सम्बन्धविच्छेदको बढ्दो तथ्यांक, के हो कारण? (डेटा स्टोरी)

सबैभन्दा धेरै सम्बन्धविच्छेदका घटना बागमतीमा र सबैभन्दा न्यून मधेश प्रदेशमा भएका छन्। जीविकोपार्जनको शैलीमा आएको परिवर्तन, बसाइँसराइ, सामाजिक सञ्जालमा पहुँचलगायत कारण घटना बढेको विज्ञहरू बताउँछन्।

काठमाडौँ- राष्ट्रिय पञ्जीकरण विभागको गत पाँच वर्षको तथ्यांकमा नेपालमा सम्बन्धविच्छेदका घटना बढ्दो देखिन्छ। प्रदेशका आधारमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका घटना बागमतीमा र सबैभन्दा न्यून मधेश प्रदेशमा भएका छन्। 

विज्ञका अनुसार पछिल्लो समय सम्बन्धमा सम्झौताभन्दा पनि अधिकारका कुरा बढी प्राथमिकता राख्दा सम्बन्धविच्छेदसम्म पुग्ने गरेको बताउन्। 

पछिल्लो समय जीविकोपार्जनको तरिकामा आएको परिवर्तनका कारण सम्बन्धविच्छेद बढेको समाजशास्त्री प्रेम चलाउने बताउँछन्। बढ्दो बसाइँसराइ, आधुनिकता र विभिन्न सामाजिक सञ्जालमा पहुँचले पनि सम्बन्धविच्छेदलाई टेवा पुर्‍याएको उनको भनाइ छ।

शिक्षा र सार्वजनिक वृत्तमा महिला र पुरुषको बराबर पहुँचले पनि मानिसलाई स्वतन्त्र तरिकाले जिउने र सम्झौता नगर्ने बानीको विकास हुँदा सम्बन्धविच्छेद त्यस्तै स्वतन्त्रताको खोजी हुनसक्ने चलाउने बताउँछन्।