एस्ट्राजेनेकाले विश्वभरबाट 'कोभिसिल्ड' भ्याक्सिन फिर्ता लिने

कोभिसिल्डको प्रयोग गरेका व्यक्तिमा त्यसले गम्भीर खालको असर पनि गर्न सक्ने औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले स्वीकार गरेको छ।

काठमाडाैँ– फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरबाट आफ्नो कोभिड भ्याक्सिन (कोभिसिल्ड) फिर्ता लिने बताएको छ। कम्पनीले आफ्नो आधिकारिक विज्ञप्तिमा यसलाई विशुद्ध व्यावसायिक निर्णय भनेको छ।

बेलायती-स्विडिस कम्पनी एस्ट्राजेनेकाका अनुसार कोभिडका नयाँ भेरियन्टलाई लक्षित गर्ने अन्य धेरै खोप बजारमा उपलब्ध भएपछि यसको माग घटेको छ। बेलायती अदालतमा पेश गरिएका कागजातहरूमा केही दिन पहिले एस्ट्राजेनेकाले उसको भ्याक्सिनले केही मानिसहरूमा असामान्य साइड इफेक्टहरू निम्त्याउन सक्ने स्वीकार गरेको थियो।

कोरोना भ्याक्सिन पाएका धेरैले मिलेर यो औषधि कम्पनीविरुद्ध खोपको 'साइड इफेक्ट'को क्षतिपूर्तिको लागि मुद्दा दायर गरेका छन्। यो खोपका कारण आफूले आफन्त गुमाएका र कतिपय अवस्थामा कम्पनीको कोरोना भ्याक्सिनले मानिसलाई गम्भीर नोक्सान पुर्‍याएको मुद्दा दायर गर्ने कतिपयले बताएका छन्।

तर, धेरै अध्ययनले एस्ट्राजेनेकालगायत विभिन्न कम्पनीको कोरोना भ्याक्सिनले विश्वभर करोडौँ मानिसको ज्यान बचाएको दाबी पनि गरेको छ। एस्ट्राजेनेकाले मात्र पहिलो वर्षमा ६० लाखभन्दा बढी मानिसको जीवन बचाएको थियो।