तराईमा अत्यधिक गर्मी: तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन आग्रह

आइतबारदेखि बिहीबारसम्म तातो हावा तथा तातो लहर चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– तराईका भूभागमा अत्यधिक गर्मी बढेको छ। ती भूभागमा आइतबारदेखि बिहीबारसम्म तातो हावा तथा तातो लहर चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

साथै, पहाडी भूभागका उपत्यका तथा खोँचमासमेत तापक्रम क्रमिक रूपमा बढ्ने सम्भावना छ। महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ।  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। लुम्बिनी, मधेश र कोशीका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी को पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। लुम्बिनी, मधेश र कोशीका तराई भूभागमा हावाहुरीको सम्भावना रहेको छ।