वेस्टइन्डिज ‘ए’सँग नेपाल ७६ रनले पराजित

वेस्टइन्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अल आउट भयो। 

काठमाडौँ– वेस्टइन्डिज ‘ए’सँगको टी–२० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाल घरेलु मैदानमै ७६ रनले पराजित भएको छ। 

वेस्टइन्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अल आउट भयो। नेपालका लोकेश बम र करण केसीले समान २८ रन बनाए। कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

वेस्टइन्डिज ‘ए’ का हेडन वाल्सले ३, गुदाकेश मोटीले २ विकेट लिए। 

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्टइन्डिज ‘ए’ले २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो। ओपनर जोनसन चार्ल्सको शतकमा वेस्टइन्डिजले नेपालसमक्ष भारी रनको लक्ष्य प्रस्तुत गरेको थियो। चार्ल्स ११९ रनमा नटआउट रहे। उनले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गरेका थिए। आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए। 

नेपालका सागर ढकाल र करण केसीले समान १–१ विकेट लिएका थिए।

गत आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो। वेस्टइन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रनमा सीमित रहन पुग्यो। त्यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। वेस्टइन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो। 

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्टइन्डिज ‘ए’सँग शृंखला खेलिरहेको हो।