'सत्ताका खेलाडी' महाथीर मोहम्मदको पराजयले बदलियो मलेसियाको राजनीति

महाथीर मोहम्मद सन् १९८१ देखि २००३ सम्म लगातार २२ वर्षसम्म मलेसियाका प्रधानमन्त्री बनेका थिए। २००३ मा राजनीतिबाट अवकाश लिएका उनी पुनः राजनीतिमा फर्किए पनि पछिल्लो चुनावमा पराजित भएका छन्।

महाथीर मोहम्मद मलेसियाली राजनीतिका एक प्रभावशाली नेता हुन्, जसले दशकौँसम्म मलेसियाको राजनीतिमा एकछत्र नेतृत्व गरे। उनलाई 'एशियाका स्थायी राजनीतिज्ञ'समेत मानिन्छ। मलेसियामा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेताको रूपमा समेत उनी चिनिन्छन्।

सन् १९८० र ९० को दशकमा मलेसियामा भएको आर्थिक समृद्धि र विकासको श्रेय उनैलाई जान्छ। उनकै नेतृत्वमा मलेसिया आर्थिक रूपमा एशियाकै सम्पन्न मुलुकमध्येको एक बन्न सफल भएको हो। मलेसियामा तीव्र शहरीकरण र आर्थिक समृद्धि पनि उनकै नेतृत्वमा भएको हो।

निजी उद्योग तथा औद्योगीकरणको बिस्तार र ठूलो परियोजना तथा संरचना निर्माणको शुरूआत पनि उनकै सरकारले गरेको हो। यस्तै, विदेशी लगानी भित्र्याउने र मुलुकलाई सम्पन्न बनाउने दिशातर्फ पनि महाथीरले नै डोर्‍याएको बताइन्छ।

आधुनिक पेट्रोनास ट्वीन टावर्सजस्ता प्रतिष्ठित परियोजनाले पनि उनको विकासप्रतिको महात्वाकांक्षा झल्काउँछ। अधिनायकवादी तर व्यावहारिक नीतिका कारण उनले लोकप्रिय समर्थन बटुलिरहन सफल भए।

महाथीर २१ वर्षको उमेरमै राजनीतिक पार्टी युनाइटेड मलेज नेशनल अर्गनाइजेसन (युएमएनओ)मा प्रवेश गरेका थिए। सन् १९६४ मा सांसद निर्वाचित हुनुअघि उनले आफ्नो जन्मघर केदाह राज्यमा ७ वर्षसम्म चिकित्सक (फिजिसियन)का रूपमा काम गरेका थिए।

पछि सन् १९६९ मा तत्कालीन प्रधानमन्त्री तुंकु अब्दुल रहमानविरुद्ध खुला पत्र लेखेपछि भने उनलाई पार्टीबाट निष्कासित गरिनुका साथै उनले सांसद पद नै गुमाउनुपर्‍यो। केही समयपछि उनलाई पार्टीले पुनः स्वागत गर्‍यो र सन् १९७४ मा शिक्षामन्त्री बनाइए। त्यसको चार वर्षमै उनी युएमएनओका उपनेता बन्दै सन् १९८१ मा मलेसियाका प्रधानमन्त्री बने।

दुई पटकसम्म मलेसियाको प्रधानमन्त्री बनेका महाथीरको राजनीतिक यात्रा धेरैको प्रेरणा मात्र भएको छैन, कतिपयले उनको आलोचना पनि गर्छन्।

९७ वर्षीय महाथीर यसपटक पनि मलेसियाको नेतृत्व गर्न हौसिएका थिए। तर यसै महिना भएको निर्वाचनमा उनको राजनीतिक यात्रामा विराम लाग्यो। उनले ५३ वर्षमा पहिलोपटक चुनाव हारे।

मलेसियामा नोभेम्बर १९ मा सम्पन्न निर्वाचनमा महाथीरको पार्टीले अप्रत्याशित हार बेहोर्नुपर्‍यो। बहुमत ल्याउनु त परको कुरा महाथीर आफ्नै पनि जमानत जफत भयो। राजनीतिक जीवनको आधा शताब्दीपछि निर्वाचनमा उनको यो पहिलो हार थियो। उनले मात्रै हारेनन् उनको पार्टीले एउटा सिटसमेत जोगाउन सकेन।

प्रजातन्त्रप्रति अनुदार, तर सत्ताका चतुर खेलाडी
महाथीर सन् १९८१ देखि २००३ सम्म लगातार २२ वर्षसम्म प्रधानमन्त्री बनेका थिए। तर सन् २००३ मा आश्चर्यजनक रूपमा अवकाश लिए। पछि तत्कालीन प्रधानमन्त्री नजीब रजाकमाथि सरकारी कोषको दुरुपयोग गर्दै लाखौँ डलर भ्रष्टाचार गरेको आरोप लागेपछि महाथीरले पुनः राजनीतिमा कदम राखेका थिए। 

‘वानएमडीबी’ भनेर चिनिने चर्चित भ्रष्टाचार काण्डपछि रजाक सरकार र उनको पार्टीलाई हराउन महाथीरले नेता अनवर इब्राहिमसँग सम्झौता गरे। इब्राहिम तिनै नेता हुन्, जो महाथीर प्रधानमन्त्री हुँदा सन् १९९३ देखि १९९८ सम्म उपप्रधानमन्त्री एवं अर्थमन्त्री थिए। महाथीरसँगै एउटै पार्टीबाट राजनीति गरिरहेका अनवरमाथि यसबीचमा भ्रष्टाचारसहित यौन अपराधको आरोपसमेत लाग्यो। त्यसपछि प्रधानमन्त्री महाथीरले नै अनवरलाई सबै पदबाट बर्खास्त गरे।  

अनवरले भने राजनीतिक प्रतिशोधका कारण आरोप लगाइएको भन्दै खण्डन गरेका थिए। त्यतिबेला अनवरलाई ९ वर्षको जेल सजाय सुनाइए पनि पछि रिहा भएका थिए। पछि अनवरले महाथीर सरकारविरुद्ध प्रदर्शन गर्दै सुधारवादी आन्दोलनको लहर नै चलाए। त्यतिबेला अनवरलाई  मले मुस्लिमसहित हजारौँ जनजातिको समर्थन थियो।

त्यसयता तिक्तसम्बन्धमा रहेका यी दुई नेता सन् २०१८ मा पुनः सहकार्य गर्न सहमत भए। तत्कालीन सत्तारुढ पार्टी (बरिसन नेशनल)लाई हराउन गठबन्धन गरेका दुवै नेता प्रधानमन्त्री बन्ने दौडमा थिए। अनवरमाथिको आरोपमा राजदरबारबाट माफी दिलाउने बन्दोबस्त मिलाउने प्रतिबद्धतासहित महाथीरले अनवरको पार्टीसँग मिलेर सन् २०१८ मे ९ तारिखको निर्वाचन लडेका थिए। निर्वाचनमा गठबन्धनले ऐतिहासिक सफलता हात पार्‍यो। 

अनवरले राजदरबारबाट माफी पनि पाए। त्यसपछि गठबन्धन दलको नेतृत्व गरेका महाथीरलाई अनवरको पार्टीले सत्ता हस्तान्तरणका लागि दबाब दिएपछि महाथीरले पूर्वप्रधानमन्त्री रजाककै पार्टी युनाइटेड मले नेसनल अर्गनाइजेसन (युएमएनओ) सँग मिलेर नयाँ गठबन्धन सरकार बनाउने तयारी गरेको कुरा बाहिरियो। त्यतिबेला अनवरले पार्टी र सरकारका आफ्ना साथीहरूले घात गरेको आरोप लगाएका थिए। दशकौँपछिको अनवर र महाथीरको सम्बन्ध यसले थप खराब बनायो।

आफ्ना विरोधीलाई पाखा लगाएर एक्लै नेतृत्वमा रहिरहने महाथीरको सत्ताप्रतिको आशक्तिको धेरैले आलोचना गर्छन्। यसरी कुनै न कुनै रूपमा मलेसियाली राजनीतिको केन्द्र छाइरहेका महाथीर अन्ततः सन् २०२२ को चुनावमा छायाँमा परे। मलेसियाको राजनीतिको बाटो बदलियो। 

चुनावमा राम्रो मत ल्याए पनि सरकार बनाउन पर्याप्त नभएपछि पुनः अस्थिर बनेको मलेसियाली राजनीतिलाई लयमा फर्काउन यतिबेला राजाले अनवरलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

नेतृत्वमा रहँदा महाथीर कट्टरपन्थी र अधिनायकवादी भएको आलोचना हुने गरेको थियो। साथै, उनका राजनीतिक कदमको पनि आलोचना हुने गरेको थियो। महाथीरको सत्ता मोहले गर्दा उनले विरोधी नेतालाई मुद्दा नै नचलाई जेल पुर्‍याएको भन्दै आलोचना समेत हुने गरेको थियो।

उनले आफ्नै पार्टीका नेता तथा उपप्रधानमन्त्री अनवर इब्राहिमलाई भ्रष्टाचार र यौन अपराधको आरोपमा जेल पुर्‍याएका थिए। अहिले तिनै अनवर प्रधानमन्त्री छन् भने महाथीरले चुनावमा लज्जास्पद हार बेहोर्नुपर्‍यो।

अवकाश लिएर बस्दा पनि महाथीर राजनीतिक वृत्तबाट टाढा हुन र राजनीति छोड्न सकेनन्। सन् २००८ मा सत्तारुढ गठबन्धनका लागि निर्वाचनमा कमजोर मत ल्याएपछि उनले आफ्ना उत्तराधिकारी अब्दुल्लाह बदानीलाई सार्वजनिक रूपमै आलोचना गरेका थिए। त्यसपछि उनले अब्दुल्लाहलाई दबाब दिनकै लागि पार्टी परित्याग गरेको बताइन्छ। तर त्यतिबेला उनले भविष्यको साझेदारीमा आशंका व्यक्त गर्दै गठबन्धनबाट समेत बाहिरिएको बताएका थिए। त्यसलगत्तै, नजिब रजाकलाई सत्तामा जाने बाटो खुलेको थियो।

त्यसपछि महाथीरले रजाकलाई पहिलेजस्तो समर्थन गर्न छाडिदिए। तर रजाकमाथि लागेका भ्रष्टाचारका आरोप सतहमै रहेका बेला रजाकविरुद्ध पार्टी र सरकारभित्रैबाट दबाब दिन सिर्जना गर्न पनि महाथीरले नै भूमिका खेलेको अन्तर्राष्ट्रिय माध्यमहरूले उल्लेख गरेका थिए।

त्यसपछि महाथीरसहित र उनका थुप्रै उच्चपदस्थ समर्थकहरूले सन् २०१६ पार्टी परित्याग गरी विपक्षमा बसे। सन् २०१८ मा ९२ वर्षका महाथीरले पुनः निर्वाचन लड्ने इच्छा देखाए।

२०१८ मे ९ तारिखमा सम्पन्न चुनावमा उनले ६० वर्षदेखि शक्तिमा रहेको तथा पहिले सहकार्य गरेको पार्टी बरिसन नेशनललाई हराएर ऐतिहासिक सफलता हासिल गरे। यसले मुस्लिम बाहुल्य मलेसियामा उथलपुथल नै ल्याइदियो। उनको र थुप्रै पार्टीहरू मिलेर पकातान हारापन गठबन्धन तयार भयो। यो सरकार २ वर्षसम्म चल्यो। रजाकलाई हराउनका लागि नेता अनवरको पार्टीसँग सहकार्य गरेका उनले सो गठबन्धनसमेत तोडेर बाहिरिएपछि पनि मलेसियाली राजनीतिमा थप उथलपुथल आयो।

अहिले पनि मलेसियाको राजनीतिक किचलो रोकिएको छैन। कुनै बेला महाथीरका विश्वास पात्र त कुनै बेला शत्रु बनेका अनवर इब्राहिम अहिले मलेसियाको प्रधानमन्त्री छन्। अहिले ९७ वर्षमा लागेका महाथीरले अब पनि कुनै राजनीतिक कदम चाल्छन् कि भन्ने धेरैको आशंका छ। 

उनी अझै पनि सक्रिय राजनीतिमा आउने धेरैको अनुमान छ। आजको दिनसम्म पनि मलेसियाली राजनीतिमा महाथीरको प्रभाव देख्न सकिन्छ।

-एजेन्सीको सहयोगमा