कर्णाली हाफ म्याराथन शुरू, १ हजारभन्दा बढी सहभागी

नेपालगन्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन शुरू गरिएको आयोजकले बताएका छन्।  

काठमाडौँ– सुर्खेतको वीरेन्द्रनगरमा प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता शुरू भएको छ। शनिबार बिहान मुख्यमन्त्री यामलाल कँडेलले म्याराथनको उद्घाटन गरेका हुन्।

म्याराथनमा एक हजारभन्दा बढी सहभागी भएको आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए। नेपालगन्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन शुरू गरिएको उनले बताए। 

हाफ म्याराथनको विजेताले महिला तथा पुरुषतर्फ समान ५५ हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त पार्नेछन्। 

त्यस्तै, पुरुष ४५ वर्षमाथि र विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीन धावकलाई पनि नगद पुरस्कार दिने आयोजकले जानकारी दिएको छ।

हाफ म्याराथनमा उत्कृष्ट समय निकाल्ने धावकलाई विश्व एथलेटिक्सबाट लेबल प्राप्त म्याराथनमा सहभागी गराइनेछ।