यू-१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको लगातार दोस्रो जित

शुक्रबार सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई १०० रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित निकालेको छ।

काठमाडौँ– सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। शुक्रबार सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई १०० रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित निकालेको हो।

सुदूरपश्चिमले दिएको १८१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २१ ओभरमा अलआउट हुँदै ८० रन मात्रै बनायो। लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक २२ रन बनाए। उनले २३ बलमा ४ चौका प्रहार गरेका थिए।

उनलाई अर्को एन्डबाट अन्य खेलाडीले साथ दिन सकेनन्। कप्तान देव खनाल १३ र मनोज मगर ११ रनमा आउट हुँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन छुन सकेन।

लुम्बिनीलाई कम रनमा रोक्न सुदूरपश्चिमका लागि आकाश चन्दले ३ ओभर बलिङ गर्दै १३ रन खर्चिएर ५ विकेट लिए। हेमन्त धामीले ३ विकेट लिँदा कैलाश ऐरको नाममा १ विकेट रह्यो।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.५ ओभरमा अलआउट हुँदै १८० रन बनाएको थियो। सुदूरपश्चिमका लागि दीपक बोहोराले अर्धशतकीय इनिङ्स खेले। उनले ७३ बलमा ८ चौकासहित ५४ रन बनाए।

गजेन्द्र बोहोरा १९, दीपक बोहोर १७, विशाल ऐर १६ र हेमन्त धामी १५ रनमा आउट भए। लुम्बिनीका लागि विशालविक्रम केसीले ६ ओभर बलिङ गर्दै १ मेडनसहित २० रन खर्चिएर ३ विकेट लिए। नर सार्की र निर्मल गुरुङले समान २/२ विकेट लिए। रमेश कुर्मी र दुर्गेश गुप्ताको नाममा १/१ विकेट रह्यो।

सुदूरपश्चिम लगातार दोस्रो खेलमा जित निकालेर ४ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यता, लुम्बिनी आफ्नो पहिलो खेल हारका साथ शुरू गरेको छ। लुम्बिनी अंकविहीन छैठौं स्थानमा छ।