नेपालले टस हार्‍यो, वेस्टइन्डिज ‘ए’ पहिला ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिजका कप्तान रोस्टन चेजले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले अन्तिम खेलमा पनि फिल्डिङ गर्ने भएको छ।

काठमाडौँ– वेस्टइन्डिज ‘ए’सँगको पाँच खेलको टी२० सिरिजअन्तर्गत अन्तिम खेलमा पनि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको हो। उसअघिका चार वटा खेलमा पनि नेपालले पहिला फिल्डिङ गरेको थियो। 

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ। पछिल्लो खेलबाट गुलशन झा र ललित राजवंशी बेन्चमा छन् भने सागर ढकाल र अनिलकुमार शाह टोलीमा आएका छन्।

पाँच खेलको सिरिजमा एक खेल बाँकी हुँदा नै वेस्टइन्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ। चार खेल सकिँदा वेस्टइन्डिजले तीन र नेपालले एक खेल जितेको छ। पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन, तेस्रो खेलमा ७६ रन र चौथो खेलमा २८ रनले पराजित भएको थियो। 

नेपालले अर्को महिना वेस्टइन्डिज र अमेरिकामा हुने आईसीसी टी२० विश्वकपअघि घरेलु मैदान शनिबार वेस्टइन्डिजसँग अन्तिम खेल खेल्न लागेको हो। 

नेपाली टोली यस खेलपछि शनिबार राति नै वेस्टइन्डिज जाने कार्यक्रम छ।