विश्वकप क्रिकेटको सहआयोजक वेस्ट इन्डिजलाई आतंकवादी हमलाको धम्की

टी–२० विश्वकप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यहीबीच सहआयोजक वेस्ट इन्डिजमा आतंकवादी हमलाको धम्की आएको छ।

जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप क्रकेटको आयोजना हुँदैछ। यसका लागि धेरै टिमले आ–आफ्ना खेलाडीको नाम पनि घोषणा गरिसकेका छन् र प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

यहीबीच सहआयोजक वेस्ट इन्डिजमा आतंकवादी हमलाको धम्की आएको छ। उत्तर पाकिस्तानमा सक्रिय प्रो इस्लामिक स्टेट (आईएस) ले विश्वकपका खेलहरूमा आतंकवादी हमला गर्ने धम्की दिएको क्रिकबजले जनाएको छ।

मिडिया रिपोर्टका अनुसार आईएसले खेलकुद कार्यक्रममा आक्रमण गर्ने योजना बनाएको छ। आईएस खोरासानको अफगानिस्तान–पाकिस्तान शाखाबाट एक भिडियो सन्देश जारी गरिएको छ, जसमा धेरै देशहरूमा आक्रमण गर्ने कुरा गरेको छ र समर्थकहरूलाई यसमा सामेल हुन अपील गरेको छ।

तर, क्रिकेट वेस्ट इन्डिज (सीडब्ल्यूआई)ले सुरक्षाको आश्वासन दिएको छ। क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले आतंकवादी हमलाको खतराकाबीच सुरक्षा चिन्ता नलिन आग्रह गरेका छन्।

“हामी कुनै पनि खतरासँग लड्न समर्थ छौँ, चुनौतीका बाबजुद अगाडि बढ्नको लागि आयोजक देश र शहरका अधिकारीहरूसँग छलछफल गरिरहेका छौँ,” ग्रेभ्सले भने, “हामी सबै साझेदारहरूलाई आश्वासन दिन चाहन्छौं कि टी–२० विश्वकपमा संलग्न सबैको सुरक्षा हाम्रो उच्च प्राथमिकता हो। हामीसँग व्यापक र बलियो सुरक्षा योजना छ।”

क्यारेबियन मिडियाले त्रिनिडाडका प्रधानमन्त्री किथ राउलीलाई उद्धृत गर्दै खेललाई लिएर सुरक्षा एजेन्सीहरू सतर्क र सक्षम भएको जनाएका छन्। मिडिया रिपोर्टका अनुसार बार्बाडोसका क्षेत्रीय सुरक्षा अधिकारीहरूले विश्वकपको समयमा आक्रमणको चेतावनी दिएपछि स्थितिको निरन्तर निगरानी गरिरहेका छन्।

जुन महिनाभर चल्ने टी–२० विश्वकपका खेल अमेरिकासहित वेस्ट इन्डिजका धेरै ठाउँमा खेलाइने छन्। बार्बाडोस, गुयाना, एन्टिगुवा र बार्बुडा, सेन्ट भिन्सेन्ट, सेन्ट लुसिया, ग्रेनाडाइन्स, ट्रिनिडाड र टोबागोले यस ग्लोबल प्रतियोगिताका खेलहरू आयोजना गर्ने छन्।