स्थानीय कुशुलको पाखा, छोटेडाँडा, दुराको रूख र अर्दाको पाखाभरिको वन बिहीबार सल्केको डढेलोले सखापै पारिदिएको छ। यी वनपाखा कालिकाका करिब डेढ सय घरधुरीले घाँसपातको जोहो गर्दै आएको क्षेत्र हो।
पोखरा– दनदनी दन्किरहेको डढेलोले नेपालका हरेकजसो ठाउँका पाखापखेरा सखाप पारिरहेको छ। नयाँ पालुवा पलाउने याममा डढेलोको प्रकोपले सारा नेपाललाई नै हायलकायल बनाएको छ।
आगलागीको समाचार निरन्तर सुन्नुपरेको छ। चर्को साइरन बजाउँदै दमकल हुँइकेको आवाज नित्य जस्तै बनेको छ। पुराना पात झरेर भर्खर नयाँ पालुवा लाग्न लागेको वन डढेलोले सिध्याइरहँदाको नतिजाले कस्तो प्रकोप निम्त्याउने हो अझै पत्तो छैन। धुम्प परेको मौसमले नजिकैको डाँडापाखासमेत देख्न सक्ने अवस्था छैन। स्वस्थ सास फेर्न मुस्किलप्राय छ।
पोखरा–२८ कालिकामा भेटिएका ६० वर्षीय स्थानीय मानबहादुर नेपाली डढेलोले वनै सिध्याएपछि सोचमग्न छन्। कालिकाबजार नजिकैको वनको हरियाली डढेलोले थपिएको छ। “घाँस पलाउन लागेको थियो, सबै डढ्यो। यो वनको घाँस हामीले मंसिरदेखि काट्न पाउँथ्यौँ। असार, साउनसम्मै घाँस पाइन्थ्यो,” नेपाली भन्छन्, “अब यो नपलाएसम्म घाँस पाइँदैन र असारसम्म पलाउँदा पनि पलाउँदैन। त्यो पनि पानी पर्यो भने मात्र हो, नत्र कहिले पलाउँछ, कहिले!”

पोखरा–२८ स्थित कुलुशको पाखा, छोटेडाँडा, दुराको रूख र अर्दाको पाखाभरिको वन बिहीबार सल्केको डढेलोले सखापै पारिदिएको छ। कालिकाका करिब डेढ सय घरधुरीले यही वनबाट घाँसपातको जोहो गर्दै आएका छन्। मानबहादुर भन्छन्, “सबै डिँगा (बस्तुभाउ) यहीँ चर्थे। डढेलोले वन खाएपछि बाख्रा–भैँसीलाई चरन र घाँसको अभाव हुने भयो। सुकेका पराल खाँदैनन्। अब के ख्वाउने?”
मानबहादुरको चार जनाको सानो परिवार कृषि र पशुपालनमै निर्भर छ। बाख्रापालनसँगै भैँसीपालन पनि गर्दै आएका उनी वन डढेलोले खाइदिएपछि घाँसको विकल्प नपाएर हैरानीमा छन्। “भर्खर पात झरेर पालुवा लाग्दै थियो। बाख्राले स्याउला खुब खान्थे। अब सुकेको स्याउला बाख्राले खाँदैनन, के गर्नु!,” उनी भन्छन्।
परम्परागत कृषि गर्दै आएका मानबहादुरका अनुसार बाटो राम्रो बनेपछि बाख्रा बिक्रीको लागि समस्या हटेको छ। बिक्रीका लागि बजारसम्म लैजानुपर्दैन। व्यापारीहरू खोजीखोजी गाउँसम्मै आइपुग्छन्।
उनीजस्तै अरू स्थानीय पनि परम्परागत कृषि तथा पशुपालनमै निर्भर छन्। भैँसी र बाख्रापालन गर्दा बुढो भइसकेपछि पन्छाउन समस्या पनि हुँदैन। “गाई पालेर बुढो भएपछि बिक्री हुँदैन। भैँसी बुढो भइसकेपछि पनि बिक्री हुने भयो त्यही भएर यता धेरैले भैँसी र बाख्रा नै पाल्छौँ,” उनी भन्छन्, “भैँसी र बाख्रा दुवै थारो भए बेच्दिए भयो, गाई थारो भए त कसैले लैजादैनन्।”

६ दशकयता सामान्य कृषिकर्म गर्दै आएका मानबहादुरले जलवायुमा आएको उतारचढावको कडा असर पनि पहिलोपटक अनुभव गर्र्दैछन्। “जन्मेको यतिका वर्ष हुँदासम्म आकाश यसरी मैलिएको देखेको थिइनँ। तुँवालो लागे पनि हटिहाल्थ्यो,” उनी सुनाउँछन्, “यहाँबाट विजयपुर–पोखरा सबै छ्याङ्ग देखिन्थ्यो। यति लामो समयसम्म तुँवालोले आकाश छेकेको पनि थाहा थिएन। डढेलो पनि यसरी वनै सिध्याउने गरी कहिल्यै लागेको थिएन।”
वनको प्रयोग तथा रेखदेख स्थानीयले मिलेर गर्दै आएका छन्। वर्षदिनमा टोलटोल मिलेर आफूलाई आवश्यक पर्नेजति दाउरा काट्न र घाँसपात ल्याउन पाइन्छ।
पहिले–पहिले घर बनाउन यही वनको काठ प्रयोग गर्दै आए पनि अहिले जमाना फेरिएको उनी सुनाउँछन्। “पहिले घर बनाउन काठको प्रयोेग बढी हुन्थ्यो। अहिले काठ प्रयोग गर्ने जमाना हराए। जम्मैले फलाम हाल्न लागे। काठ चाहिने टौवा हाल्न र भैँसीको गोठ बनाउन मात्रै हो।” आधुनिकतासँगै वनको प्रयोगमा पनि कमी आएको उनले देखेका छन्।
आगोले वनै सखाप पारेपछि डढेलो लगाउने व्यक्तिको खोजी गरेर कारबाही प्रक्रियामा जाने कुरामा मानबहादुर निराश सुनिन्छन्। “कसले आगो लगायो, कसरी आगो सल्क्यो भनेर वडालाई त थाहै छैन। अब कसलाई उजुरी दिने? वडाले खोज्दा पनि खोज्दैन। हामीले पनि खोज्न सकिन्न। अरू के उपाय छ र?”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
