गिल र सुदर्शनको शतकमा चेन्नाईमाथि गुजरातको जित

२३२ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन मात्र बनाउन सक्यो।

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाईटन्सले चेन्नाई सुपर किंग्सलाई‌ पराजित गरेको छ। 

ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकको मद्दतमा शुक्रबार राति गुजरातले चेन्नाईमाथि ३५ रनको जित हासिल गरेको हो। 

घरेलु मैदान अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ३ विकेटको क्षतिमा २३१ रन बनायो। कप्तानसमेत रहेका गिलले ५५ बलमा ९ चौका र ६ छक्कासहित १०४ रन बनाए। सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्का सहित १०३ रन जोडे। 

चेन्नाईका तुशार देशपाण्डेले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन मात्र बनाउन सक्यो। चेन्नाईका लागि ड्यारील मिचेलले सर्वाधिक ६३ तथा मोइन अलिले ५६ रन जोडे। यस्तै, महेन्द्रसिंह धोनीले २६ र शिवम दुबेले २१ रनको योगदान दिए। 

गुजरातका मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दिप वारियरले समान १–१ विकेट लिए।

जितपछि गुजरात १२ खेलमा १० अंकसहित आठौँ स्थानमा उक्लिएको छ। चेन्नाई १२ खेलमा १२ अंकका साथ चौथो स्थानमा छ।