मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्ड ‘सी’सँग नेपाल पराजित

बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा सोमबार राति भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ‘सी’ २–० ले विजयी भएको छ। 

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिम इंग्ल्यान्ड ‘सी’सँगको ऐतिहासिक खेलमा पराजित भएको छ।

बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा सोमबार राति भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ‘सी’ २–० ले विजयी भएको हो। 

नेपालले दुवै गोल खेलको पहिलो हाफमा खाएको थियो। इंग्ल्यान्डका लागि आठौँ मिनेटमा निक काबाम्बा र १३औँ मिनेटमा क्यालाम स्टेडले गोल गरेका थिए। 

वर्षाका कारण पहिलो हाफमा राम्रो प्रदर्शन गर्न नसके पनि नेपालले दोस्रो हाफमा केही मौका सिर्जना गरेको थियो। तर गोल भने गर्न सकेन।  

गोलकिपर किरणकुमार लिम्बूले केही उत्कृष्ट बचाउ गरेका थिए। उनी ‘म्यान अफ दि म्याच’ पनि घोषित भए। 

आठ हजार क्षमताको भरिभराउ रंगशालामा झन्डै ९० प्रतिशत नेपाली दर्शक उपस्थित थिए। 

अल्डरसट टाउन फुटबल क्लबले एफए र बेलायतस्थित नेपाली समुदायको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो।