एक खेलअगावै वेस्टइन्डिज ‘ए’ले जित्यो नेपालसँगको श्रृंखला

वेस्टइन्डिज ‘ए’ले एक खेलअगावै नेपालसँगको पाँच खेलको टी२० श्रृंखलाको उपाधि जितेको छ।

काठमाडौँ– वेस्टइन्डिज ‘ए’ सँगको पाँच टी२० श्रृंखलामा नेपाल ‍लगातार तीन खेलमा पराजित भएको छ। योसँगै वेस्टइन्डिज ‘ए’ले एक खेलअगावै श्रृंखलाको उपाधि जितेको छ।

वेस्टइन्डिज ‘ए’सँग चार खेल खेल्दा नेपालले एउटामा मात्रै खेलमा जित हासिल गर्‍यो भने तीन वटामा पराजय बेहोरेको हो। वेस्टइन्डिज ‘ए’सँग नेपाल पहिलो खेल ४ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा १० रन, तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो। बिहीबार वेस्टइन्डिज ‘ए’सँग नेपाल २८ रनले पराजित भएको हो।

बिहीबार वेस्टइन्डिज ‘ए’ले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै खेल्दै १८१ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे पनि त्यो जितका लागि पर्याप्त भएन।

रोहितले ४७ बलमा ७ चौका र ५ छक्काको मदतमा ८२ रनको इनिङ्स खेले। सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान १९ रनको योगदान दिए भने अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन जोडे।

बलिङतर्फ वेस्टइन्डिज ‘ए’का म्याथ्यु फोर्ड र हेडेन वाल्शले ३/३ विकेट लिए भने फबियन अलेन र गुडाकेश  मोतेइले २/२ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यारेबियन टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो।

वेस्टइन्डिज ‘ए’का आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ्स खेले। जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे। फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनमा नटआउट रहे।

नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए।