काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित शहर

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो लागिरहेको छ। 

काठमाडौँ– काठमाडौँ बिहीबार पुन: वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार काठमाडदँको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १६२ पुगेको छ।

एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित शहरका रूपमा थाइल्याडको चियाङ माई र इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित शहरका छन्। 

सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धि र मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो लागिरहेको छ। 

डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिए। “वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण बढेर काठमाडौँलगायत मुख्य शहरको हावा अस्वस्थ बनेको छ,” उनले भने, “केही समय पानी नपरे वन डढेलो पनि नियन्त्रणमा ल्याउन गाह्रो हुने र प्रदूषण अझै बढ्ने खतरा रहेको छ।”

केही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि ठूलो राम्रो वर्षाको सम्भावना  नरहेको मौसमविद् गोविन्द झाले जानकारि दिए। 

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात् ग्रीन सिग्ननले चिनिन्छ। “५१ देखि १०० सम्मको एक्यूआईलाई होसियार रहुँ अथवा पहेंलो संकेतले चिनिन्छ। यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ,” उनले भेन, “१५१ देखि २०० सम्मको एक्यूआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० लाई धेरै अस्वस्थ्यका रूपमा लिइन्छ र ३०१ देखि ४०० लाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरा मानिएको छ।”

बढ्दो वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको भन्दै वन डढेलो जतिसक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुग्ने बताउछन्, वातावरण अभियन्ता राजन थापा। काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दाबढी भएको अवस्थालाई विपद्का रूपमा लिने बताएको छ।

यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ।