लामो समयसम्म वर्षा नहुँदा चितवनमा विभिन्न किसिमका बिरामीको संख्या बढेको छ। बिरामीको चापलाई मध्यनजर गर्दै भरतपुर अस्पतालले आइतबारदेखि टिकट काउन्टर थप गर्न लागेको छ।
चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण ज्वरो, टाइफाइड, डेंगी, मलेरिया र भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।
यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबारदेखि मंगलबारसम्म दुई हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म एक हजार ६०० हाराहारी बिरामी हुने गरेकामा अहिले दैनिक दुई हजार २०० सम्म पुग्ने गरेका छन्।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार विगत एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो। मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उनले बताए।
“अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो,” उनले भने, “अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले संख्यात्मक रूपमा केही बढी देखिन थालेको छ।
लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ। अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबारदेखि टिकट काउन्टर थप गर्न लागेको उनले बताए।
नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेंगी, मलेरिया, झाडापखालालगायत बढी मात्रामा छन्। उनीहरूलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो। बहिरंग सेवामा आउने बिरामीको संख्या बढ्दो क्रममा छ।
माघयताको तथ्यांक हेर्ने हो भने अस्पतालको बहिरंग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा छ। माघमा ३२ हजार, फागुनमा ३४ हजार ५००, चैतमा ३६ हजार २०० र वैशाख २० गतेसम्म २४ हजार ८०० बिरामीले सेवा लिएका छन्।
अहिले जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ। सर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत उनले आग्रह गरे। “अहिलेको समयमा पानी, झोलिलो पदार्थ नियमित सेवन गरौँ,” उनले भने, “सामान्य समस्या देखिए चिकित्सकको परामर्शमा जानुपर्छ।”
अहिले अस्पतालले तीन वर्ष मुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ। योसँगै नियमित औषधि सेवन गर्ने बिरामीका लागि अस्पतालमा परामर्श कक्षको स्थापना गरी चिकित्सकले परामर्श दिँदै आएको उनले बताए।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले गर्मी बढ्दै जाँदा बिरामीको संख्या पनि अझै बढ्नसक्ने भन्दै सचेतता अपनाउन आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
