जसरी बासी माछा गन्हाउँछ र यसले स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ, त्यसरी नै बासी विचारले समाजलाई दुर्गन्धित र रोगी बनाउँछ।
दुई–अढाई दशक पहिलेजस्तो लाग्छ, कसैले एउटा कथा सुनाएका थिए। किनारातिर माछा पाइन छाडेपछि जापानी फिसिङ कम्पनीलाई समुद्रको धेरै भित्र (टाढा)सम्म माछा समात्न जानुपर्ने भो। माछा पारखी जापानीले धेरै घण्टा लगाएर आफ्नो टेबलसम्म आइपुगेको माछामा ताजापन नभएको गुनासो गर्न थाले। फिसिङ कम्पनीले माछा ओसार्ने डुंगामा नै ट्यांकी बनाएर माछालाई जिउँदै समातेर ल्याउन थाले, ताकि ताजापन रहिरहोस्।
सौखिन जापानीको चित्त अझै बुझेन। ताजापन नै नभएको गुनासो गरिरहे। फिसिङ कम्पनी जिउँदै माछा नै किनारासम्म ल्याइसक्दा पनि हराइरहेको ताजापनलाई कसरी कायम राख्ने भनेर केही समय रनभुल्लमा परे। र, पछि एउटा जुक्ति निकाले। माछा त त्यही डुंगामा भएको ट्यांकीमा ल्याउने, तर ल्याउने क्रममा त्यो ट्यांकीमा एउटा सानो सार्क माछा पनि राख्ने। त्यो जुक्ति लाएर ल्याएको माछामा अब पारखीको केही गुनासो रहेन। यस्तै कथा मैले हालै कतै फेरि पढेँ।
भयोचाहिँ के भने सार्क माछा ट्यांकीमा नहुँदा समुद्रबाट निकालिएका माछा खासै चलमल गर्दैन थिए। जसै सार्क राखियो, सार्कले एक प्रकारले समुद्रकै झैँ वातावरण सिर्जना गरिदियो, ट्यांकीभित्रका माछा खेद्न थाल्यो। बच्नलाई ट्यांकीका माछा यताउता भाग्ने भए, चलिरहने भए, यस क्रममा प्राकृतिक ताजापन रहिरहने भयो।
सार्क राख्नुभन्दा पहिला ट्यांकीमा माछा त जिउँदै थिए, तर तिनलाई त्यस भाँडाभित्र कुनै चुनौती थिएन। चुनौती नै नभएपछि चलमल नगरेका माछा जिउँदै भए पनि बासीजस्ता हुने, प्राकृतिक ताजापन नभएको या हराएको जस्तो हुने!
नेपालका क्रान्तिकारी भनाउँदादेखि अरू सबै राजनीतिक दल पनि पछिल्ला वर्षमा बासी र सुस्त हुँदै गएका हुन् किनभने सार्कजस्ता चुनौती तिनका वरपर छैनन्।
सबै दलमा नेता कोचाकोच भएर बसेका छन्– अंग्रेजीमा 'प्याक्ड लाइक सार्डिन्स' भनेझैँ। उनीहरूले गर्ने भनेको कहिलेकाहीँ अलिअलि चलमल मात्र हो। उनीहरू आफैँ न कुनै चुनौती महसुस गर्छन्, न उनीहरूलाई चुनौती महसुस गराउने सार्क नै छन्। चुनौतीबिनाको दल सुस्त हुने भई नै हाल्यो। अनि सुस्त समूहमा पैदा हुने विचार स्वतः बासी हुने भयो। बासी विचारले निम्त्याउने त जडता मात्र हो।
नेपाली दलहरूले आवधिक रूपमा गर्ने बैठक र त्यसमा गरिने बहसको 'कन्टेन्ट' नजिकबाट नियालेकालाई राम्ररी नै थाहा होला, अधिकांशले व्यक्त गर्ने विचार कस्ता हुन्छन् र तिनमा कति नयाँपन हुन्छ। या वर्षौंदेखि दलहरूले बनाइरहेका चुनावी घोषणापत्र आफैँमा कति पट्यारलाग्दा, बासी र सिर्जनाशीलताका हिसाबले कति दरिद्र छन्।
प्रजातान्त्रिक आन्दोलन गर्ने बेलामा नेपाली दल र नेताका अगाडि एक होइन, अनेक चुनौती थिए। उनीहरू त्योबेला संस्थापनको कोपभाजनमा कुनै बेला पनि पर्न सक्थे। त्यस्तो अवस्थाबाट बचेर जनतालाई प्रजातान्त्रिक मूल्य-मान्यताबारे अवगत गराउनु, चेतनशील बनाउनु आफैँमा एउटा ठूलो चुनौती थियो, जतिखेर वाक् स्वतन्त्रता र भेला हुन पाउने अधिकारमा बन्देज थियो। विचारको प्रवाह त्यो बेला विभिन्न तरिकाले गर्नुपर्थ्यो।
चुनौतीबीच प्रवाह गरिने ती विचारका लागि मन्थन चाहिन्थ्यो, अध्ययन चाहिन्थ्यो, त्यसले गर्दा ती विचारमा तीक्ष्णता हुन्थ्यो, ताजापन र गतिशीलता हुन्थ्यो। माओवादीले सशस्त्र संघर्ष शुरू गर्दा पनि विचारमा नयाँपन प्रवाह गर्ने प्रयास गरेकै हुन्, तब न युद्ध १० वर्ष टिकेन मात्र समाजमा रूपान्तरणकारी चेत जगाउन त्यसले एउटा जग बसाल्यो। भलै त्यसले चुकाउनुपरेको मूल्यको आ–आफ्नै विश्लेषण हुन सक्लान्।
मुख्य कुरा के भने पछिल्लो तीन– साढे तीन दशकमा दल र नेतामा वैचारिक स्खलन यति तीव्र गतिमा भएको छ कि अब आम रूपमा सबै दल र नेता विचारविहीन नै छन् भन्दा पनि फरक पर्दैन। यदि छ नै भनेर मान्ने हो भने पनि सारभूत रूपमा सबैको उस्तै विचार छ– ताजापन हराएको, बासी।
नेताले गर्ने सार्वजनिक भाषण होस् या तिनको संसद्मा प्रस्तुति– अधिकांशले कि त अरूको आलोचना गर्छन् या कुनै विषयमा प्रतिक्रिया दिन्छन्। समग्रमा भन्दा नेपाली नेता प्रतिक्रियात्मक छन्, उनीहरूमा सिर्जनशीलता अभाव छ। कोही–कोही भाषण मीठा गर्लान्, तर शैली मिलाएर बोल्नु नै नयाँ, मौलिक र समाज तथा राजनीतिलाई लाभदायक हुने विचार हुनुचाहिँ होइन। अधिकांशले जे भनिरहेका छन्, ती प्रतिक्रियामा भनिरहेका छन्, कसैलाई उत्तरदायी बनाउन भनिरहेका छैनन्।
प्रस्ट के हुन जरुरी छ भने, यो सन्दर्भ ती दलहरूबारे हो, जसले कुनै समयमा विचार बोक्ने गर्थे या बोकेको दावा गर्ने गर्थे; जसको विचार नै छैन र छ भने पनि प्रतिगामी छ भने तिनको कुरा गर्न जरुरी नै छैन। विचारहीनताको यो अवस्था सिर्जना हुनुको एउटा मात्र कारण के हो भने उनीहरू एउटा गज्जब को 'कम्फर्ट जोन'मा छन्, न उनीहरूलाई कसैले चुनौती पैदा गरेको छ, न उनीहरू आफैँले कुनै चुनौती नै महसुस गरेका छन्। वर्तमान राजनीतिक दल र यसका खेलाडीले बुझ्ने र महसुस गर्ने चुनौती भनेको मात्र सत्ता–संघर्ष हो।
डरलाग्दो पाटोचाहिँ के हो भने, यस्तो अवस्थाले समाजमा बासी विचारका लागि स्थान बनाउँछ। यो भन्नुको अर्थ के पनि हो भने यी दल र नेताले नेपाली जनता र समाजप्रति भयानक अपकार गरिरहेका छन्। किनभने आ-आफ्नै बासी विचारको 'इको चेम्बर'मा रमाइरहेका दल र नेताले जनसरोकारका मुद्दामा, विहंगम आर्थिक या सामाजिक विषयमा कुनै रचनात्मक योगदान नै गरिरहेका छैनन्। के हुनु पर्छ र गर्नुपर्छ भनिरहेका छन् तर कसरी गर्नुपर्छ भन्दैनन् या भन्न सक्दैनन्, किनकि उनीहरूसँग न कुनै अवधारणा छ, न कुनै योजना। बाँकी केही छ भने त्यही भुत्तो भइसकेको बासी विचार।
नेपाली राजनीतिको ट्यांकीमा विभिन्न आकार प्रकारका माछा त छन् तर सुस्त छन्। तिनमा गतिशीलताको अभाव छ, उनीहरूको विचारमा बासीपन छ, उनीहरूको काम गराइमा स्फूर्ति छैन।
जसरी बासी माछा गन्हाउँछ र यसले स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ, त्यसरी नै बासी विचारले समाजलाई दुर्गन्धित र रोगी बनाउँछ। नेपाली दल र नेताले सामाजिक र जनसरोकारका विषयमा गहन मन्थन गर्न छाडेर र नवीन अवधारणामा काम नगरेर पुरानो र मैलो आहालमै डुबिरहने हो भने उनीहरू पनि झनै बासी भएर जानेछन्, अरुचिकर भएर जानेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
