आईपीएल: चेन्नाईलाई हराउँदै बेंगलुरु प्लेअफमा

पहिलो ८ खेलमा १ खेल मात्र जितेको बेंगलुरुले त्यसपछिका लगातार ६ खेल जित्दै प्लेअफमा स्थान बनाउन सफल भयो।

काठमाडौँ– लिग चरणको अन्तिम खेलमा चेन्नाई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेनजर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।

शनिबार राति एम चिन्नास्वामी स्टेडियममा घरेलु टोली बेंगलुरुले चेन्नाईलाई २७ रनले पराजित गर्दै प्लेअफमा स्थान बनाउन सफल भएको हो। 

बेंगलुरुले दिएको २१९ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन मात्रै बानायो। रनरेटका आधारमा अघि रहेर प्लेअफमा पुग्न चेन्नाईलाई २०१ रन पर्याप्त थियो। बेंगलुरुलाई भने चेन्नाईभन्दा माथि रहेर प्लेअफमा पुग्न कम्तिमा १८ रनको जित आवश्यक थियो।

चेन्नाईका रचिन रवीन्द्रले सर्वाधिक ६१ रन बनाए। रवीन्द्र जडेजा ४२ रनमा अविजित रहे। अजिङ्क्या राहानेले ३३ तथा महेन्द्रसिंह धोनीले २५ रनको योगदान दिएका थिए। 

बेंगलुरुका यश दयालले २ तथा लाेकी फर्गुसन, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज र क्यामरन ग्रीनले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २१८ रनको योगफल तयार पारेको थियो। फाफ डु प्लेसिसले सर्वाधिक ५४ रन बताए। विराट कोहलीले ४७, रजत पतिडरले ४१ तथा क्यामरन ग्रीनले ३८ रन बनाए। 

चेन्नाईका शार्दुल ठाकुरले २ तथा तुशार देशपाण्डे र मिचेल सान्टनरले समान १-१ विकेट लिए।

पहिलो ८ खेलमा १ खेल मात्र जितेको बेंगलुरुले त्यसपछिका लगातार ६ खेल जित्दै अंक तालिकाको‌ चौथो स्थानमा रहन सफल भयो।

यसअघि कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन्।