तेस्रो पुस्तामा हस्तान्तरण भएको ‘जीतबहादुरको हलुवाइ पसल’ले पुरानो पुस्ताको सम्झनालाई ताजै राख्दा, आधुनिकीकरणसँगै पसलको साख कसरी जोगाउने भन्ने चिन्ता श्रीधरलाई छ।
ललितपुर– महको चास्नीमा डुबाएर बनाएको जेरी ८० पैसामा एक पाउ, घ्यु–दही सुका र मोहोरमा कारोबार हुने समयको पसल हो यो।
१९९९ सालमा चापागाउँस्थित इकु टोलमा जीतबहादुर श्रेष्ठले कुराउनी घोट्ने, पुष्टकारी बनाउने मिठाइ पसल खोले। सानोबाट शुरू भएको पसलमा जेरी, स्वारी पनि बन्न थाले।
८५ वर्षअघि शुरू भएको पसललाई तेस्रो पुस्तासम्म पुग्दा नाति श्रीधर श्रेष्ठ (४९) ले निरन्तरता दिइरहेका छन्। पुरानो पसलको पुरानै स्वादका पारखी छन्। आफ्नो बाल्यकाल सम्झाउने परिकारका लागि पुराना ग्राहक चिया, स्वारी खान बिहान ७–८ बजेदेखि भेला हुने गरेको श्रीधर बताउँछन्।
इकु टोल चोकमा पश्चिमतर्फको लहरमा छ यो पसल। चोकको परिसरमा रहेका मन्दिर, फल्चा, ढुंगेधारा, हाते पेन्टले लेखिएकोे घडी पसलको साइन बोर्डले आधुनिक जमानामा धुमिल हुँदै गएको पुरानो परिवेशको झल्को दिन्छ। यही टोलमा सिमेन्ट प्लास्टर लगाएको पुरानो घरको भुइँतलामा रहेको पसलको नाम छैन। न त कुनै साइन बोर्ड नै राखिएको छ। यद्यपि स्थानीय बुढापाकाले बोलीचालीमा ‘जीतबहादुरको हलुवाइ पसल’ भन्छन्।
त्यसो त उक्त समय इकु टोल चापागाउँको मुख्य बजार थियो। चापागाउँमा रहेको बज्रबाराही मन्दिर नेवार समुदायको आस्था र विश्वासको केन्द्र हो। त्यसमाथि गजुर नभएको एक मात्र मन्दिर भएकाले पनि श्रद्धालुमाझ यो तीर्थ प्रसिद्ध छ।
त्यसकारण किनमेल र मन्दिर दर्शनमा आउनेहरूको लागि उनको पसल विश्राम र चियानास्ताको बिन्दु बन्न पुग्यो। बजार क्षेत्रमा जीतबहादुरको मिठाइ पसलबाहेक वैद्यको सेवा, दाल, चामल, फलाम, भाँडाकुडा लगायतका विभिन्न पसल थिए। कुनै समय व्यस्त बजार रहेको चापागाउँ पहिलेको ‘ट्रान्जिट’ शहर मानिन्थ्यो।
“२००९–१० सालसम्म पनि बजारमा चिनी आएको थिएन, हामी महमा जेरी चोपेर खान्थ्यौँ। बिक्री पनि त्यसरी नै गथ्यौँ,” जीतबहादुरका जेठा छोरा घनश्याम (६९) भन्छन्, “यो पसल खोल्दा बुबा ६३ वर्ष पुगिसक्नुभएको थियो।”
पितासँगै सोही पसलमा उनले मिठाइ बनाउने काम सिकेका थिए। उनको भने अहिले प्याङगाउँ जाने बाटोतर्फ अर्को मिठाइ पसल छ। पिताले खोलेको पुरानो पसलको साख उनका भतिज श्रीधरले जोगाइरहेका छन्।
आलु तरकारी, दहीचिउरा धेरैको रोजाइ
“तपाईं बस्नुभएको ठाउँमा चुलो थियो। अहिले ग्यास स्टोभ छ। परिवर्तन भएको त्यत्ति हो,” पसलमा आएका स्थानीय किशोर नेवा भन्छन्, “हजुरबा चिया खान आउँदा मलाई देखाउनुभएको थियो।” यही पसलको चियाचुस्की र जेरी–स्वारीको स्वादमा हजुरबुवाको बाल्यकाल र युवावस्थादेखि बुढेसकालसम्म कटेको कहानी आफूले सुन्दै आएको किशोर बताउँछन्।

पुरानो पसलका पुरानै ग्राहकमा पर्छन् नेमलाल श्रेष्ठ र बालमुकुन्द राजोपाध्याय। उमेरले दुवै ७५ कटिसके। नेमलाल पहिले गाडी चलाउँथे भने बालमुकुन्द शिक्षक थिए। श्रेष्ठलाई सम्झना भएअनुसार राम्रो बाटो नहुँदा यहाँ सानातिना गाडी चल्थे, बाटो खासै राम्रो थिएन। तर बजार चलायमान थियो। मानिसको चहलपहल थियो। उनी पनि चिया, जेरी, स्वारी खान सोही पसलमा गाडी रोक्ने गर्थे। अहिले पसलको अघिल्तिर राम्रो बाटो आयो, तर बजार हरायो।
बालमुकुन्दलाई भने पसलमा दिनको ८–१० धार्नीमा बिक्ने आलु तरकारीको याद आउँछ। उनी भन्छन्, “यो पसलमा मासुको परिकार बन्दैनथ्यो। जेरी, मिठाइसँगै दहीचिउरा अनि तरकारीमा आलु धेरै बिक्थ्यो।”
नेवार बस्ती भए पनि बजार क्षेत्रमा किनमेलका लागि बाहुन, क्षेत्रीको राम्रै उपस्थिति हुने हुँदा जीतबहादुरले माछामासु भन्दा पनि साकाहारी परिकार राख्ने गरेको बालमुकुन्द बताउँछन्।
गणेशमानको आश्रय
खाजानास्ता गर्दै बिस्तारै पसलमा बुबाले चियासमेत बनाउन थालेको घनश्याम सम्झन्छन्। आफ्ना पिताले पसल खोल्दा काठमाडौँ उपत्यकामा धरहरा (सुन्धारा) बाहेक अन्यत्र कतै पनि चिया पसल नभएको उनको दाबी छ।
“सुनाकोठी, ठेँचोजस्ता रिङरोड बाहिरका नेवारबस्ती मात्र नभई पाटनमा समेत चिया पसल थिएन,” उनी भन्छन्, “त्यसताकाको पकनाजोलमा कार्यालय रहेको नेपाल भाषा प्रकाशिनी समितिका सबै सदस्य यहाँ आउने गर्नुहुन्थ्यो। बनारस बस्दा चिया खाने बानी रहेछ। उहाँहरूको कुरा बुझेपछि बाले नास्तापछि चिया पनि राख्नुभयो।” त्यो बेला ५–१० पैसामा चिया बेचेको उनलाई याद छ।
पसलको पछिल्लो भागमा भग्नावशेष भइसकेको एउटा संरचना छ। पहिले त्यहाँ टाढाको यात्रामा हिँडेका बटुवाहरूको विश्रामघर थियो। यात्रीहरूलाई निःशुल्क बस्न दिने गरिएको आफ्ना पिताबाट श्रीधरले सुन्दै आएका छन्। “टाढाबाट आएकाहरू दहीचिउरा खाएर बस्थे। पसल पछाडिको घरमा हामी बास बस्न दिन्थ्यौँ। बसेको खर्च लाग्दैनथ्यो,” घनश्यामले भने।
त्यसबाहेक आफ्नो पुर्ख्यौली घर गणेशमान सिंहलगायत हजुरबाका साथीहरूको लुक्ने स्थानसमेत भएको बालमुकुन्द बताउँछन्। उनले भने, “उहाँको ससुराबा कट्टर कांग्रेसी, २००७ सालको आन्दोलन होस् वा भूमिगत अवस्थामा उहाँले यही विश्रामगृहमा धेरै समय बिताउनुभयो। हामी सानै थियौँ, उहाँलाई एक–दुई झलक मात्र देख्न पायौँ।”
यसमा श्रीधरकी श्रीमती कल्याणी श्रेष्ठले पनि सहमति जनाइन्। “ससुराबाले आएका मान्छेलाई बस्न र खानपिन गराउन अह्राउने गर्नुहुन्थ्यो,” उनले भनिन्, “त्यो मौकामा मैले गणेशमान सिंहलाई पनि खाना बनाएर खुवाउने सौभाग्य पाएँ।”
मन्द व्यापार
पहिले मिठाइ नेपाली घ्युमा बन्थे। जेरी स्वारीको स्वाद नै फरक थियो। डाल्डा घ्यु आउन थालेपछि स्वादमा पहिलेजस्तो मिठास नभएको धनश्याम आफै बताउँछन्। हाल व्यापार पनि ठीकठाक मात्र भइरहेको उनी बताउँछन्।
दिनमा पाँच–छ हजारको व्यापार हुन्छ र जात्रामा चाहिँ त्यसको दोब्बरजसो हुन्छ। सिजनबाहेक अन्य समयमा खास व्यापार नहुने श्रीधर र घनश्याम दुवैको साझा भोगाइ छ। यसको एउटा प्रमुख कारण भारतीय मिठाइको प्रवेशलाई मान्छन् घनश्याम।
“भारतीय मिठाइको प्रवेशले मिठाइको परिभाषा नै बदलिएको छ,” घनश्याम भन्छन्, “पहिले हाम्रै मौलिक लाखामरी, जेरी, स्वारी, निम्कीलाई मिठाइ मान्थे। अहिले त हाल मानिसहरू लालमोहन, पेँडा, लड्डुलाई मिठाइ मान्छन्। हलुवा, स्वारीका पारखी हराइसके, त्यही खाने भनेर आउने पनि खास छैनन्।”
मौलिक मिठाइ चाडपर्व तथा विवाह, व्रतबन्ध जस्तो सामाजिक कार्यको लागि मात्र अर्डर आउने उनी बताउँछन्।
२०३९ सालमा पिता जीतबहादुरको निधन भएपछि पसल चलाउने अभिभारा तीन दाजुभाइ (जीतबहादुरका तीन छोरा धनश्याम, शिवराम र दयाराम) को काँधमा आयो। श्रीधर दयारामका जेठा छोरा हुन्। उनीहरू सबैले मिलेर पुख्र्यौली पेसालाई निरन्तरता दिए। घनश्याम भने २०४७ सालमा प्याङगाउँतर्फ नै सरे। यद्यपि उनलाई इकु टोलको पसलसँग अझै पनि लगाव छ। नातामा घनश्याम श्रीधरका काका पर्छन्।
“बुबा पसलमा खट्नुहुन्थ्यो। बिहान ५ देखि राति १० बजेसम्म काम गर्नुहुन्थ्यो। उहाँको तमाखु खाने बानी थियो,” उनले भने, “बाका साथीहरू बसेर काम गर्दा दिनको डेढ–दुई पाउ तमाखु सकिन्थ्यो।”
२०४८ सालमा उनले पनि आफ्नो छुट्टै मिठाइ पसल खोले जुन अझै चलाइरहेका छन्। व्यापार पहिलेजस्तो नहुँदा आफै पनि उतिबेला जसरी खट्न नसकेको उनी बताउँछन्। पसलमा घनश्यामले चार जनालाई रोजगारी दिएका छन्।
नाति पुस्तासम्म आइपुग्दा तीन पुस्ताअघिको पेसालाई श्रीधरले मात्र निरन्तरता दिएका छन्। दाजुभाइमाझ उनले मात्र पसलमा मिठाइ बनाउने काम जानेका छन्। काम गर्ने सहयोगी एक जना भए दैनिक काम गर्न त्यति गाह्रो नहुने उनी बताउँछन्।
यद्यपि भूकम्पको समयमा उनले दुई वर्ष जति पसल बन्द गरे। त्यसताका भैँसेपाटीमा अन्य काममा व्यस्त भए। तर मिठाइ पसलको मोहले उनलाई पुनः यतै फर्कायो। “पसल त्यत्तिकै छाड्न मन लागेन। अनि फेरि शुरू गरेँ,” उनले भने।

पसलभित्र नेपाल संवत् ९३६ को मिति उल्लिखित एउटा शिलालेख छ। तर त्यसबारे केही थाहा नभएको श्रीधर बताउँछन्। शिलालेखले त्यस ठाउँमा फल्चा रहेको बताउँछ। लिपिविज्ञ श्यामसुन्दर राजभण्डारी भन्छन्, “पुराना शिलालेखमा प्रायः सामाजिक कार्य, फल्चा लगायतको अभिलेख हुन्छ, पसल र व्यापार–व्यवसायबारे लेखिएको पाइँदैन।”
सवारीले सारेको बजार, नसरेको मोह
“२०३२–३३ सालबाट चापागाउँमा बस चल्न थाल्यो। यातायातको सुविधा भएसँगै बिस्तारै ललितपुरकै लेले र दक्षिणतर्फ मकवानपुरको सिमावर्ती भेगबाट मानिसहरूले गर्ने पैदलयात्रा सवारी यात्रामा बदलियो। त्यससँगै धेरै कुरा भए,” धनश्याम सम्झन्छन्, “पहिले मानिस सामान बेच्न यहीँ आइपुग्थे।”
यातायातको सुविधाले मानिसको यात्रा शैली मात्र नभई आफू जन्मी हुर्किएको इकु टोलको बजार नै पनि सारिदिएको उनी बताउँछन्। सवारी साधनले सामान ओसारेर गाउँगाउँमै पसल थपिन थाले। यसले इकु टोलको बजार बिस्तारै सुस्तायो। साथै इकु टोलबाट बजार प्याङगाउँ सरेपछि भिडभाडयुक्त बजारक्षेत्र सुनसान हुन थाल्यो।”
पहिले–पहिले भारतको कोलकाता, मुम्बईबाट आउने लाहुरे पसलमा बसेर घण्टौँ गफ गर्थे। टोलको डबलीमा नाचगान हुने गथ्र्यो। अहिले त्यस्तो रौनक सबै हराइसकेको घनश्याम बताउँछन्।
भिडभाडयुक्त बजार हाल सुनसान बाटोको रूपमा परिणत भएको हुँदा श्रीधरलाई बसपार्कतिरै पसल सार्ने तर्कना आउने गर्छ। तथापि सोच आए पनि पुरानो ठाउँ छाडिहाल्ने मनस्थितिमा उनी छैनन्। उनका छोराले भने पसललाई अहिले भएकै स्थानमा नयाँ स्वरूपले निरन्तरता दिन सकिने सल्लाह दिएका छन्।
नेवार समुदायले मान्ने देवीको रूपमा बज्रबाराही मन्दिर पर्छ। भक्तपुर, पाटन लगायतका क्षेत्रबाट यहाँ पारिवारिक पूजासहित अझै पनि जाने चलनचल्ती छ। मंगलबार र शनिबार मन्दिर पुग्दा विशेषतः पुराना बुढापाका अझै पनि जीतबहादुरको पसलमा जेरी खान पस्छन्।
पुराना मानिस खोजी–खोजी आउँछन्। कुराउनी जेरी स्वारी खाएर जान्छन्। पुरानाबाहेक नयाँ ग्राहक खासै नभित्रिए पनि आफ्नो पसल बिहानको समयमा कलेजका ‘केटाकेटी’को लागि भेटघाट र चियाको जक्सन हुन थालेको श्रीधर बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
