प्रतीकको शतकमा बागमतीको जित

शुक्रबार सम्पन्न खेलमा बागमतीले प्रदेश-१ लाई ७२ रनले पराजित गरेको छ।

काठमाडौँ– प्रतीक श्रेष्ठको अविजित १४२ रन प्रेरित बागमती प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार सम्पन्न खेलमा बागमतीले प्रदेश-१ लाई ७२ रनले पराजित गरेको हो।

बागमतीले दिएको २७० रनको लक्ष्य पछ्याएको प्रदेश-१ ले ४९.१ ओभरमा अलआउट हुँदै १९७ रन मात्र बनाउन सक्यो। प्रदेश-१ का लागि कप्तान दीपेश कडेँलले ६६ बलमा ४७ रन बनाए। उनले ६६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

स्टेन रिजालले ३५, शुभन गहतराजले २६, फैजल रहमानले २४ र विपिन महतोले २१ रन बनाए। बागमतीका लागि सक्रिय कार्कीले १० ओभर बलिङ गर्दै १ मिडेनसहित ३८ रन खर्चिएर ३ विकेट लिए।
यता, ओमकार यादवले २ विकेट लिए। अभिशेक कोइराला, अर्थब पौड्याल र अहमद राजाको नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २६९ रन बनाएको थियो। बागमतीका लागि प्रतिक श्रेष्ठले अविजित रहँदै सर्वाधिक १४२ रन बनाएका थिए। उनले १०५ बलमा १० चौका र ९ छक्का प्रहार गरे।

कप्तान अशोक पौडेलले २५ रन जोड्दा सक्षम बस्ताकोटी २३ रन बनाएर रन आउट भए। प्रदेश-१ का लागि कप्तान दिपेश कँडेल र विपिन महतोले समान २/२ विकेट लिए। अभिनय राजवंशी, आशिष मगर र सोनु अन्सारीको नाममा १/१ विकेट रह्यो।

अपराजित बागमती ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दोस्रो खेलमा पहिलो हार व्यहोरेको प्रदेश-१ दुई अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ।

शुक्रबार नै सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १०० रनले हराएको थियो। सुदूरपश्चिम नेट रननेटको आधारमा शीर्ष स्थानमा छ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीहरुकोबीचमा उपाधिका लागि खेल हुनेछ।