आईपीएल क्रिकेटमा बैंगलुरू र चेन्नाईको प्लेअफ सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरू र चेन्नाई सुपर किंग्सले पछिल्ला खेलमा जित हासिल गर्दै प्लेअफ सम्भावना कायम राखेका छन्।

काठमाडाैँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरू र चेन्नाई सुपर किंग्सले पछिल्ला खेलमा जित हासिल गर्दै प्लेअफ सम्भावना कायम राखेका छन्।

दिल्ली क्यापिटल्सलाई हराउँदै बैंगलुरूले प्लेअफ सम्भावना कायम राखेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा बैंगलुरूले दिल्लीलाई ४७ रनले हराएको हो। यो उसको लगातार पाँचौँ जित हो।

पहिले ब्याटिङ गरेको बैंगलुरूले २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो। रजत पाटीदारले ३२ बलमा ५२ र विल ज्याकले २९ बलमा ४१ रन बनाए। विराट कोहलीले २७ रन बनाएका थिए। जवाफमा दिल्लीको टोली १९.१ ओभरमा १४० रनमै सिमित भयो। ऋषभ पन्तको स्थानमा कप्तानी गर्दै आएका अक्षर पटेलले ३९ बलमा ५७ रन बनाए। यश दयालले तीन तथा लोकी फर्गुसनले दुई विकेट लिए।

जितपछि पाँचौँ स्थानमा उक्लिएको बैंगलुरूको १३ खेलमा १२ अंक भएको छ। समान खेल र समान अंक रहेको दिल्ली छैटौँ स्थानमा छ।

आइतबार राति नै सम्पन्न अर्को तथा पहिलो खेलमा चेन्नाई सुपर किंग्सले राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गर्दै प्लेअफ सम्भावना कामय राखेको छ। राजस्थानको भने यो लगातार तेस्रो हार हो।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले रियान परागको ३५ बलमा ४७ रनको अविजित इनिंसको आधारमा २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । जवाफमा चेन्नाईले १८.२ ओभरमा पाँच विकेट गुमाएर १४५ रन बनाएर जित दर्ता गरेको हो। चेन्नाईका लागि कप्तान रुतुराज गायकवाडले ४१ बलमा ४२ रनको अविजित इनिङ खेल्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान पुर्‍याए। राजस्थानका लागि अफ स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए।

जितपछि एक खेल खेल्न बाँकी रहेको चेन्नाई १४ अंकसहित तेस्रो स्थानमा छ। राजस्थान १२ खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ।