कोभिसिल्ड भ्याक्सिनले ‘साइड इफेक्ट’ गर्न सक्ने निर्माता कम्पनीको स्वीकारोक्ति

कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले बनाएको खोपले मानिसमा रगत जम्ने जस्ता केही जोखिम हुन सक्ने स्वीकार गरेको छ।

काठमाडौँ– कोरोनाका विभिन्न खोपमध्ये एक कोभिसिल्डको प्रयोग गरेका व्यक्तिमा त्यसले गम्भीर खालको असर पनि गर्न सक्ने औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले स्वीकार गरेको छ। 

कोभिड १९ अर्थात् कोरोना महामारीका कारण विश्वभर लाखौँ मानिसको मृत्यु भएको थियो। त्यस महामारीबाट जोगाउन धेरै देशका सरकारहरूले हतारमा भ्याक्सिनको व्यवस्था गरेका थिए। विश्वका धेरै कम्पनीहरूले कोभिड भ्याक्सिन बनाएका थिए। तीमध्ये एक बेलायती–स्वीडिस बहुराष्ट्रिय औषधि कम्पनी एस्ट्राजेनेका पनि थियो। 

कोभिसिल्ड नामक कोरोना भ्याक्सिन निर्माण गर्ने एस्ट्राजेनेकाले आफूले बनाएको खोपले मानिसमा केही ‘साइड इफेक्ट’ हुन सक्ने स्वीकार गरेको ‘द टेलिग्राफ’ले लेखेको छ। यो खोप लिएका केही व्यक्तिमा रगत जम्ने (टीटीएस) सम्भावना हुनसक्ने कुरा कम्पनीले स्वीकार गरेको खबरमा उल्लेख छ।

एस्ट्राजेनेकाले अक्सफोर्ड युनिभर्सिटीसँगको साझेदारीमा विकसित गरेको उक्त खोपले रगत जम्ने गम्भीर र दुर्लभ जोखिम बढाउन सक्छ भन्ने कुरा अदालतका कागजातहरूमा पहिलो पटक स्वीकार गरेको हो। यसअघि २०२३ को मे मा अदालतमा पेस गरिएका कागजातमा भने कोभिसिल्डले कुनै साइड इफेक्ट नगर्ने कम्पनी अस्ट्राजेनेकाले दाबी गरेको थियो। तर गएको फेब्रुअरीमा उच्च अदालतमा पेस गरिएको कानुनी दस्ताबेजमा चाहीँ यो दाबी फिर्ता लिइएको थियो। कहिलेकाहीँ खोपका कारण टीटीएस हुन सक्ने उसले स्वीकारेको हो। 

कोभिसिल्डको प्रयोगले मृत्यु पनि भएको र गम्भीर असर गरेको भन्दै औषधि उत्पादक कम्पनीविरुद्ध बेलायतको उच्च अदालतमा करिब ५१ मुद्दा दायर भएका छन्। पीडित र शोकाकुल आफन्तले १० करोड पाउन्डसम्मको क्षतिपूर्ति माग गरेका टेलिग्राफको रिपोर्टमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कोभिसिल्डको २२ लाख भन्दा बढी डोज प्रयोग भएको छ। नेपालले अधिकांश कोभिसिल्डको खोप भारतबाट किनेको थियो। भारतमा त्यहाँको सेरम इन्स्टिच्युटले उक्त कोभिसिल्डको खोप उत्पादन गरेको थियो।