पारलम्पिक छनोट खेल्न थाइल्यान्ड गए टेबलटेनिस खेलाडी केशव

राष्ट्रको प्रतिनिधित्व गरेर छनोट खेल खेल्न जान लागेको खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद‍्ले कुनै सहयोग नगरेको प्रशिक्षक वसन्त भारतीले गुनासो गरे।

काठमाडौँ– सन् २०२४ को अगस्ट र सेप्टेम्बरमा आयोजना हुने पेरिस पारलम्पिकका लागि  छनोट खेल खेल्न नेपाली टेबल टेनिस खेलाडी थाइल्यान्ड प्रस्थान गरेका छन्।

नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक वसन्त भारती पारलम्पिक वर्ल्ड क्वालिफिकेसन खेलका लागि सोमबार बिहान थाइल्यान्ड प्रस्थान गरेका हुन्। टेबल टेनिसका केशव थापाले ह्वीलचियर टेबल क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धा गर्दैछन्। उक्त खेलमा विश्व वरीयतामा रहेका खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्न पाउँछन्।

केशव थापा नेपालमा आयोजना भएको ह्वीलचियर टेबल टेनिसमा राष्ट्रिय च्याम्पियन बनिसकेका खेलाडी हुन्। थापाले पारा एसियन गेम २०१८ इन्डोनेसिया, पारा एसियन गेम २०२२ हान्जाउ चाइनालगायत, ताइवान, जापान पोल्यान्ड, थाइल्यान्ड तथा बांग्लादेशमा समेत नेपालको  प्रतिनिधित्व गर्दै खेलिसकेका छन्। बांग्लादेशमा उनले गोल्ड मेडल जितेर नेपाली पारा टेबल टेनिसलाई विश्व वरीयतामा पुर्‍याउन सफल भएका थिए। 

प्रशिक्षक वसन्त भारती पारा टेबल टेनिसका अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक हुन्। राष्ट्रको प्रतिनिधित्व गरेर छनोट खेल खेल्न जान लागेको खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले कुनै सहयोग नगरेको प्रशिक्षक वसन्त भारतीले गुनासो गरेका छन्। 

थापाले भनेका छन्, "उक्त खेलमा सहभागी हुन आयोजकको नियम अनुसार प्रवेश शुल्क र आवास शुल्क बापत हामीले प्रतिव्यक्ति ९६० युरो दिनुपर्ने हुन्छ। हामी दुवैले जनही लगभग एक–एक लाख रुपैयाँ व्यक्तिगत रूपमा बुझाउनुपर्ने छ। विकास शिल्डले हवाई टिकट तथा खेल सामाग्रीमा प्रायोजन नगरेको भए प्रतियोगितामा नेपालले सहभागिता जनाउने अवस्था थिएन। राष्ट्रिय खेलकुद परिषद‍्मा पारलम्पिक छनोट जस्तो खेलमा सहभागी हुनको लागि निवेदन दिँदा कुनै सुनुवाइ भएन।"

उक्त खेलमा विश्वका ५० देशका खेलाडीहरूले सहभागिता जनाउँदै छन् भने थापाले खेल्ने ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतिस्पर्धाको विजेता खेलाडी फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पारलम्पिकमा सिधै छनोट हुनेछन्।