडको निदान तथा उपचार पाएका बालबालिकामा एकदम राम्रो सुधार भएको पाइएको छ। त्यसैले हामी सबै सजग बनौँ अनि आफ्नो र आफू वरपर त्यस्तो कुनै बच्चा भएको थाहा भएमा चिकित्सकसम्म जान सल्लाह दिएर भविष्यका जोसिला र कर्णधार पिँढीलाई बौद्धिक अक्षमता हुनबाट बचाइ मानवीय कर्तव्य पूरा गरौँ|
बालरोग विशेषज्ञ विक कान्तिबाल अस्पतालमा कार्यरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
